अस्ट्रेलियाली लगानी भित्र्याउन सम्मेलन

कार्यक्रम सन्तोषजनक भए पनि नेपाल र अस्ट्रेलियाबीचको व्यापारमा रहेको खाडल कम गर्ने विषयमा भने समाधानको पहल नभएको विज्ञहरुको भनाइ

अस्ट्रेलिया — नेपाल र अस्ट्रेलियाबीचको व्यापार, लगानी तथा साझेदारी वृद्धि गर्ने उद्देश्यका साथ अस्ट्रेलियामा लगानी सम्मेलन आयोजना गरिएको छ । कोभिड–१९ का कारण अनलाइनमार्फत आयोजित कार्यक्रममा नेपालमा लगानीको सम्भावना भएका क्षेत्र, द्विदेशीय व्यापारका सम्भावना, नियम, कानुन र सरकारी सहयोगलगायत विषयमा छलफल गरिएको थियो ।

अस्ट्रेलियाली लगानी भित्र्याउन सम्मेलन

अस्ट्रेलियास्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका सचिवद्वय चन्द्रकुमार घिमिरे, डा. बैकुण्ठ अर्याल, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, कृषिविज्ञ डा. किशोर दहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले नेपालमा लगानीको अवस्था, सरकार तथा स्थानीय उद्योग वाणिज्य महासंघले पुर्‍याउन सक्ने सहयोगबारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रत्यक्ष सहभागी नभए पनि भिडियो सन्देशमार्फत अस्ट्रेलियाली अर्थमन्त्री साइमन बर्मिङ्घमले नेपाल र अस्ट्रेलियाबीच लामो सम्बन्ध रहेको र अस्ट्रेलिया नेपालसँगको व्यावसायिक सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताएका थिए । उनले नेपाली संस्कृति, नेपाली विद्यार्थीले अस्ट्रेलियाली अर्थतन्त्रमा पुर्‍याएको सहयोगबारे विशेष चर्चा गरेका थिए । सम्मेलनमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, नेकपा नेता भीम रावल, अस्ट्रेलियाली नेपाल पार्लियामेन्ट गु्रपका सहअध्यक्ष पिटर खलिललगायतको उपस्थिति थियो ।

कोभिडका कारण यस वर्ष अनलाइनमार्फत गरिएको भए पनि यस्तै लगानी सम्मेलन दुई वर्षअघि मेलबर्नमा आयोजना गरिएको थियो । तर उक्त कार्यक्रमपछि नेपालमा कति वैदेशिक लगानी थपियो र त्यसले कति प्रभाव पार्‍यो त्यसको तथ्यांक उपलब्ध छैन । मंगलबार अनलाइनमार्फत ४ घण्टासम्म चलेको सम्मेलनमा नेपालको पर्यटकीय क्षेत्रमा लगानी गरिरहेकी एक अस्ट्रेलियाली महिलाले नेपालमा पर्यटकीय क्षेत्रमा रहेको सम्भावना र त्यसको भविष्यका बारेमा दिएको भिडियो आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रमको आयोजनाका लागि लागिपरेका अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले अनलाइनमार्फत गरिएको भए पनि सम्मेलनले नेपालमा लगानी गर्नका लागि धेरै मात्रामा जानकारी दिएको दाबी गरे । ‘हामीले कार्यक्रममार्फत जे हासिल गर्न खोजेका थियौं त्यो उपलब्धि हासिल नभए पनि द्विदेशीय व्यापार वृद्धिका लागि भने सकारात्मक कदम चालेका छौं,’ दहालले भने ।

कार्यक्रममा सहभागी सञ्चारविद् डा. भरतराज पौडेलले लगानीसम्बन्धी यो कार्यक्रम सन्तोषजनक भए पनि नेपाल र अस्ट्रेलियाबीचको व्यापारमा रहेको खाडल कम गर्ने विषयमा भने समाधानको पहल नभएको बताए । अर्थमन्त्री बर्मिङ्घमले दुई देशबीचको ब्यापार र पारवहनको बहुआयामिक सम्भावनाबारे स्पष्ट विचार राखेका भए पनि नेपाली पक्षको कार्यशैलीले नै अस्ट्रेलियासँग भविष्यमा हुने व्यापार निर्धारण हुने पौडेलको भनाइ छ । केही महिना पहिले नै एडिलेडमा आयोजना गर्ने तयारी गरिएको यो कार्यक्रम कोभिड–१९ का कारण स्थगित गरिएको थियो ।

प्रकाशित : मंसिर २४, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?