चिनियाँ अन्तरिक्ष यानद्वारा चन्द्रमाको सतहबाट नमुना संकलन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ अन्तरिक्ष यानद्वारा चन्द्रमाको सतहबाट नमुना संकलन

रासस, सिन्हवा

बेइजिङ — मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना संकलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएस)ले जनाएको छ । चीन सरकारले चाङ्गे ५ नाम दिइएको यान मंगलबार ११ बजे राति चन्द्रमा सफलतापूर्वक अवतरण गरेको बुधबार घोषणा गरेको थियो ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्बिरहरु पनि सार्वजनिक गरेको छ ।

यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ ।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्त्वाकांक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो ।

चीनले हाल मंगल ग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ ।

यसपटक चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्नेछ ।

यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ । यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ ।

यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले चिनियाँ सफलताका लागि बधाइ दिएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) का वैज्ञानिक अभियान प्रमुख टमस जर्बुचेनले ट्वीटरमा चाङ्गे ५ अभियानको सफलताका लागि चीनलाई बधाइ दिएका छन् । उनले लेखेका छन्, 'यो त्यति सजिलो काम होइन ।'

पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो ।

संयुक्तराज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुंगा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए । ती ढुंगाको अध्ययन र विश्लेषण आजपर्यन्त जारी छ ।

प्रकाशित : मंसिर १८, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतीय चुनावमा धाँधली भएको भेटिएन : अमेरिकी महान्यायाधिवक्ता

ट्रम्पनिकट महान्यायाधिवक्ता बारको भनाइसँगै राष्ट्रपतीय चुनावी परिणाम उल्ट्याउने ट्रम्पको योजना समाप्त
एजेन्सी

वासिङ्टन — अमेरिकाका महान्यायाधिवक्ता विलियम बारले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको विषयमा कुनै प्रमाण नभेटिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाइ सार्वजनिक भएसँगै राष्ट्रपतीय चुनावी परिणाम उल्ट्याउने ट्रम्पको योजना लगभग समाप्त भएको छ ।

महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठहर्‍याएको छ । ती निकायले यसअघि नै सन् २०२० को राष्ट्रपति चुनाव अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए ।

समाचार संस्था एपीसँग कुरा गर्दै महान्यायाधिवक्ता बारले भने, ‘अहिलेको मितिसम्म हामीले चुनावी परिणामलाई नै असर पार्ने किसिमले चुनावमा धाँधली भएको कुनै प्रमाण भेटेका छनौं ।’

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबी गर्दै आएका छन् । मिसिगन, पेन्सिल्भेनिया र जर्जियालगायत राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै ट्रम्पले लगातार ट्वीट गर्दै आएका छन् । तर चुनावमा धाँधली भएको विषयमा उनले कुनै ठोस प्रमाण भने पेस गर्न सकेका छैनन् ।

राष्ट्रपति ट्रम्पले मंगलबार बिहान ट्वीट गर्दै मिसिगनको चुनावी नतिजाबारे सार्वजनिक सुनुवाइ गर्न आफू तयार रहेको जनाएका थिए । मिसिगन राज्यले भने चुनावमा डेमोक्र्याटिक पार्टी उम्मेदवार जो बाइडेन विजयी भएको भन्दै नतिजा प्रमाणीकरण गरिसकेको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट दायर भएका निवेदनहरूलाई राज्यका सर्वोच्च अदालतहरूले पर्याप्त प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् । औपचारिक मतगणनामा बाइडेनले ट्रम्पको भन्दा ६२ लाख बढी मत प्राप्त गरेका छन् ।

कुल ५ सय ३८ इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३ सय ६ र ट्रम्पले २ सय ३२ मत प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । डिसेम्बर १४ मा हुने इलेक्टोरल कलेज भेलाले औपचारिक रूपमा बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्ने जनाइएको छ ।

महान्यायाधिवक्ता बारको पछिल्लो अभिव्यक्तिप्रति भने राष्ट्रपति ट्रम्पले कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । तर ट्रम्पका कानुनी सल्लाहकार रुडी जिलियानी र जेन्ना एलिसले संयुक्त विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्ता बारको भनाइ खारेज गरेको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरूले कम्तीमा ६ वटा राज्यमा भएको चुनावमा व्यापक धाँधली भएका पर्याप्त र ठोस प्रमाणहरू आफूहरूसँग रहेको दाबी गरेका छन् । चुनावी परिणामका विषयमा आफ्नो पक्षमा राय नदिएका भन्दै राष्ट्रपति ट्रम्प केही दिनदेखि महान्यायाधिवक्ता बारप्रति रुष्ट भएको जनाइएको छ ।

प्रकाशित : मंसिर १८, २०७७ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×