कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

को हुन् बाइडेन ?

संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति बन्ने निश्चितजस्तै रहेका जो बाइडेन सन् १९८८ मै राष्ट्रपतीय चुनावका बलियो दाबेदार ठानिएका थिए । बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि त्यतिबेला उनी पछि हटेका थिए ।
दिनेशजंंग शाह

न्युयोर्क — अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ । उनी जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको निकै नजिक छन् । जितपछि बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार हुनेछन् । 

को हुन् बाइडेन ?

जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए ।

उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए ।

बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ ।

यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहेका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्छन् । यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन । उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । उक्त कारबाहीमा लादेन मारिएका थिए ।

प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्छन् । विरोधीका नजरमा भने उनी ‘अस्ताउन लागेका घाम’ हुन् जसले बेलाबखत लाजमर्दो व्यवहार गर्छ । उदाहरणका लागि महिलाको कपाल सुँघ्ने बाइडेनको बानी छ । गत वर्ष उनले आफूहरूलाई अनुचित स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको आरोप आठ महिलाले लगाएका थिए ।

बाइडेन मतदातालाई आकर्षित गर्न सक्ने स्वभाव भएका नेतासमेत मानिन्छन् । भाषणका क्रममा भने उनी बेलाबेला चिप्लने गरेका छन् । एक भाषणमा उनले आफ्ना पुर्खाहरू पेन्सलभेनियाका कोइलाखानीमा काम गर्ने बताएका थिए । तर त्यो वास्तविकता होइन । उनले सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बोल्दै ‘आठ जना राष्ट्रपतिलाई चिनेको र तीमध्ये तीन जना आफ्नो अत्यन्त निकट रहेको’ दाबी गरेका थिए । उनको यो दाबी गलत भएको र विचार नगरी बोलेको जनाइएको छ । ओबामाको उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उनले ‘आफूहरूका कारण अर्थतन्त्रमा ३० प्रतिशत हानि पुर्‍याउने सम्भावना रहेको’ बताएका थिए ।

मतदातासँगको भेटघाटमा भने बाइडेन निकै सहज रूपमा प्रस्तुत हुन्छन् । खासगरी कामदार तथा मजदुर वर्गलाई भाषणमार्फत लट्ठ पार्न सक्छन् । भाषणपछि समर्थकसँग हात मिलाउँछन् र कुनै रकस्टारले जस्तो अँगालो मार्ने वा फोटो खिचाउने गर्छन् ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् । उक्त सहानुभूति आगामी दिनमा कायम हुन्छ कि हुँदैन भन्नेचाहिँ उनको कार्यशैलीमै भर पर्छ ।

जित लगभग निश्चित

६ राज्यको मतगणना जारी रहँदा जितका लागि महत्त्वपूर्ण मानिएका पेन्सलभेनिया र जर्जियामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अग्रता लिएका छन् । सबैभन्दा घना अवादी रहेको फिलाडेल्फिया क्षेत्रमा उल्लेखनीय मत पाएपछि बाइडेन २० इलेक्टोरल भोट रहेको पेन्सलभेनियामा जितको निकट पुगेका छन् । फिलाडेल्फिया क्षेत्रमा ट्रम्पले साढे ३ हजार मत पाउँदा बाइडेनले २७ हजार मत पाएका थिए । त्यहाँ अझै २० हजार मत गन्न बाँकी रहेको बताइएको छ ।

‘ब्याटलग्राउन्ड’ राज्य भनिए पनि रिपब्लिकन पार्टीको पकड रहेको जर्जियामा बाइडेनले जित्ने आकलन गरिँदै छ । सहरी क्षेत्रबाट खसेका हुलाकी मतहरूको गणना जारी रहँदा बाइडेनको सम्झावना बलियो बन्दै गएको विश्लेषण गरिएको छ । सन् १९९२ मा डेमोत्र्याटिक पार्टीका बिल क्लिन्टनले जितेपछिको यो दक्षिण–पूर्वी राज्यमा फहिलो डेमात्र्याटको जित हुनेछ । सन् १९९६ पछि एरिजोना राज्यमा फहिलो डेमोत्र्याट प्रत्याशीका रूपमा बाइडेन जितको नजिक छन् । चार वर्षअघि हिलारी क्लिन्टनविरुद्ध ट्रम्पको जितमा पेन्सलभेनियासहित विस्किन्सन र मिसिगनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८८ पछि पहिलोपटक रिपब्लिकन उम्मेदवारका रूपमा जित हासिल गरेका ट्रम्पले यसपटक विस्किन्सन र मिसिगनमा हारिसकेका छन् ।

कीर्तिमानी मतदान भएको यसपटकको निर्वाचनमा करिब १६ करोडले मतदान गरेका थिए । बाइडेनले करिब साढे सात करोडको कीर्तिमानी लोकप्रिय मत पाएका छन् । यो तथ्यांक बढ्ने देखिएको छ । कोभिड–१९ को मारलाई मध्यनजर गर्दै कीर्तिमानी दस करोड हाराहारी मत ‘अर्ली भोटिङ’ का रूपमा खसेको थियो । जसमा साढे ६ करोड हुलाकी मत थिए ।

पहिलो राष्ट्रपतीय बहसका अतिरिक्त अन्य अवसरमा राष्ट्रपति ट्रम्पले आफूअनुकूल नभए नतिजा नस्विकार्ने बताउँदै आएका थिए । हारको नजिक पुगेका ट्रम्पको धाँधली र नक्कली मतदाताको दाबी अर्थहीन रहेको विश्लेषकहरू बताउँछन् । उनको पार्टी पनि यस विषयमा मौन छ । जसले उनको कानुनी प्रक्रियालाई प्रभावित पार्नेछ । राष्ट्रपति ट्रम्प र उनको कानुनी टिमले केही राज्यको चुनावको सम्भावित परिणामलाई प्रभावित पार्ने नियतले रिट दायर गरिसकेका छन् ।

ट्रम्पले आफूअनुकूल रहेको अमेरिकी सर्वोच्च अदालतमा जाने धम्कीसमेत दिइसकेका छन् । तर सम्बन्धित राज्यको निर्वाचन बोर्डको लिखितबिना धाँधलीको आरोपले वैधानिक लडाइँको मान्यता पाउन गाह्रो हुने बताइएको छ । नतिजा एकभन्दा बढी राज्यमा बाइडेनको पक्षमा परेकाले ट्रम्पको दाबीले खासै असर नगर्ने कानुनी ज्ञाताहरू बताउँछन् । यसपटक निर्वाचन र मतदानको संरचनालाई कोभिड–१९ ले अत्यधिक प्रभावित गर्‍यो जसले गर्दा नतिजा घोषणामा ढिलाइ भएको हो । मतदानलाई सहज बनाउन यसपटक धेरै कानुनी प्रक्रियालाई परिमार्जन गरियो ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस र माथिल्लो सदन सिनेटको मतगणना जारी छ । तल्लो सदन हाऊसमा डेमोत्र्याटहरूले बहुमत कायमै राख्ने सम्भावना छ भने सिनेटमा दुवै पार्टीको कडा प्रतिस्पर्धा चलिरहेको छ । एक सय सिट रहेको सिनेटमा अहिलेको चरणमा दुवै पार्टीको समान ४८ सिट छ । यस नतिजाले बाइडेनको कार्यकाललाई प्रभाव पार्नेछ ।

प्रकाशित : कार्तिक २२, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?