१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन विजयी हुने सम्भावना बलियो

पेन्सलभेनिया, मिसिगन र जर्जियामा मतगणना स्थगनको माग गर्दै ट्रम्पको निर्वाचन अभियानद्वारा रिट
दिनेशजंंग शाह

न्युयोर्क — अमेरिकी इतिहासकै निकै प्रतिस्पर्धात्मक मानिएको यसपालिको राष्ट्रपतीय चुनावको परिणामको पर्खाइ तेस्रो दिनमा प्रवेश गरेको छ । पूर्वउपराष्ट्रपति जो बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निर्वाचन परिणाम घोषणाको निकट पुगेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन विजयी हुने सम्भावना बलियो

स्थानीय समयअनुसार बिहीबार रातिसम्ममा आगामी चारवर्षे नेतृत्वको स्पष्ट चित्र आउने अनुमान छ ।

जितका लागि निकै महत्त्वपूर्ण मानिएका मध्यपश्चिमी दुई ‘ब्याटलग्राउन्ड’ राज्य मिसिगन र विस्कन्सन आफ्नो पक्षमा पारेसँगै बाइडेन जितको निकै नजिक पुगेका छन् । तर हरेक मतको गणना नहुन्जेल स्थिति ‘तरबारको धारमा’ रहेको विश्लेषण पनि गरिँदै छ । ‘ब्याटलग्राउन्ड’ राज्यहरू एरिजोना, नेभादा, पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा मतगणना जारी छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिन्छ । बाइडेन एरिजोना र नेभाडा राज्यको मतगणनामा अगाडि छन् भने ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा अग्रता लिइरहेका छन् । सीएनएनका अनुसार बिहीबार बेलुकासम्म बाइडेनले २ सय ५३ र ट्रम्पले २ सय १३ इलेक्टोरल कलेज भोट आफ्नो पक्षमा पारेका छन् ।

समाचार संस्था एपीले भने एरिजोना पनि बाइडेनको पक्षमा जाने बताएको छ । एरिजोनाको १३ इलेक्टोरल भोट बाइडेनको पक्षमा जाने एपीको दाबी छ । एपीका अनुसार बाइडेन २ सय ६४ इलेक्टोरल भोटसहित जितको नजिक छन् भने राष्ट्रपति ट्रम्प २ सय १४ इलेक्टोरल भोटसहित पछ्याइरहेका छन् ।

सन् १९९६ मा बिल क्लिन्टनको जितपछि डेमोक्य्राट उम्मेदवारका रूपमा बाइडेन एरिजोना राज्यमा जितनजिक रहेको सीएनएननले उल्लेख गरेको छ  । त्यसैगरी, सन् १९९२ को क्लिन्टनको जितपछि कुनै उदारवादी उम्मेदवारले जित्न नसकेको रेड स्टेट जर्जियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिइरहेका छन् । विजयी घोषणा लम्बिँदै गर्दा निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउन पनि थालिएको छ । जर्जियामा राष्ट्रपति ट्रम्प करिब ३ हजार मतले मात्रै अगाडि रहेका छन् । अझै केही काउन्टीमा मतगणना जारी रहेकाले डेमोक्रेटिक उम्मेदवार बाइडेनले जर्जिया पनि जित्न सक्ने अनुमान गरिएको छ ।

विशेषगरी राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियान टोलीले केही राज्यको सम्भावित परिणामलाई प्रभावित पार्ने नियतले रिट दायर गरिसकेका छन् । समाचार संस्था एपीका अनुसार ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको दाबी गर्दै पेन्सलभेनिया, मिसिगन र जर्जियामा मतगणना स्थगित गर्नुपर्ने माग गर्दै रिट दायर गरेको हो । राष्ट्रपतिमा निर्वाचित हुन यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न जरुरी देखिएको छ । पछिल्ला मतगणनामा डेमोक्रेटिक पार्टीका जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो । उजुरीमा मतपत्र राखिएका स्थान र मतगणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिसिगनको एक मतगणना स्थलमा भने दुवै पक्षका प्रतिनिधिहरूको रोहबरमा गणना भइरहेको एपीले जनाएको छ । मिसिगनमा डेमोक्य्राटले जित हासिल गरेको जनाइएको छ । औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले आफूअनुकूल रहेको अमेरिकी सर्वोच्च अदालतमा जाने धम्कीसमेत दिइसकेका छन् । ट्रम्पका चुनावी उपव्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्योल बढाएको उल्लेख गर्दै यसको निरूपण अदालतबाट हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हुलाकबाट प्राप्त हुने मतपत्रमार्फत चुनावमा धाँधली हुने भन्दै आफू कानुनी बाटो रोज्न पछि नपर्ने बताएका छन् । ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मतगणनाका लागि आग्रह गरिनेसमेत जनाएको छ । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरे पनि कहाँ र कसरी धाँधली भयो भन्नेबारे उल्लेख गरेका छैनन् ।

यस पटक निर्वाचन र मतदानको संरचनालाई कोभिड–१९ ले अत्यधिक प्रभावित गर्दा परिणाम घोषणामा ढिलाइ भएको हो । कोभिड–१९ लाई ख्याल गर्दै मतदान सहज बनाउन धेरै कानुनी प्रक्रियालाई परिमार्जन गरियो । मतदानको तौरतरिकामा व्यापक फेरबदल गरियो । ब्याटलग्राउन्ड मानिएको पेन्सलभेनियामा शुक्रबारसम्म प्राप्त हुने मतलाई समेत मान्यता दिने गरी कानुन परिमार्जन गरिएको छ । चुनावी दिनमा खसेका मतको गणना विद्युतीय प्रविधिले केही घण्टामै गर्न सक्छ । तर हुलाकबाट प्रेषित करोडौं मतको गणनामा धेरै समय लागिरहेको छ ।

चार वर्षअघिको निर्वाचनमा ‘अर्ली भोटिङ’ अन्तर्गत साढे चार करोड हाराहारी मतदान भएको थियो । यस पटक यो तथ्यांक करिब दस करोड हाराहारी पुग्यो । जसमा साढे ६ करोड मत हुलाकबाट पठाइएको छ ।

प्रकाशित : कार्तिक २१, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?