कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अस्ट्रेलियामा यात्रा प्रतिबन्धको अवधि बढ्यो

सरकारको निर्णयसँगै अस्ट्रेलिया अध्ययनका लागि आउने तरखरमा रहेका लाखौं विदेशी विद्यार्थीले थप तीन महिना कुर्नुपर्ने भएको छ
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले आफ्ना नागरिक तथा स्थायी बासिन्दालाई लगाएको विदेश यात्रा प्रतिबन्ध पुनः तीन महिना थप गरेको छ । सरकारले विदेश यात्राको प्रतिबन्ध सन् २०२१ को मार्च १७ तारिखसम्म कायम रहने बताएको छ ।

अस्ट्रेलियामा यात्रा प्रतिबन्धको अवधि बढ्यो

अस्ट्रेलियाली सरकारले कोरोना भाइरस सुरु भएलगत्तै गत मार्च १८ देखि विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो ।

जसका कारण अस्ट्रेलियाली नागरिक बाहिर जान तथा अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया भित्रन पाएका छैनन् । सरकारले स्वास्थ्यविज्ञ सम्मिलित संस्था (अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटी) को सुझावमा उक्त निर्णय लिएको बताइएको छ ।

अस्ट्रेलियाले मानव जैविक आपत्कालीन अवस्थाको अधिकारको प्रयोग गर्दै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त अवस्था आउँदो साता समाप्त हुने भए पनि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले यो आउने वर्षको मध्य मार्चसम्म निरन्तर रहने बताएका हुन् । सरकारले उक्त अधिकारको प्रयोग गरी अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउन सक्ने प्रावधान रहेको छ । सरकारको यो निर्णयसँगै समुद्रमा चल्ने अन्तर्राष्ट्रिय र स्थानीय पानीजहाजको सञ्चालनमा समेत प्रतिबन्ध लागेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने पसलहरूसमेत बन्द रहनेछन् । अस्ट्रेलियाको यस निर्णयसँगै अस्ट्रेलिया अध्ययनका लागि आउन चाहने लाखौं विदेशी विद्यार्थी आफ्नै देशमा अलपत्र परेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गरिरहेका व्यवसायीका अनुसार अहिले पनि हजारौं नेपाली विद्यार्थी र अन्य अस्थायी भिसामा रहेका नेपाली नेपालमै अड्किएर बसेका छन् । यस वर्षको अन्त्यसम्ममा अस्ट्रेलिया आउने आशामा बसेका उनीहरूले कम्तीमा पनि ३ महिना पर्खनुपर्ने भएको छ ।

अस्ट्रेलियाबाट विदेश यात्रा गर्नैपरे वा अस्ट्रेलिया आउनुपरे सरकारले विशेष पासको व्यवस्था गरेको छ जसअनुसार थोरै मात्रा अस्थायी भिसावाहकले अस्ट्रेलिया प्रवेशको अनुमति पाएका छन् भने यही अवधिमा जम्मा ९५ हजार अस्ट्रेलियालीलाई विदेश यात्राको अनुमति दिइएको छ ।

नेपाली विद्यार्थी बढी प्रभावित

अस्ट्रेलिया सरकारले यहाँ यात्रा गर्नुपरे कोभिडविरुद्धको भ्याक्सिन अनिवार्य लगाएको हुनुपर्ने संकेत गरिसकेको छ यद्यपि यसबारेमा आधिकारिक निर्णय भने भइसकेको छैन ।

नेपाली शैक्षिक परामर्शदाता हरूको संगठन अस्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट एलायन्सका पूर्व अध्यक्ष निरज श्रेष्ठ अस्ट्रेलियाले विदेशी बोर्डर खुला गरे पनि अस्ट्रेलिया आउन चाहने नेपाली हर्षित र उत्साहित हुनुपर्ने कुनै कारण नभएको जिकिर गर्छन् ।

‘नेपालको अहिलेको भाइरस संक्रमणको अवस्था र सरकारले भाइरस नियन्त्रणका लागि गरिरहेको काम हेर्दासमेत सन् २०२१ को अन्त्यसम्ममा नेपाली अस्ट्रेलिया आउन सक्ने सम्भावना छ,’ उनले भने । अस्ट्रेलियाले बोर्डर खुला गरे पनि प्राथमिकता तोक्ने भएकाले नेपाल, भारतजस्ता अति संक्रमित देशबाट निर्धक्क यात्रा गर्न पाउने सम्भावना तत्काल नरहेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार अस्ट्रेलियाले बिस्तारै विदेशी विद्यार्थीलाई भिसा दिन सुरु गरिसकेको भए पनि आउन भने दिएको छैन । शैक्षिक संस्थाले समेत अनलाइन अध्ययनलाई प्राथमिकता दिइरहेका छन् । ‘नेपाली विद्यार्थी समग्र अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको तेस्रो ठूलो भए पनि जनस्वास्थ्यलाई असर पर्ने गरी अस्ट्रेलियाले विद्यार्थीलाई निस्फिक्री आउन दिने सम्भावना अहिल्यै छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय बोर्डर खुले पनि खोप अनिवार्य गर्न सक्ने सम्भावना भएकाले नेपालले कहिले खोप पाउँछ त्यसले समेत विद्यार्थी आगमन निर्धारण हुने उनको बुझाइ छ । पर्यटन व्यवसायीहरू अस्ट्रेलियाले विगत ९ महिनादेखि लगातार गरेको बोर्डर बन्दले नेपालमा रहेका विद्यार्थी मात्र नभएर पर्यटन व्यवसायलाई समेत असर परेको बताउँछन् ।

एक दशकअघिदेखि यस क्षेत्रमा काम गरिरहेका भीम न्यौपाने सामान्यतः डिसेम्बर र जनवरीमा हजारौं विदेशी नेपाल घुम्न जाने गरेका भए पनि अहिले कोही पनि जान नपाएका बताउँछन् । ‘सरकारले आफ्ना नागरिकलाई विशेष पासबाहेक जाने अनुमति नदिएका कारण सयौं पर्यटक नेपाल जान पाएका छैनन्, जसले प्रत्यक्ष रूपमा नेपालको पर्यटन क्षेत्रलाई असर गरेको छ,’ उनी यो सिजनमा आफूले मात्रै ५ सय बढी पर्यटक पठाउने गरेको भए पनि यस वर्ष यो संख्या नगन्य रहेको सुनाउँछन् ।

प्रकाशित : मंसिर २६, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?