कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

रासस/पीटीआई

नयाँदिल्ली — भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभर बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्  ।

आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

किसान नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना मागहरु पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उनले बताए ।

कृषिसम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । 'हाम्रो बैठकले आफ्ना मागहरु पूरा गर्न सरकारलाई दबाब दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ,' अर्का किसान नेता हर्विन्दर सिंह लख्वाले भने ।

हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरुमा अवरोध गरिने उनले बताए । सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

आन्दोलन चर्किँदै गएपछि सरकारले किसानहरुसँग पटक पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणममुखी हुन सकेको छैन ।

प्रकाशित : मंसिर २०, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?