कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषण र जाडोसँगै दिल्लीमा बढ्यो संक्रमण

केही महिना मत्थर देखिएको संक्रमण बिस्तारै बढ्न थालेपछि अस्पतालहरुमा चाप बढेको छ । नयाँदिल्लीमा हालसम्म भाइरसका कारण कम्तीमा ७ हजार जनाको मृत्यु भइसकेको छ ।
एजेन्सी

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण र जाडो बढेसँगै कोभिड–१९ को संक्रमण पनि बढ्न थालेको छ । नयाँदिल्लीमा बुधबार एकै दिनमा ८ हजार ५ सय ९३ जना संक्रमित थपिएका छन् । एकै दिन संक्रमित भएकाहरूको यो हालसम्मकै ठूलो संख्या हो । नयाँदिल्लीमा मंगलबार ७ हजार ८ सय ३० संक्रमित थपिएका थिए ।

प्रदूषण र जाडोसँगै दिल्लीमा बढ्यो संक्रमण

संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको छ । दिल्लीमा बुधबार मात्रै ८५ जनाको ज्यान गएको छ । यसअघि जुन १६ मा सबैभन्दा बढी ९३ जनाको भाइरसका कारण ज्यान गएको थियो ।

नयाँदिल्लीमा हालसम्म भाइरसका कारण कम्तीमा ७ हजार जनाको मृत्यु भइसकेको छ । केही महिना मत्थर देखिएको संक्रमण बिस्तारै बढ्न थालेपछि अस्पतालहरूमा चाप बढेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीका सबैजसो अस्पतालमा आधाभन्दा बढी शय्यामा कोभिडका बिरामी छन् ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सरकारी अस्पतालमा कोभिड बिरामीका लागि थप शय्याको व्यवस्था गर्न माग गर्दै केन्द्रीय सरकारलाई पत्राचार गरेका जनाइएको छ । कोभिड–१९ बाट प्रभावित मुलुकहरूको सूचीमा भारत दोस्रो स्थानमा छ । बिहीबार साँझसम्म भारतमा कुल ८६ लाख ८४ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । सेप्टेम्बर महिनाको मध्यदेखि भारतमा दैनिक रूपमा संक्रमितको संख्यामा कमि आउन थालेको जनाइएको थियो । संक्रमणको दर उच्च भएका बेला एकै दिन १ लाखको हाराहारीमा संक्रमित भेटिने गरेकामा केही सातापछि त्यो घटेर दैनिक ४० हजारभन्दा कममा झरेको थियो । हाल भने संक्रमितका संख्या ४० हजारभन्दा बढी छ । केही दिनयता भारतमा दैनिक ४५ देखि ५० हजार संक्रमित थपिएका छन् ।

अन्य राज्यहरूको तुलनामा दिल्लीमा पछिल्ला केहि सातामा संक्रमण तीव्र गतिमा बढिरहेको छ । हालसम्म दिल्लीमा ४ ला ५० हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेकोमा ४२ हजारभन्दा बढी सक्रिय संक्रमति रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तरी भारत जाडो यामको सुरुवात भएसँगै भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो । त्यसका साथै वायु प्रदूषणको स्तर पनि खतरनाक अवस्थामा छ । यी दुई कारणले भाइरस नियन्त्रणका प्रयासमा धक्का लाग्ने विज्ञहरूको धारणा छ ।

त्यसका साथै चाडबाडको मौसममा भएकाले पनि संक्रमण थप फैलने त्रास उस्तै छ । केही दिनमा हिन्दुहरूको महान् पर्व दीपावली छ । दिल्लीले पर्वको बेला आतसबाजी प्रयोगमा प्रतिबन्ध लगाएको छ र अधिकारीहरूले सामाजिक दूरी अनिवार्य पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् । तर भारतीय सञ्चारमाध्यमका अनुसार बजारमा भीड निकै बढी छ । जसका कारण मानिसमा थप त्रासको वातावरण छाएको छ । पछिल्लो समय संक्रमितको संख्या बढेकाले अस्पतालमा उपचार गराउनसमेत समस्या भएको छ । ‘मेरा दुई वृद्ध बिरामीलाई शय्या पाउन करिब दुई दिन लाग्यो,’ दिल्लीस्थित एक चिकित्सक डा. जोयिता वसुले भनिन् । बुधबारसम्म दिल्लीका सार्वजनिक तथा निजी अस्पतालहरूमा करिब ९ हजार शय्यामा कोभिड–१९ का बिरामी थिए । दिल्लीमा कोभिड–१९ का बिरामीका लागि १७ हजारभन्दा कम शय्या उलब्ध छन् । अझ चिन्ताको विषय के भने, सघन उपचार कक्षमा भेन्टिलेटरसहितका १ सय ७६ र भेन्टिलेटरबिनाका ३ सय ३८ शय्या मात्र उपलब्ध छन् ।

