कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोरोना फैलिएपछि श्रीलंकाली कारागारमा दंगा : ८ को मृत्यु, ५२ घाइते

एजेन्सी

कोलम्बो — श्रीलंकाको एक कारागारमा भएको दंगाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले ५२ जना घाइते भएको जनाएका छन् ।

कोरोना फैलिएपछि श्रीलंकाली कारागारमा दंगा : ८ को मृत्यु, ५२ घाइते

कारागारमा कोभिड–१९ को प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने तथा थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । त्यस क्रममा महारा कारागारमा खटिएका सुरक्षाकर्मी र बन्दीबीच भिडन्त भएका हो ।

श्रीलंकाका कारागारहरूमा रहेका बन्दीमध्ये हालसम्म करिब एक हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार कारागारमा उच्छृङ्खल गतिविधि नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका हुन् । त्यस क्रममा दंगा फैलिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले गोली हानेको जनाइएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले कारागार परिसरमा ठूलो आगलागी भएको देखिएको जनाएका छन् । प्रहरी प्रवक्ता रोहनाका अनुसार दंगाका क्रममा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनका अनुसार कारागारमा सुरक्षा व्यवस्था कडा पार्न विशेष तालिमप्राप्त कमान्डो टोली खटाइएको छ । थप ५ वटा प्रहरी टोलीसमेत परिचालन गरिएको उनले जनाए । श्रीलंकाका कारागारमा कोभिड–१९ संक्रमण तीव्र भइरहेका बेला यो घटना भएको हो । पछिल्लो समय श्रीलंकाका कारागारमा दंगाका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

राजधानी कोलम्बोस्थित वेलिकाडा कारागारका बन्दीले समेत प्रदर्शन गरेको जनाइएको छ । उनीहरूले जेलको छानामा चढेर आफूलाई धरौटीमा छाडिनुपर्ने भन्दै प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।

त्यसैगरी, बन्दीहरूले अगुनाकोलापलासा जेलमा एक सातादेखि नियमित प्रदर्शन गरिरहेका छन् । उक्त कारागारको अवस्था निकै खराब रहेको बन्दीको दाबी छ । मानवाधिकारवादी समूहहरूले श्रीलंकामा क्षमताभन्दा करिब ३ गुणा बढी कैदीलाई कारागारमा राखिएको र श्रीलंकामा १० हजार बन्दी राख्ने क्षमता भएका जेलहरू रहेको तर २६ हजार जनालाई राखिएको जनाएका छन् ।

श्रीलंकामा गत महिना एक गार्मेन्ट उद्योग र माछा बजारबाट कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिएको पुष्टि भएको थियो ।

प्रकाशित : मंसिर १६, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?