दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

एजेन्सी

नयाँदिल्ली — भारतको दिल्ली राज्यमा मास्क लगाउन अनिवार्य गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका छन् ।

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि ५ सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो ।

नयाँ दिल्लीमा कोभिड १९ को महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन्,’ केजरीवालले भने ।

केजरीवालले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै कार्यक्रम तथा गतिविधिहरु नगर्न पनि उनले आग्रह गरेका छन् ।

महामारीको पछिल्लो अवस्थाबारे समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि बोल्दै केजरीवालले जनताको जीवन रक्षाका लागि संयुक्त रुपमा काम गर्न सबै पार्टीहरु सहमत भएको पनि जनाए । ‘सबै पार्टीहरुकातर्फबाट मलाई सहयोग र सुझाव आएको छ । यो कठिन घडीमा हामी सबै एकै ठाउँमा छौं,’ केजरीवालले भने ।

प्रकाशित : मंसिर ४, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?