कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

फ्रान्सेली शिक्षकहरुद्वारा देशभर प्रदर्शन

ददी सापकोटा

फ्रान्स — कडा लकडाउन र कर्फ्युको अवस्थामा पनि आफूले पढाउने कक्षा कोठामा भीड भएको भन्दै फ्रान्सेली शिक्षक/शिक्षिकाहरुले मंगलबार देशभर प्रदर्शन गरेका छन् । 

फ्रान्सेली शिक्षकहरुद्वारा देशभर प्रदर्शन

एउटै कोठामा धेरै विद्यार्थीहरुलाई पढाउनुपर्ने बाध्यताले भाइरसको उच्च जोखिम हुँदा पनि सरकारले उचित व्यवस्था मिलाउन नसकेको भन्दै मंगलबार फ्रान्सभर प्रदर्शन र केही ठाउँमा हडतालसमेत गरेका हुन् । फ्रेन्च टिचर्स एसोसिएनले मंगलबार प्रदर्शन र हडताल गर्दै हरेक कक्षाकोठामा सेनेटाइजर सिस्टमको माग गरेका छन् ।

अपर्याप्त सरसफाई भएकोले कडा सेनेटराइज्ड सिस्टमको माग गर्दै पेरिसस्थित एक उच्च माध्यमिक स्कुलमा विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरिदिएको एक सातापछि फ्रान्सेली शिक्षकहरुले देशभरि प्रदर्शन गरेका हुन् । तालाबन्दी गरिदिएको स्कुल खुलाउन खोज्दा प्रहरी र विध्यार्थीबीच झडप भएको थियो ।

शिक्षा मन्त्रालयले विद्यार्थीहरूले स्कुलमा कम्तीमा ५० प्रतिशत कक्षा लिने र बाँकी पढाई अनलाईनमार्फत लिन पाउने अनुमति दिएको छ । तर शिक्षकहरुले यसलाई सरकारको पन्छिने बाटो भन्दै आलोचना गरेका छन् । शिक्षकहरुले भने सरकारले कक्षामा थप शिक्षिक/शिक्षिका नियुक्त गर्नुपर्ने, सरसफाईका लागि पनि थप ध्यान दिनुपर्ने, एउटा कक्षा कोठामा ३० जना विद्यार्थी राख्ने प्रावधानलाई सुधार गरेर विद्यार्थी संख्या घटाउनुपर्ने, सामाजिक दूरी बढाउनुपर्ने माग राखेका छन् ।

फ्रान्समा शिक्षिक संस्थाका सबै युनियनले मंगलबार हडतालका लागि आह्वान गरेका छैनन् । तर यसले बिस्तारै झन् गम्भीर असर पार्न सक्ने बताइन्छ । अहिलेको आन्दोलनले पेरिस र फ्रान्सको दोस्रो ठूलो सहर मासेईका शिक्षण संस्था बढी प्रभावित हुने फँस न्युज २४ ले उल्लेख गरेको छ । पहिलो लकडाउनका बेला युरोपभरिनै शिक्षण संस्थाहरुलाई सुरुमै बन्द गरिएको थियो । तर कोरोना संक्रमितको यो दोस्रो कालमा भाइरस झनै फैलिए पनि स्कुलहरु खुला राख्ने सरकारी नियमको शिक्षकहरुले आलोचना गर्दै आएका छन् ।

फ्रान्समा शिक्षक र ६ वर्षदेखिका विध्यार्थीले स्कुलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम छ । तर साना उमेरका बालबालिकाले त्यसको सधैँ आदर नगर्ने हुँदा भाइरस फैलिने जोखिम रहेको शैक्षिक संस्थाहरुको भनाइ छ ।

प्रकाशित : कार्तिक २५, २०७७ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?