कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्या

हत्यामा विदेशी शक्तिको हात रहेको इरानको दाबी, बदला लिने चेतावनी
इकान्तिपुर डेस्क

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको जानकारी दिएको हो । 

इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्या

इरानी सञ्‍चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।

इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई 'राज्य प्रायोजित आतंक' को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, 'आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको हत्या गरेका छन् ।'

पश्चिमा मुलुकका जासुसी संस्थाहरुले इरानको गोप्य परमाणु हतियार कार्यक्रमको पछाडि फखरीजादेहको हात रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । इरानी विदेशमन्त्री जरिफले आफ्ना वैज्ञानिकको हत्यापछाडि इजरायलको हात हुन सक्ने बताएका छन् । सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए । इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

इरानी सेनाको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी) ले इरानले आफ्ना वैज्ञानिकको हत्याको बदला लिइछाड्ने बताएको छ । आईआरजीसीका मेजर जनरल हुसेन सलामीले भनेका छन्, 'परमाणु वैज्ञानिकको हत्या गरेर हामीलाई आधुनिक विज्ञानसम्म पुग्ने रोक्ने प्रयास गरिएको छ ।'

इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेह चढेको कारमाथि गरिएको आक्रमण तस्बिर : रोयटर्स

मोहसिन फखरीजादेह इरानका प्रमुख परमाणु वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए । सन् २०१५ मा न्युयोर्क टाइम्सले फखरीजादेहको तुलना रोबर्ट ओपनहाइमरसँग तुलना गरेको थियो । ओपनहाइमर म्यानहट्टन परियोजनाका अगुवा थिए जसले दोस्रो विश्वयुद्धका बेला पहिलो परमाणु बम बनाएका थिए ।

अमेरिकी खुफिया एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स(सीआईए) का पूर्वप्रमुख जोन ब्रेनानले इरानी वैज्ञानिक फखरीजादेहको हत्यालाई 'अत्यधिक लापर्बाहीपूर्वक गरिएको आपराधिक कृत्य' संज्ञा दिएका छन् । यस घटनाले घातक प्रतिशोध र क्षेत्रीय संघर्षको नयाँ दौर निम्तिन सक्ने चेतावनी पनि उनले दिएका छन् ।

उनले इरानी नेताहरुलाई वैश्विक मञ्‍चमा जिम्मेदार अमेरिकी नेतृत्वको पुनरागमनलाई पर्खन आग्रह गर्दै दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

प्रकाशित : मंसिर १३, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?