२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कोरोनाविरुद्ध करिब एक दर्जन खोप अन्तिम चरणमा

 मोडर्ना खोप ९४.५ प्रतिशत प्रभावकारी, फाइजर खोपको तुलनामा भण्डारण गर्न निकै सहज 
एजेन्सी

काठमाडौँ — अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी देखिएको एक अध्ययनले जनाएको छ । मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो ।

कोरोनाविरुद्ध करिब एक दर्जन खोप अन्तिम चरणमा

फाइजर र बायोएनटेकले निर्माण गरेको खोपले कोभिडका ९० प्रतिशत बिरामी निको पारेको दाबी गरिएको केही दिनमा मोडर्नाले यो घोषणा गरेको हो । मोडर्नाले ‘महान्’ दिन भन्दै खोप प्रयोगका लागि अनुमति लिन केही दिनमै आवेदन दिने बताएको छ । कम्पनीका अनुसार यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए । सहभागीमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । तर खोप एक पटक लगाएपछि कति समयसम्म काम गर्छ भन्नेबारे केही उल्लेख गरिएको छैन ।

‘तेस्रो चरणको परीक्षणको सकारात्मक नतिजाको विश्लेषण गर्दा यो खोपले कोभिड–१९ का बिरामीलाई निको पार्ने देखिएको छ,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफान बान्सेलले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

मोडर्ना र फाइजर दुवै कम्पनीले निर्माण गरेका खोप एमआरएनए प्रविधिमा आधारित हुन् । एमआरएन शरीरका कोषहरूका लागि एउटा सफ्टवेयरजस्तै हो । यो प्रविधिमा निर्मित खोपले कोषहरूले निर्माण गरेको प्रोटिनलाई शरीरका विभिन्न भागमा पढाउन निर्देशन दिने गर्छ । जसका कारण मानिसको शरीरमा भाइरसविरुद्ध एन्टिबडी निर्माणका लागि रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ ।

तर मोडर्नाको खोप भण्डारणका लागि भने सहज देखिएको छ । बान्सेलका अनुसार यो खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा सुरक्षित रहन्छ । यसअघि फाइजरले विकसित गरेको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने जनाइएको थियो ।

कोभिड–१९ विरुद्धको खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ अर्ब डलर प्रदान गरेको छ । कम्पनीले डेढ अर्ब डलरबराबरको १० करोड डोज खोप उपलब्ध गराउन यसअघि नै सम्झौतासमेत गरिसकेको छ ।

मोडर्नाले आगामी वर्षभित्र विश्वभर १ अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । त्यसका लागि क्रमशः अन्य मुलुकहरूबाट समेत आवश्यक स्वीकृति लिइने बान्सेलको भनाइ छ । यी खोपसँगै विश्वका विभिन्न देशमा विकसित करिब एक दर्जन खोपको परीक्षण अन्तिम चरणमा छ ।

यसअघि बहुराष्ट्रिय कम्पनीले आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । त्यस्तै रुसले पनि आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । रुसको सार्वभौम वेल्थ फन्डले अन्तरिम परीक्षणमा खोपको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो ।

त्यस्तै चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ । उक्त खोप पनि तेस्रो चरणको परीक्षणमा रहेको छ ।

त्यसै गरी बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप पनि तेस्रो चरणअन्तर्गतको परीक्षणमा रहेको बताइएको छ ।

जोन्सनको खोपको तेस्रो चरणको परीक्षण

कोभिड–१९ विरुद्ध निर्माण गरेको खोप तेस्रो चरणको परीक्षणका लागि फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनले अनुमित पाएको छ । करिब १२ महिना चल्ने परीक्षणका लागि कम्पनीले बेलायत सरकारले अनुमति दिएको हो । परीक्षणमा करिब ६ हजार जना सहभागी हुने जनाइएको छ ।

खोप निर्माणको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले खोप अन्तिम परीक्षण पहिलो पटक बेलायतमा गर्न लागिएको बताए । उनले खोप परीक्षणमा विश्वका ६ देशका करिब ३० हजार जना सहभागी हुने जनाए ।

‘खोप मात्र पर्याप्त छैन’

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड–१९ को महामारी अन्त्यका लागि खोप विकास र प्रयोगले मात्रै काम नगर्ने बताएका छन् । संगठनका महानिर्देशक टेड्रोस अड्हानोम गेहब्रेयससले भने, ‘महामारी नियन्त्रणका लागि हामीसँग रहेका उपायमध्ये खोप एक हो । खोप आफैंले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

खोपको प्रयोगले मृत्युदर नियन्त्रणमा आउने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने उनको भनाइ छ । अनुगमन र परीक्षणको दायरा बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु नै महामारी नियन्त्रणको प्रमुख उपाय रहेको उनको दाबी छ ।

त्यसका साथै हरेक व्यक्तिले सावधानी अपनाउनु अनिवार्य रहेको टेड्रोसले बताए । टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, बढी उमेरका र जोखिममा रहेका व्यक्तिहरूलाई दिइनुपर्ने बताए ।

प्रकाशित : मंसिर ३, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?