कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ट्रम्पले हार स्वीकार नगरे के हुन्छ ?

ह्वाइटहाउबाट बाहिरिनुको विकल्प हुने छैन तर अर्कोपटक हुने चुनावमा भने उनी फेरि प्रतिपर्स्धामा उत्रन सक्छन् ।
एजेन्सी

वासिङ्टन — अमेरिकाको यसपटकको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक दलका जो बाइडेन विजयी भएको प्रक्षेपण गरिएको केही दिन बितिसकेको छ तर उनका प्रतिस्पर्धी तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्विकारेका छैनन् । ट्रम्पले आफू पराजित भएको स्वीकार गर्ने संकेतसमेत देखाएका छैनन् ।

ट्रम्पले हार स्वीकार नगरे के हुन्छ ?

चुनाव तथा मतगणनामा धाँधली भएका कारण परिणाम बाइडेनका पक्षमा आएको उनको आरोप छ तर उनले धाँधलीको कुनै प्रमाण भने हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । मगतणना नसकिएका केही राज्यमा ट्रम्प दसौं हजार मतले पछि परेका कारण उनले चुनावी प्रक्षेपण उल्टाउन सक्ने कुनै सम्भावना छैन ।

तर राजनीतिक मान्यता र अमेरिकी राजनीतिक परम्पराविपरीत ट्रम्पका भनाइका कारण अमेरिका तरंगित भएको छ । राष्ट्रपति ट्रम्पका साथै उनको दलका केही नेता, परिवार, सल्लाहकार तथा समर्थकसमेत उनले हार स्वीकार गर्न नहुने पक्षमा देखिएका छन् ।

सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्केनलले राष्ट्रपतिले कानुनअनुसार पुनः गणनाका लागि अनुरोध गर्ने अधिकार भएको बताएका छन् । विगत चार वर्षमा ट्रम्पले जति नै विवादित काम गरेका भए पनि रिपब्लिकन नेताहरू त्यसलाई सामना गर्ने रणनीतिमा देखिए । ट्रम्पका त्यस्ता कदमबारे उनीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् । उनीहरू ट्रम्पले गर्ने एउटै ट्वीटमार्फत् पछि लाग्ने उनका समर्थकको निसानामा पर्न नचाहेका पनि देखिन्थे ।

चुनावी नतिजाका विषयमा पनि रिपब्लिकनहरू कानुनी चुनौतीका विषयमा टुंगो लागेर नतिजा प्रमाणित नहुन्जेलसम्म राष्ट्रपतिले आफू पराजित नभएको अडान लिइरहुन् भन्ने चाहेको देखिएको छ । यद्यपि उनको कानुनी चुनौतीको कुनै औचित्य देखिएको छैन ।

रिपब्लिकनहरूले भने अब नवनिर्वाचित राष्ट्रपतिसँग मिलेर काम गर्ने र आगामी चुनावमा मध्यमार्गीहरूको समर्थन जुटाउने विषयमा पनि सोच्नु नै उत्तम हुन्छ । राष्ट्रपतिले जस्तो उनीहरू प्रतिस्पर्धीलाई लाभ पुग्ने सबै कुरा रातारात खत्तम हुन्छन् भन्ने विश्वास पनि गर्दैनन् । त्यही भएर उनीहरू राष्ट्रपतिसँग दाबी गर्ने अधिकार रहेको भन्दै उनलाई आफ्नो निराशा व्यक्त गर्न समय दिइरहेका देखिन्छन् ।

यसअघि न्याय मन्त्रालयलाई पठाएको एक पत्रमा अमेरिकी महान्यायाधिवक्ता विलियम बारले गम्भीर आरोपलाई एकदमै ध्यान दिएर हेर्नुपर्ने भए पनि अनुमानका भरमा संघीय अनुसन्धान अघि बढाउन नहुने बताइसकेका छन् । तर उनले अमेरिकी परम्परा लत्याउँदै राज्यहरूले परिणामलाई प्रमाणित नगर्दै धाँधलीबारे तत्काल अनुसन्धान थाल्न बाटो खोल्ने निर्देशन न्याय मन्त्रालयका उच्च अधिकारीहरूलाई दिएका थिए । चुनावसँग सम्बन्धित फौजदारी अनुसन्धानमा हस्तक्षेप नहोस् भन्ने सुनिश्चित गर्न कानुनी व्यवस्था छन् । बारले केही त्यस्ता व्यवस्था हटाएको भए पनि त्यसले धाँधलीको दाबी पुष्टि गर्ने प्रमाण खोजिरहेका ट्रम्पलाई सघाउ पुग्ने प्रस्ट छैन । त्यस्तै ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्भिस पनि ट्रम्पले हार स्वीकार गर्न नहुने पक्षमा छिन् । आफूले राष्ट्रपतिलाई समर्थन गर्ने र विधिको शासन, संविधान र अमेरिकी प्रणालीको पक्षमा उभिँदा आफूलाई गर्व लाग्ने उनको भनाइ छ । त्यस्तै ट्रम्पसँग लामो समय सँगै काम गरेका रुडी जुलिआनी मतगणना परिणामलाई चुनौती दिने ट्रम्पको धारणाका पक्षमा छन् ।