सहरका अस्पतालमा महामारी सल्किरहेको चिकित्सकहरूले बताएका छन् । त्यहाँ प्रत्येक मिनेट खाली शय्याहरू भरिन थालेको बताइन्छ । सरकारी अस्पतालमा हजारौं शय्या खाली रहेको एपमा उल्लेख छ । तर कम्तीमा २४ निजी अस्पतालमा कुनै खाली शय्या छैन अनि एपमा सूचीकृत ८० निजी अस्पतालमा ५० प्रतिशतभन्दा कम शय्या खाली छन् । भारतमा खर्च गर्न सक्ने अधिकांश मानिस सरकारी अस्पताल जाँदैनन् । त्यहाँको पूर्वाधारको गुणस्तर कमसल भएको उनीहरूको बुझाइ छ । भारतले जनस्वास्थ्यमा कुल गार्हस्थ्य उत्पादनको केवल एक प्रतिशत मात्र खर्च गर्ने गर्छ ।

‘मेरा अधिकांश बिरामीहरू निजी अस्पतालमा जान खोज्छन् । तर अवस्था यस्तो खराब छ कि आउने दिनमा जहाँ शय्या भेटिन्छ त्यहीं जानुको विकल्प छैन,’ वसुले भनिन् । भारतको सबभन्दा ठूलोमध्येको सरकारी अस्पताल अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का निर्देशक डा. रन्दीप गुलेरियाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै संक्रमण विस्तार हुनुको अर्थ अस्पतालमा भर्ना हुनेहरूको संख्या पनि बढ्नु भएको बताए । ‘वायु प्रदूषण र भाइरस संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या लिएर इमर्जेन्सीमा आइपुग्नेको संख्या निकै बढेको छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा नयाँदिल्लीमा वायुको गुणस्तर १४ गुना प्रदूषित रहेको छ । प्राध्यापक श्रीनाथ रेड्डीका अनुसार जाडोयाममा सामान्य मानिसकै पनि रोगप्रतिरोधी क्षमतामा केही कमी आउँछ । यस्तो अवस्थामा कोभिड–१९ संक्रमितको अवस्था झन् बिग्रने उनको भनाइ छ ।

पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डियाका अध्यक्ष समेत रहेका रेड्डीले जाडो याम र सुक्खा हावा भाइरसका लागि अनुकूल हुने गरेको बताए । ‘चिसो हावा अलि गह्रौं हुने भएकाले यताउता कम गर्छ । जसका कारण भाइरससहितका हावाका कण जमिनमाथि तैरिरहने भएकाले मानिसको फोक्सोमा पुग्ने सम्भावना बढी हुन्छ,’ उनले भने । त्यसमाथि प्रदूषणका कारण स्थिति झनै खतरनाक हुने उनको दाबी छ ।

विश्वका विभिन्न देशमा गरिएका अध्ययनहरूमा वायु प्रदूषण र कोभिड–१९ को संक्रमण तथा मृत्युदरबीच सोझो सम्बन्ध देखिएको छ । हार्वाड विश्वविद्यालको अध्ययनले खतरनाक मानिने पीएम २.५ प्रदूषक तत्त्व प्रतिघन मिटरमा एक माइक्रोग्रामले मात्रै बढ्दा पनि कोभिड–१९ को मृत्युदर ८ प्रतिशतले बढ्ने देखाएको छ । फ्रान्स, इटाली, स्पेन, बेलायतजस्ता युरोपेली मुलुकलाई पनि जनवरी तथा फेब्रुअरीको चिसो मौसममा भाइरसको संक्रमणले निकै प्रभाव पारेको थियो ।

प्रकाशित : कार्तिक २८, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?