कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘ह्वाइटहाउसको समन्वय इमानदार’

एजेन्सी

वासिङ्टन — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता हस्तान्तरणका लागि राष्ट्रपति कार्यालय ह्वाइटहाउसले गरेको समन्वय इमानदार भएको बताएका छन् । ‘यसका लागि ह्वाइटहाउस अनिच्छुक छैन र मलाई लाग्छ यो त्यस्तो हुने छैन,’ एनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा बाइडेनले भने ।

‘ह्वाइटहाउसको समन्वय इमानदार’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरणको प्रक्रिया थाल्न चुनावको करिब ३ सातापछि सोमबार सहमत भएका थिए ।

यद्यपि उनले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा आफू पराजित भएको स्वीकार गरिसकेका छैनन् । उनको पक्षले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै मतपरिणामविरुद्ध कानुनी चुनौती दिएको छ तर आफू सत्तामा रहिरहने ट्रम्पको सम्भावना भने लगभग समाप्त भएको छ । पेन्सलभेनिया र नेभादा राज्यले बाइडेन विजयी भएको मंगलबार प्रमाणीकरण गरेका छन् । एक दिनअघि मिसिगन राज्यले पनि बाइडेन विजयी भएको प्रमाणित गरेको थियो ।

एनबीसी टेलिभिजनको एक कार्यक्रममा बोल्दै बाइडेनले आफूले राष्ट्रपति ट्रम्पसँग कुराकानी नगरेको भए पनि संक्रमणकालको सुरुवातका कारण आफ्नो कार्यकाल प्रभातिव हुने अपेक्षा नगरेको जनाए । ‘यो प्रक्रिया सुरु हुन केही ढिलाइ भएको हो तर हामीसँग अझै दुई महिना बाँकी छ । त्यसैले सबै काम सुरु गर्न सक्षम हुनेमा मलाई निकै राम्रो लागिरहेको छ,’ उनले भने ।

अमेरिकाको एउटा प्रशासनले अर्कोलाई महत्त्वपूर्ण सूचना र कर्तव्य हस्तान्तरण गर्ने चलन छ । यसका कारण राष्ट्रपति निर्वाचित र उनको समूह ह्वाइटहाउसमा पुगेपछि विभिन्न कार्यलाई गति दिन सक्छन् । सरकारी निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेसन (जीएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्ने गर्छ । त्यसका लागि उसले करिब ७० लाख डलरको कोष उपलब्ध गराउँछ । त्यसका साथै कार्यालय, प्रविधि र उपकरणलगायत आवश्यक सामग्री सहयोग गर्छ ।

सामान्यतः हस्तान्तरण प्रक्रिया नयाँ राष्ट्रपति निर्वाचित भएको करिब ११ सातामा सकिन्छ । सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र नभई नयाँ राष्ट्रपतिसँगै ह्वाइटहाउस प्रवेश गर्ने ४ हजार राजनीतिक पदको पूर्ति पनि हो । सत्ता हस्तान्तरण अवधिमा कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारणका कार्य हुन्छन् । औपचारिक रूपमा सत्ता हस्तान्तरण सुरु भएपछि नवनिर्वाचित राष्ट्रपतिको समूहद्वारा उक्त प्रक्रिया अघि बढ्छ । चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचना पाउँछन् तर राष्ट्रपति पदमा निर्वाचित उम्मेदवारलाई भने राष्ट्रिय सुरक्षालगायत विषयसँग सम्बन्धित महत्त्वपूर्ण सूचना उपलब्ध गराइन्छ ।

बाइडेनले अब सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी दैनिक पाउँछन् । त्यसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताका निम्ति निश्चित गुप्तचर सूचना पनि पर्छन् । सन् २००१ को सेप्टेम्बर ११ मा भएका आक्रमणबारे छानबिन गर्न गठित आयोगले सन् २००० को चुनावपछि सत्ता हस्तान्तरण ढिलो हुँदा त्यसले उक्त घटना रोक्न नसकिएको दाबी गरेको थियो । २००० मा मत परिणामविरुद्ध अदालतमा मुद्दा परेकाले सत्ता हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो तर त्यसबेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो । सन् २००६ मा भने जीएसएले औपचारिक रूपमा परिणाम घोषणा हुनुभन्दा निकै पहिले अर्थात् चुनावको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो । त्यसको भोलिपल्ट ट्रम्पले ह्वाइटहाउसमा तत्कालीन राष्ट्रपति ओबामालाई भेटेका थिए ।

कर्मचारी निर्धारण र नीति परिवर्तनमा सहयोगका निम्ति सामान्यतः बैठकहरू सरकारी निकायका बहालवाला सदस्यहरूसँग गरिन्छ । प्रमुख सदस्यहरूले आफ्नो नयाँ भूमिकाको तयारीका लागि बहिर्गमन हुन लागेका कर्मचारीका कामलाई पछ्याउने गर्छन् । बाइडेनले प्रमुख सदस्य नियुक्त गर्न थालिसकेका छन् । हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ । राजनीतिक नियुक्ति हुने ४ हजार पदमध्ये १ हजार २ सयका लागि सिनेटको अनुमोदन आवश्यक पर्छ ।

प्रकाशित : मंसिर ११, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?