२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सोमालियाबाट अमेरिकी सेना फिर्ता बोलाउन ट्रम्पको आदेश

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियामा रहेका सबै अमेरिकी सेना फिर्ता गर्न आदेश दिएका छन् । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अनुसार आगामी जनवरी १५ तारिखसम्ममा सोमालियामा रहेका अमेरिकी सेनालाई फिर्ता गरिनेछ ।

सोमालियाबाट अमेरिकी सेना फिर्ता बोलाउन ट्रम्पको आदेश

बीबीसीका अनुसार सोमालियामा करिब ७ सयको संख्यामा अमेरिकी सेना रहेका छन् । अमेरिकी सेनाले सोमालियाको सरकारलाई आतंकवादी समूह अल शबाब र इस्लामिक स्टेटसँगको लडाईँमा साथ दिइरहेको छ । अमेरिकी रक्षा अधिकारीहरुका अनुसार सोमालियामा रहेका केही सैनिकलाई छिमेकी देशमा अन्तरसीमा अपरेसनमा परिचालन गरिने भएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकमा पनि अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसकेका छन् । अमेरिकी सेनाको हस्तक्षेप महँगो र निष्प्रभावी भएको उल्लेख गर्दै ट्रम्पले अमेरिकी सेनालाई फिर्ता बोलाउने घोषणा गरेका हुन् ।

यो आदेशसँगै डोनाल्ड ट्रम्पले पूर्वअमेरिकी रक्षामन्त्री मार्क एस्परको नीति पनि उल्ट्याइदिएका छन् । पछिल्लो महिना मात्रै बर्खास्त भएका एस्पर सोमालियामा अमेरिकी उपस्थिति केही समय रहोस् भन्ने चाहन्थे ।

विश्व मामिलाका केही विज्ञहरुले भने सोमालियामा अमेरिकी सेना फिर्ता बोलाउँदा अफ्रिकी क्षेत्रमा आतंकवादी गतिविधि झन् बढ्ने चेतावनी दिएका छन् । सोमालियाका सांसदले पनि अमेरिकी सेना फिर्ता जाँदा मुलुकमा आतंकवादी समूहको गतिविधि झन् बढ्ने र हिंसा चर्कने बताएका छन् ।

प्रकाशित : मंसिर २०, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?