अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने रुसको चेतावनी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने रुसको चेतावनी

एजेन्सी

मस्को — रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसका अनुसार आफ्नो देशका युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई मंगलबार लखेटेका थिए ।

रुसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको ‘यूसएसएस जोन एस मक्केन’ जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको हो । उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटरभित्र आएको थियो ।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ । आफ्नो जहाज कहींबाट पनि निष्काशित नभएको अमेरिकाको दाबी छ । जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको हो । रुसका अनुसार ‘घूसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने’ चेतावनी दिइएको हो ।

तर रुसको भनाइ सत्य नभएको अमेरिकी जलसेनाका अधिकारीको भनाइ छ । ‘समुद्री सीमाबारे गरिएको अवैध दाबी अमेरिकाले कहिल्यै स्वीकार गर्दैन,’ ती अधिकारीको भनाइ छ । समुद्रमा यस प्रकारका घटना विरलै हुने गर्छन् । गत वर्ष साउथ चाइन समुद्रमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रुजरसँग झन्डै ठोकिएको थियो । उक्त घटनाका लागि अमेरिका र रुस दुवैले एकअर्कालाई दोष लगाएका थिए ।

दुवै पक्षले सामुद्रिक तथा हवाई क्षेत्रमा हुने एकअर्काका सैन्य गतिविधिप्रति आपत्ति प्रकट गर्दै आएका छन् । शीतयुद्धकालमा बिग्रेको दुई देशबीचको सम्बन्ध पछिल्लो समय झन् तनावग्रस्त रहेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझै पनि जो बाइडेनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन् । नोभेम्बर ३ मा भएको चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेनले सन् २०२० को जनवरी २० देखि कार्यभार सम्हाल्दै छन् ।

आगामी फेब्रुअरीमा म्याद सकिन लागेको परमाणु अस्त्रसम्बन्धी एक सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझै बाँकी छ । सन् २०१० मा गरिएको एक सम्झौतामा दुवै देश लामो दूरीमा प्रहार गर्न मिल्ने परमाणु अस्त्रको संख्या घटाउन सहमत भएका थिए । तर व्यवहारमा भने उक्त सम्झौता कार्यान्वयन भएको नदेखिएको कपितयको ठम्माइ छ ।

प्रकाशित : मंसिर ११, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्

रहेनन् म्याराडोना

रोयटर्स

ब्युनस आयर्स — त्यो गजबको संयोगमात्र थिएन, विश्वकप फुटबलको इतिहासमै अनौठो गोल थियो । जसका कारण उनलाई नयाँ नामले जिस्क्याइरह्यो । अर्जेन्टिनाले डिएगो म्याराडोनाको कप्तानीमा सन् १९८६ को विश्वकप जितेको थियो, त्यसको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेका दुई गोल निकै चर्चित रहे ।

हेडबाट गोल गर्ने क्रममा जब म्याराडोनाले हातले पहिलो गोल गरेका थिए, त्यसलाई ‘ह्यान्ड अफ गड’ भनेर अहिलेसम्म विश्व फुटबलको इतिहासमा अंकित गरिएको छ ।

मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै उनले इंग्लिस खेलाडी र गोलरक्षक पिटर सिल्टनलाई छक्याउँदै दोस्रो गोल गरेका थिए, जुन विश्वकपकै उत्कृष्ट गोलमा गनिन्छ ।

तिनै फुटबलका हस्तीको बुधबार ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलको सर्वकालीन महान् खेलाडी घोषित गरिएको छ । ब्युनस आयर्सस्थित आफ्नै घरमा उनलाई हृदयाघात भएको थियो । अघिल्लो महिना मात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । त्यस क्रममा उनलाई दुई साता अस्पताल राखियो । दुर्व्यसनका कारण उनी पटकपटक रोगसँग जुध्दै आएका थिए ।

विश्व फुटबल महासंघले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरका रूपमा पुरस्कृत गरेको थियो । म्याराडोनाले स्वदेशमा बोका जुनियर्स हुँदै युरोपमा बार्सिलोना, सेभिया र नेपोलीबाट क्लब फुटबल खेलेका थिए । उनले नेपोलीलाई दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि दिलाए ।

राष्ट्रिय टोलीबाट ९१ खेलमा ३४ गोल गरेका म्याराडोनाले चार विश्वकप खेले । उनकै कप्तानीमा अर्जेन्टिना १९९० को विश्वकपको फाइनल पुगेको थियो, तर तत्कालीन पश्चिम जर्मनीसँग पराजित भयो । अमेरिकामा सन् १९९४ मा भएको विश्वकपमा म्याराडोना डोपिङ टेस्टमा असफल भएपछि घर फर्किएका थिए ।

उनको लागूऔषध सेवनको लत निरन्तर जस्तै रह्यो । सन् १९९१ मा कोकिन सेवन गरेको पाइएपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लगाइएको थियो । म्याराडोनाले सन् १९९७ मा व्यावसायिक लिग फुटबल टुंग्याएका थिए, जुन दिन उनी आफ्नो ३७ औं जन्मदिन मनाइरहेका थिए ।

उनी २००८ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक भएका थिए । दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकप फुटबलमा जर्मनीसँग क्वाटरफाइनलमा ४–० ले पराजित भएपछि उनलाई उक्त जिम्मेवारीबाट हटाइएको थियो । त्यसयता उनले यूएई र मेक्सिकोका क्लबले प्रशिक्षक बनाएका थिए । अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनमा गहिरो दुःख प्रकट गर्दै उनी आफूहरूको हृदयमा रहिरहने जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ २३:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×