लगातार चौथोपटक बिहारको मुख्यमन्त्री बने नितिशकुमार

जेडी (यु) नेता नितिश कुमारले लगातार चौथोपटक बिहारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । कोभिड महामारीका बीच पटनामा आयोजित समारोहमा नितिशले सोमबार शपथ लिएका हुन् । 

लगातार चौथोपटक बिहारको मुख्यमन्त्री बने नितिशकुमार

सात पटक बिहारका मुख्यमन्त्री बनेका नितिश कुमारले सन् २००५ यता लगातार चौथो कार्यकालका लागि शपथ लिएका हुन् । बीचमा भने सन् २०१४ को लोकसभा चुनावमा उनको दलको प्रदर्शन राम्रो नभएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सन् २०१४ को मे २० देखि २०१५ को फेब्रुअरी २२ सम्म जेडीयूकै जितनराम माझी बिहारका मुख्यमन्त्री भएका थिए ।

नितिश कुमारले १४ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा दुईजना उपमुख्यमन्त्री तारकिशोर प्रसाद र रेनु देवी छन् । दुवै भाजपाका नेता हुन् । पूर्वमुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोषकुमार सुमनले पनि मन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहण समारोहमा भाजपा नेता केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि उपस्थित थिए ।

महामारीकै बीच भएको निर्वाचनमा जेडी (यु) र भाजपाको गठबन्धनले बहुमत पाएको हो । बिहार विधानसभामा सबभन्दा ठूलो दल बनेको राष्ट्रिय जनता दलका नेता तेजश्वी यादव भने सपथ ग्रहणमा अनुपस्थित थिए । उनले निर्वाचनमा धाँधली गरिएको आरोप लगाएका छन् । उनले जनताले आफ्नो गठबन्धनलाई मत दिएको भए पनि चुनाव आयोगले बिजेपी गठबन्धनलाई विजयी घोषणा गरेको भन्दै पत्रकार सम्मेलन गरी असन्तुष्टि पोखेका थिए ।

प्रकाशित : मंसिर १, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?