म्यान्मारमा संसदीय चुनाव : सुकीको दल विजयी हुने अनुमान

एपी

याङ्गुन — म्यान्मारमा आइतबार भएको संसदीय चुनावमा दसौं लाखले मतदान गरेका छन् । सन् २०११ मा सैनिक शासन अन्त्य भएपछिको यो दोस्रो चुनाव हो । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।

म्यान्मारमा संसदीय चुनाव : सुकीको दल विजयी हुने अनुमान

म्यान्मार निकै लोकप्रिय सुकी रोहिंग्या संकट समाधानका लागि आवश्यक कदम नचालेपछि विश्वमा आलोचनाको पात्र बनेकी थिइन् ।

सन् २०१७ मा म्यान्मारको सेनाले गरेको ज्यादतीका कारण लाखौं रोहिंग्याहरु विस्थापित भएका थिए । संयुक्त राष्ट्रसंघले उक्त घटनालाई जातीय सफायाको संज्ञा दिएको थियो । म्यान्मारको सेनाले भने आफूहरुले विद्रोही लक्षित आक्रमण गरेको बताउँदै आएको छ । त्यसका साथै म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न सुकीले पर्याप्त काम गर्न नसकेकी कतिपयको आरोप छ ।

आङ सान सुकी फाइल फोटो : रोयटर्स

सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो । यस चुनावले देशको ५ दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो । सैनिक समर्थित युनियन सोलिडारिटी तथा डेभलेपमेन्ट पार्टी एनएलडीको मुख्य चुनौती रहेको जनाइएको छ । संसद्को माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दल प्रतिस्पर्धामा रहेका छन् ।

पर्यवेक्षकहरुले रोहिंग्या समुदायलाई मताधिकार नदिई गरिएको चुनावको वैधतामाथि प्रश्न उठाएका छन् । बीबीसीका अनुसार द्वन्द्वग्रस्त राज्यहरु राखिने, सान र कचिनका अधिकांश क्षेत्रमा चुनाव रद्द गरिएको छ । अल्पसंख्यक समुदायको बसोबास रहेका ती क्षेत्रमा सुरक्षाको कारण देखाउँदै चुनाव रद्द गरिएको हो ।

म्यान्मारको निर्वाचन आयोगले चुनावी नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगको भनाइ छ ।


प्रकाशित : कार्तिक २४, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?