ट्रम्पको कार्यकाल सकिएसँगै सत्ता र शक्तिमा आफ्नो पहुँच समाप्त हुने भएकाले पनि कतिपय उनको पक्षमा देखिएका हुन सक्छन् । ह्वाइटहाउसकी प्रेस सचिव काइली माक्नानीले ट्रम्प विजयी भएरै छाड्ने दाबी गरेकी छन् । त्यसैगरी, विदेशमन्त्री माइक पोम्पियो, ट्रम्पका दुई छोरा पनि उनका पक्षमा खुलेरै लागेका छन् । पोम्पियोले ट्रम्पको दोस्रो कार्यकालका लागि सहजै सत्ता हस्तान्तरण हुने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । ट्रम्पकी छोरी इभान्का चुनावयता मौन छिन् । उनी र उनका पति जरेद कुस्नरले ट्रम्पले पराजय स्वीकार गर्नुपर्ने समय आएको ठानेको जनाइएको छ । चुनाव अघिसम्म ट्रम्पले चुनाव सहजै जित्ने विश्वास लिएका उनका समर्थक पनि आफ्ना नेताले पराजय स्वीकार गर्न नहुने पक्षमा छन् । टेक्सास राज्यको ह्युस्टनमा एक ट्रम्प समर्थकले चुनावमा धाँधली भएको र गणना नभएका मत मृतक र नक्कली मानिसका भएको बताएका थिए । चार वर्षअघिको चुनाव पनि डेमोक्र्याटिक दलकी हिलारी क्लिन्टनले जित्ने अधिकांशको आकलन थियो । यस वर्ष बाइडेनले सहजै जित्ने अनुमान गरिएको भए पनि चुनावी प्रतिस्पर्धा निकै कडा देखियो ।

नवनिर्वार्चित राष्ट्रपति बाइडेनले ट्रम्पको अभिव्यक्ति लज्जास्पद भन्दै त्यसले राष्ट्रपतिको विरासतमाथि नै आँच पुग्ने बताएका छन् । ‘जनताले यो धाँधलीपूर्ण चुनावलाई स्वीकार गर्दैनन्,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

विजेता घोषित भएपछि बाइडेनले संक्रमणकालीन समूह घोषणा गरिसकेका छन् र उक्त समूहले शक्ति हस्तान्तरण प्रक्रिया सहज र विधिसम्मत रूपमा अघि बढोस् भन्ने सुनिश्चित गर्न सक्दो काम गरिरहेको छ । ट्रम्पले हार स्वीकार नगरेका कारण आफूलाई अप्ठ्यारो परेको भने बाइडेनले अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले जे जस्ता दाबी गर्दै आएका भए पनि चुनाव तथा मतगणनामा धाँधली भएका प्रमाण नभएका कारण त्यसले कुनै अर्थ राख्दैन । केही दिनभित्र राज्यले चुनावी नतिजा प्रमाणित गर्दा जो बाइडेनले कुल ५ सय ३८ इलेक्टोरल कलेज मतमध्ये बहुमत आफ्नो पक्षमा पार्नेछन् र परम्पराअनुसार जनवरी २० मा पदभार ग्रहण गर्नेछन् । त्यसबेला हार स्वीकार नगरे पनि उनी ह्वाइटहाउबाट बाहिरिनुको विकल्प हुने छैन तर अर्कोपटक हुने चुनावमा भने उनी फेरि प्रतिपर्स्धामा उत्रन सक्छन् ।

प्रकाशित : कार्तिक ३०, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?