मलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु : बाइडेन

कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति जो अश्वेत एवं दक्षिण एसियाली मूलकी हुन् ।
दिनेशजंग शाह

न्युयोर्क — डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् ।

मलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु : बाइडेन

मतगणना भइरहेको पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत बाइडेनको पक्षमा परेसँगै २ सय ७३ इलेक्टोरल भोट पुगेर उनी विजयी भएको सीएनएनले जनाएको छ । ‘चार दिनको लामो प्रतीक्षापछि यो चुनावको ऐतिहासिक क्षणमा हामी पुगेका छौं । अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने सीएनएनको प्रक्षेपण छ,’ सीएनएनका वोल्फ ब्लितजरले स्थानीय समयअनुसार ११ बजेर २४ मिनेटमा भने । बाइडेन यसअघि बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । उनी डेलावेयरबाट लामो समय सिनेटरसमेत निर्वाचित हुँदै आएका थिए । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

पछिल्लो मतपरिणामअनुसार जो बाइडेनले नेभादामा पनि जित्ने भएका छन् । सीएनएनले ६ इलेक्टोरल भोट रहेको नेभादामा बाइडेनले नै जित्ने प्रक्षेपण गरेको छ । अहिले नर्थ क्यारोलाइना, जोर्जिया, एरिजोना र अलास्कामा मतगणना भइरहेको छ । १५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प अगाडि छन् भने १६ इलेक्टोरल भोट रहेको जर्जिया र ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेन अगाडि छन् । यहीअनुसार अन्तिम नतिजा आए बाइडेनले ३०६ इलेक्टोरल भोट पाउनेछन् भने ट्रम्पले २३२ इलेक्टोरल भोट पाउनेछन् ।

परिणाम घोषणा भएसँगै बाइडेनले विज्ञप्ति जारी गर्दै अमेरिकी जनताले आफूप्रति गरेको विश्वासको सम्मान गर्ने बताएका छन् । रिसराग र आरोप–प्रत्यारोप त्यागेर राष्ट्रका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ । ‘मलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु,’ बाइडेनले भनेका छन् । मिलेर अघि बढेको खण्डमा अमेरिकाले गर्न नसक्ने केही नरहेको उनको दाबी छ । आफ्नो चुनावी अभियानका क्रममा बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका कारण ‘देशको आत्मा जोखिममा रहेको’ उल्लेख गर्दै आफूले ठीक पार्ने बताउने गरेका थिए ।

चुनावी परिणामसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् । ह्यारिसले ट्वीट गर्दै आफू र बाइडेनको मात्र नभई चुनावमा अमेरिका र यसका लागि लड्नेहरूको जित भएको उल्लेख गरेकी छन् । ‘हामीले धेरै गर्न बाँकी छ । अब सुरु गरौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।

बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि असफल हुने एघारौं राष्ट्रपति बनेका छन् । नतिजा घोषणाका समय भर्जिनियास्थित रिसोर्टमा गल्फ खेलिरहेका ट्रम्पले जो बाइडेन हतार गरेर विजेता घोषित भएको दाबी गरे । सञ्चारमाध्यमले बाइडेनलाई समर्थन गरेको र उनीहरूले सत्य सार्वजनिक होस् भन्ने नचाहेका ट्रम्पको आरोप छ । ‘सामान्य तथ्य भनेको यो चुनाव अझै सकिएको छैन,’ ट्रम्पद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले आफ्नो अभियानले चुनावी परिणामप्रति सोमबार अदालतमा चुनौती दिने बताए । ‘बाइडेन कहाँ लुकेका छन् ? अमेरिकी जनताले दिएको मत इमानदार रूपमा गणना नगरेसम्म म चुप लाग्नेवाला छैन,’ उनले भने ।

निर्वाचन अधिकारीहरूले भने मतगणनामा कुनै अनियमितता नभएको बताउँदै आएका छन् । कोभिड–१९ का कारण यस पटक हुलाकबाट पठाइएका करिब साढे ६ करोड हाराहारी मतपत्रका कारण परिणाम आउन ढिलाइ भएको हो । करिब १० करोड मतदाता ‘अर्ली भोटिङ’ मा सहभागी भएका थिए । हुलाकबाट पठाइएका मतपत्रको हकमा मतदाताको हस्ताक्षरसहित भेरिफिकेसन गर्नुपर्ने भएकाले ढिलाइ भएको हो । यसअघि नै निर्वाचन परिणाम आउन करिब एक साता लाग्ने बताइएको थियो ।

अर्ली भोटिङमा डेमोक्य्राटको वर्चस्व

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको दिन गत मंगलबार साँझसम्म र भोलिपल्ट बिहान पनि इलेक्ट्रोरल कलेज भोटमा उल्लेखनीय अग्रता लिएका थिए । मिसिगन, पेन्सल्भेनिया, जर्जिया, विस्किन्सन जस्ता महत्त्वपूर्ण राज्यमा उनी अगाडि थिए । निर्वाचन कानुनअनुरूप निर्वाचनको दिन खसेको मतलाई पहिले गणना गरिएको थियो भने अर्ली भोटिङलाई मतगणनामा दोस्रो वरीयतामा राखिएको थियो । निर्वाचनको दिन करिब ५ करोड मत खसेको थियो ।

विश्लेषक एवं मिडियाले निर्वाचनको दिनको मतदानमा ट्रम्पको वर्चस्व रहने र अर्ली भोटिङमा बाइडेन अगाडि बढ्ने अपेक्षा गरेका थिए । अन्त्यमा, नतिजा त्यसरी नै आयो । निर्वाचनअघि नै ट्रम्प र उनको रिपब्लिकन पार्टीले आफ्ना मतदातालाई अर्ली भोटिङ नगर्न र निर्वाचनको दिन मत खसाल्न आह्वान गरेका थिए । त्यसको सिधा अर्थ थियो, उदारवादीको कोभिड त्रासको एजेन्डालाई निस्तेज पार्ने । आफूहरूले अर्थतन्त्रलाई महत्त्व दिएको र कोभिड हाउगुजी भएको भन्ने उनीहरूको रणनीति थियो ।

अधिकांश अमेरिकीले कोभिड संक्रमणलाई ख्याल गर्दै अर्ली भोटिङलाई प्राथमिकतामा राखे । नतिजाले के स्पष्ट गर्‍यो भने अर्ली भोटिङ गर्नेहरूमा अधिकांश सहरिया एवं उदारवादी देखिए । नतिजामा बाइडेनको पक्षमा करिब ८० प्रतिशत देखियो । यो पक्ष अनुदारवादीहरूले पहिले नै बुझेका थिए । त्यसैले यो मतदान प्रक्रियालाई रोक्न ट्रम्पले प्रयास गरेका थिए । सर्वोच्च अदालतमा बहस भएको थियो । अन्त्यमा, कोभिड त्रासले अर्ली भोटिङमा उल्लेखनीय संख्या थप्यो, जसले ब्याटलग्राउन्डको नतिजा प्रभावित गरेको हो ।

पढ्नुहोस्,

प्रकाशित : कार्तिक २३, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?