जोर्जियाको पुन: मतगणनामा बाइडेन नै विजयी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोर्जियाको पुन: मतगणनामा बाइडेन नै विजयी

इकान्तिपुर डेस्क

काठमाडौँ — जोर्जिया राज्यमा गरिएको पुन: मतगणनामा पनि जो बाइडेन विजयी भएको चुनाव अधिकारीले जनाएका छन् । जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको उल्लेख गरिएको छ ।

सीएनएका अनुसार बाइडेनलले ट्रम्पलाई १२ हजार २ सय ८४ भोटले जितेका हुन् । जोर्जियाका चुनाव अधिकारीहरुका अनुसार पुन: गरिएको मतगणनामा चुनावमा कुनै धाँधली भएको पाइएन । राष्ट्रपति ट्रम्पले जोर्जियामा व्यापक धाँधली भएको बताउँदै पुन: मतगणना गर्न माग गरेपछि झन्डै ५० लाख मत हातैले गनिएको थियो ।

सन् १९९२ पछि जोर्जियामा चुनाव जित्ने पहिलो डेमोक्रेटिक उम्मेदवार हुन् जो बाइडेन् । करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई महत्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो पटक सन् १९९२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट बिल क्लिन्टनले जोर्जियामा जितेका थिए ।

बाइडेनले कुल ३०६ इलेक्टोरल भोट पाएका छन् । जुन सन् २०१६ मा राष्ट्रपति ट्रम्पले पाएकै जति हो । ट्रम्पको पक्षमा कुल २३२ इलेक्टोरल भोट पर्नेछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

सन्दीप लामिछानेले होबर्ट हरिकेन्सबाट बिग बास लिग खेल्ने

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस पटक बिग बास लिग(बीबीएल) मा होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।

होबर्ट हरिकेन्सले विदेशी खेलाडीको कोटामा सन्दीपलाई क्लबमा आबद्ध गरेको बताएको छ । होबर्टले सन्दीपलाई कति रकममा अनुबन्ध गरेको हो भन्नेबारे भने केही खुलाएको छैन ।

यस वर्षको बीबीएल डिसेम्बर १० देखि सुरु हुने भए पनि सन्दीप भने जनवरीबाट टिममा सहभागी हुने क्लबले जानकारी दिएको छ । सन्दीपले होबर्ट हरिकेन्समा आबद्ध हुनु अत्यन्तै खुसीको कुरा भएको बताएका छन् । सन्दीपको भनाइ उद्धृत गर्दै क्लबले लेखेको छ, ‘बीबीएलको दसौं संस्करणमा होबर्ट हरिकेन्स टिममा आबद्ध हुन पाउँदा म अत्यन्तै आभारी छु । मलाई अस्ट्रेलियाले सधैँ माया र सहयोग गरेको छ । बिग बासमा गुणात्मक प्रतिस्पर्धा हुन्छ । म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि निकै आतुर छु ।’

हरिकेन्सका मुख्य प्रशिक्षक एडम ग्रिफिथले पनि सन्दीपका कारण टिमको बलिङ आक्रामक हुने बताएका छन् । ‘सन्दीपले आफ्नो रहस्यमयी स्पिनमार्फत खेललाई कसरी परिवर्तन गर्छन् भन्ने हामीले देखेका छौं । उनले इनिङ्सको जुनसुकै स्टेजमा पनि बलिङ गर्न सक्छन् । उनी प्रमाणित ‘विकेटटेकर’ हुन् जसले हाम्रो बलिङ समूहमा अर्कै आयाम थप्नेछन्,’ मुख्य प्रशिक्षक ग्रिफिथले भने ।

सन्दीपले यसअघि बीबीएलको दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले सन् २०१८–१९ को सिजनबाट बीबीएलमा डेब्यु गरेका थिए । उनले दुई वटा सिजनमा गरेर बीबीएलमा २० खेलबाट २६ विकेट लिएका छन् ।

हरिकेन्समा आबद्ध हुने विदेशी खेलाडीमा सन्दीपसँगै किमो पल, डेविड मलान, विल ज्याक्स र कोलिन इन्ग्राम रहेका छन् । हरिकेन्समा स्कट बोल्यान्ड, जेक डोरान, नथान एलिस, जेम्स फकनर, पिटर ह्यान्ड्सकम्ब, डेभिड मुडी, टिम पेन, डार्सी शर्टलगायतका चर्चित अस्ट्रेलियाली क्रिकेटर रहेका छन् ।


प्रकाशित : मंसिर ४, २०७७ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×