बहराइनका प्रधानमन्त्रीको ८४ वर्षको उमेरमा निधन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहराइनका प्रधानमन्त्रीको ८४ वर्षको उमेरमा निधन

विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् खलिफा बिन सलमान अल खलिफा
इकान्तिपुर डेस्क

काठमाडौँ — बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उपचारका क्रममा अमेरिकामा उनको निधन भएको हो ।

फाइल तस्बिर : ओमान अब्जर्भर

प्रधानमन्त्री खलिफाको उपचारका क्रममा अमेरिकास्थित मायो क्लिनिक अस्पतालमा बुधबार बिहान मृत्यु भएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्युज एजेन्सीले उल्लेख गरेको छ । उनी ८४ वर्षका थिए ।

राजकुमारसमेत रहेका प्रधानमन्त्री सलमानको निधनमा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दु:ख व्यक्त गरेका छन् । एजेन्सीका अनुसार अमेरिकाबाट पार्थिव शरीर आइपुगेपछि परिवारका सीमित सदस्यको उपस्थितिमा प्रधानमन्त्री सलमानको अन्त्येष्टि गरिनेछ ।

उनको निधनमा सात दिन शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउन राजाले आदेश दिएका छन् । बिहीबारदेखि सम्पूर्ण सरकारी कार्यालयहरु तीन दिनका लागि बन्द गरिने पनि बताइएको छ ।

सलमान बहराइन स्वतन्त्र हुनुभन्दा २ वर्ष अगाडिदेखि प्रधानमन्त्री थिए । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् ।

प्रकाशित : कार्तिक २६, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगको उत्पादन घट्यो

विनोद भण्डारी

विराटनगर — लकडाउन हटेको तीन महिना बित्दा पनि सुनसरी मोरङ–औद्योगिक करिडोरका उद्योगले उत्पादन बढाउन सकेका छैनन् । माग नै नआएको भन्दै उद्योगहरूले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् ।

आरती स्ट्रिप्स उद्योगले जस्तापाता वार्षिक १ लाख १० हजार टन, रंगीन पाता वार्षिक ६० हजार टन र कालोपाइप वार्षिक ५० हजार टन उत्पादन गर्थ्यो । अहिले तीनवटै उत्पादन बढीमा ४० प्रतिशत मात्र भएको उद्योगका प्रशासन प्रमुख दिवस नेपालले बताए ।

उद्योगले सामान्य अवस्थामा फलामे पाइप दैनिक ६ हजार ५ सय टन उत्पादन गर्दै आएको थियो । नेपालले भने, ‘त्यसको उत्पादन अहिले ठप्प गरेर पुरानो उत्पादन बिक्री गर्दै छ । बजारमा माग नै छैन । माग भएर बजार पुगेका सामानको पनि रकम फिर्ता आउँदैन ।’

सामान्य अवस्थामा दैनिक ७५ टन धागो उत्पादन गर्दै आएको सुनसरी, खनारको रिलायन्स स्पिनिङ उद्योगको पनि उत्पादन आधा घटेको छ । कोरोनाका कारण आवश्यकताअनुसार मजदुरसमेत पाइँदैनन् । अहिले करिडोरका खाद्यान्न, मास्क र सेनिटाइजर उद्योगले मात्र पूर्ण क्षमतामा सामान उत्पादन गर्दै आएको र अन्य उद्योगको उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको भनाइ छ । ‘खाद्यान्न, सेनिटाइजर र मास्कबाहेकका सामानको बजारमा माग नै छैन,’ उनले भने, ‘त्यसैले अन्य उद्योगका सञ्चालकले औद्योगिक कच्चा पदार्थ आयात र उत्पादन दुवै घटाए ।’

लकडाउन हटे पनि औद्योगिक क्षेत्रको अवस्था सुधार हुन नसकेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको बुझाइ छ । उनका अनुसार बजारमा उपभोग्य वस्तुको माग नै नहुँदा लगानी गर्ने वातावरण छैन । ‘अहिले माग र आपूर्तिबीचको सम्बन्ध नै बिग्रिएको छ,’ मुन्दडाले भने, ‘बजारमा सामानको माग नबढेसम्म उद्योगले उत्पादन बढाउने अवस्था नै छैन ।’

उद्योग पूर्ण क्षमतामा नचल्दा विराटनगर भन्सारको राजस्व असुली पनि प्रभावित भएको छ । औद्योगिक कच्चा पदार्थको आयात आधा घटेको छ । ‘यो भन्सारको राजस्व औद्योगिक कच्चा पदार्थ आयातमा निर्भर छ,’ भन्सार प्रमुख शिव भण्डारीले भने, ‘कच्चा पदार्थ आयात नै घटेपछि राजस्व असुली प्रभावित हुने नै भयो ।’

भन्सारले असोजमा ४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा ७० दशमलव २५ प्रतिशत अर्थात ३ अर्ब २२ करोड ८२ लाख मात्र असुली गरेको छ । सामान्य अवस्थामा यो भन्सारले दैनिक सरदर १५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७७ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×