२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’

‘कोरोनाभ्याक’ ले मानव शरीरमा तीव्र रूपमा भाइरस प्रतिरोधी क्षमता उत्पन्न गराएको अनुसन्धानकर्ताहरूको दाबी
फाइजरको खोप '९४ प्रतिशत प्रभावकारी'
एजेन्सी

बेइजिङ — कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।

चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’

सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको हो ।

युरोप तथा अमेरिकामा निर्मित खोपहरूको ठूलो स्तरको परीक्षणका आधारमा ती खोपहरू सफल रहेका समाचार आइरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक भएको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीनवटा खोपहरूको परीक्षणका तथ्यांकहरूका आधारमा ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।

अमेरिका तथा युरोपेली देश जस्तै चीन पनि कोभिडविरुद्धको खोप बनाउने दौडमा क्रियाशील छ । यसक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका जनाइएको छ । तीमध्ये सिनोभ्याक बायोटेक खोप एक हो ।

तर वैज्ञानिक जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित परिणामहरू ती चारमध्ये एकको पहिलो र दोस्रो चरणका परीक्षणबाट प्राप्त तथ्यांक मात्र भएको बीबीसीले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार कोरोनाभ्याक खोपले मानव शरीरमा तीव्र रोग प्रतिरोधी क्षमता उत्पन्न गराएको देखिएको छ । उक्त अध्ययन गत अप्रिल र मे महिनामा गरिएको र खोपको सफलताको प्रतिशत उल्लेख गरिएको छैन ।

प्रतिवेदनका एक लेखक झु फेंगचाईले पहिलो चरणमा एक सय ४४ र दोस्रो चरणमा ६ सय जनामा गरिएको परीक्षणमा आधारित नतिजाहरूका आधारमा उक्त खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य रहेको बताएका छन् ।

हाल खोपको तेस्रो चरणको परीक्षण जारी छ र त्यसबारे भने केही तथ्यांकहरू सार्वजनिक गरिएको छैन । चिनियाँ खोपहरू हाल पाकिस्तान, साउदी अरब, रुस, इन्डोनेसिया र ब्राजिलमा ठूलो स्तरमा परीक्षण भइरहेको छ । चिनियाँ चारमध्ये एक खोप नोभेम्बर महिनाको सुरुसम्ममा करिब ६० हजार जनाले लगाइसकेका छन् ।

कोरोनाभ्याक खोपको परीक्षण ब्राजिलमा गत साता केही समयका लागि रोकिएको भए पनि पुन: सुरु भएको छ । कम्तीमा तीनवटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको जनाइएको छ । बीबीसीका अनुसार एउटा खोप भने जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।

फाइजरको खोप ६५ वर्षमाथिकालाई झन् प्रभावकारी

फाइजर र बायोएनटेक कम्पनीले विकसित गरेको कोभिड–१९ विरुद्धको खोप ६५ वर्षमाथिका बिरामीका लागि अझै प्रभावकारी हुने देखिएको छ । तेस्रो चरणको परीक्षणका तथ्यांकको विश्लेषणका आधारमा नयाँ तथ्य सार्वजनिक गरिएको हो ।

कम्पनीले उक्त खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका ९४ प्रतिशत बिरामी निको पार्ने दाबी गरेको हो । अन्तिम चरणको परीक्षणका क्रममा उक्त खोप ४१ हजार जनालाई दुई डोज दिइएको थियो । खोपको आपत्कालीन प्रयोगका लागि अमेरिकामा छिटै अनुमति लिइने पनि कम्पनीले जनाएको छ ।

गत साता फाइजर तथा बायोएनटेकले प्रारम्भिक तथ्यांकको विश्लेषणका आधारमा खोपले कोभिड–१९ का ९० प्रतिशत बिरामी निको पार्ने जनाएका थिए । अमेरिकी कम्पनी मोडर्नाले विकसित गरेको खोपले भने कोभिड–१९ का ९४.५ प्रतिशत बिरामी निको हुने जनाइएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर ४, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?