कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अस्ट्रेलिया-चीन सम्बन्धमा बढ्दो तनाव

अस्ट्रेलियाले कोभिड–१९ को उत्पत्तिको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठाएसँगै सुरू भएको द्विदेशीय  मतभेदले पछिल्लो समय कूटनीतिक र व्यापारिक सम्बन्धमा समेत नकारात्मक असर पारेको छ ।
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया र चीनबीचको द्विदेशीय सम्बन्धमा जारी तनाव थप चर्केको छ । एक अस्ट्रेलियाली सैनिकले आफगान बालकलाई हत्या गरेको दाबीसहिको फोटो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुई दिनअघि ट्वीट गरेपछि सम्बन्धमा तनाव थपिएको हो ।

अस्ट्रेलिया-चीन सम्बन्धमा बढ्दो तनाव

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिझाङले सोमबार उक्त फोटो ट्वीट गर्दै ‘डराउनु पर्दैन, हामी शान्ति कायम गर्न आउँदैछौं,’ भन्ने क्याप्सन लेखेका थिए । त्यसलगत्तै अस्ट्रेलियाले उक्त फोटो नक्कली भएको र यसले गलत सन्देश दिन खोजिएको भन्दै आक्रोश व्यक्त गरेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नक्कली फोटो ट्वीट गरेर गलत सूचना प्रवाह गरिएको र अवहेलना गरेको भन्दै माफी माग्न सोमबार चीनलाई आग्रह गरेका थिए । तर उनको आग्रहलाई चीनले ठाडै अस्वीकार गरिदिएको थियो । त्यति मात्र नभई अस्ट्रेलियास्थित चिनियाँ दूतावासले अस्ट्रेलियाली सरकारले आवश्यकताभन्दा बढी प्रतिक्रिया दिएको र गलत व्याख्या गरेको बताएको छ ।

केही सातापहिले सार्वजनिक गरिएको एक रिपोर्टमा अस्ट्रेलियाली सैनिकले अफगानिस्तानमा ३९ जना सर्वसाधारण र कैदीको हत्या गरेको उल्लेख थियो । उक्त रिपोर्टलाई आधार बनाएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ट्वीट गरेको जनाइएको छ ।

ट्वीट सार्वजनिक भएलगत्तै त्यसबारेमा अस्ट्रेलियाको संसद्मा समेत चिनियाँ कदमको कडा प्रतिक्रिया जनाइएको थियो । प्रधानमन्त्री स्कट मरिसनले चीनको आधिकारिक व्यक्तिले गलत र अफवाह फैलाउने सन्देश दिएको कडा प्रतिक्रिया जनाउँदै माफी माग्नुपर्ने बताएका थिए । तर त्यसलगत्तै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले अस्ट्रेलियाले अफगानिस्तानका नागरिकलाई गरेको हत्या जायज हुने तर त्यसको खण्डन नाजायज हुने अभिव्यक्ति मान्न नसकिने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री मरिसनले ट्वीटरबाट उक्त गलत र अफवाह फैलाउने फोटो निकाल्नसमेत आग्रह गरेका थिए । जसअनुसार सोमबारै ट्वीटरले उक्त फोटो हटाएको स्थानीय समाचार संस्था एसबीएसले जनाएको छ ।

बीबीसीका अनुसार अस्ट्रेलियाले चीनको लगानीलाई पछिल्लो समयमा कडाइ गर्दै आएको छ भने चिनियाँ कम्पनी हुवावेको ५ जी नेटवर्कलाई प्रतिबन्ध गरिसकेको छ । महिनौंदेखि बिग्रँदै गएको सम्बन्ध सुधार्न अस्ट्रेलियाली नेता तथा अधिकारीले वार्ता तथा भेटघाटका लागि गरेको आग्रहसमेत चीनले अस्वीकार गर्दै आएको समाचार सार्वजनिक भएका छन् । सोमबारै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाले वार्ताका लागि गरेको आग्रह चीनले अस्वीकार गरेको एक वरिष्ठ चिनियाँ मन्त्रीले जनाएका छन् ।

प्रधानमन्त्री मरिसनले यस ट्वीटका बाबजुद दुई देशबीचको सम्बन्धमा रहेका समस्या वार्तामार्फत समाधान गर्न चीनलाई आग्रह गरेका छन् । ग्रिफिथ युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका विक्रम तिमिल्सिना अहिले देखिएको यो मुद्दा मुख्य गरेर राजनीतिसँग सम्बन्धित भएको जिकिर गर्छन् । ‘यो वास्तवमा चीनले अस्ट्रेलियालार्ई अमेरिकाको पछि लागेर नहिँड्न र आफ्नै चीन नीति बनाएर अघि बढ्न दिएको कडा कूटनीतिक दबाब हो,’ उनले भने । पछिल्लो समय अस्ट्रेलियाले चिनियाँ चासो सम्बोधन गरोस् र अमेरिकी नीतिअनुरूप कार्य नगरोस् भन्ने चीनले चाहेको तिमिल्सिनाको विश्लेषण छ ।

लामो समयदेखि दुई देशबीचका समस्या बढ्दै गइरहेका भए पनि समाधानका लागि भने कुनै पनि पक्षबाट पहल नभएका तिमिल्सिनाको भनाइ छ । ‘अहिले जे भए पनि चीन र अस्ट्रेलिया व्यापारिक सम्बन्धमा एकअर्काका परिपूरक भएकाले समेत दुई देशबीचको सम्बन्ध ढिलोचाँडो सहज हुन्छ भन्ने आशा गर्न सकिन्छ । तर अहिले जे भइरहेको छ त्यसले सम्बन्धलाई अझ बिगार्नेतर्फ केन्द्रित भएको देखिन्छ,’ उनले भने ।

अस्ट्रेलियाले कोभिड–१९ को उत्पतिको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठाएसँगै सुरु भएको द्विदेशीय मतभेदले पछिल्लो समय कूटनीतिक र व्यापारिक सम्बन्धमा समेत नकारात्मक असर पारेको छ । अस्ट्रेलियामा उत्पादित जौ, वाइन, मासुलगायत वस्तुको मुख्य आयातकर्ता चीनले कडाइ गरेपछि अर्बौं डलरको व्यवसायलाई प्रत्यक्ष असर परेको छ ।

त्यसका साथै केही दिनपहिले चीनले अस्ट्रेलियाबाट निर्यात हुने वाइनमा एक सय ७ देखि २ सय प्रतिशतसम्म कर लगाउने घोषणा गरेपछि व्यापारिक सम्बन्धमा थप समस्या सिर्जना भएको छ । अस्ट्रेलियाका व्यापारमन्त्री साइमन बर्मिङ्गमले यसबारेमा विश्व व्यापार संगठनमा उजुरी गर्न सकिने संकेतसमेत गरिसकेका छन् ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?