१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ट्रम्प र बाइडेन दुवै पक्षधरद्वारा प्रदर्शन

एजेन्सी

वासिङ्टन — डेमोक्रयाट उम्मेदवार जो बाइडेनको पक्षमा पर्ने सम्भावना देखिएसँगै अमेरिकाका केही सहरहरूमा विरोध प्रदर्शन सुरु भएका छन् । कुनै स्थानमा ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गरेर प्रदर्शन गरेका छन् भने केही स्थानमा बाइडेनका समर्थकले मतगणना गर्न दबाब दिन प्रदर्शन गरेका छन् ।

ट्रम्प र बाइडेन दुवै पक्षधरद्वारा प्रदर्शन

एरिजोनाको मेरिकोपा काउन्टीमा मतगणना केन्द्रमा रिपब्लिकन पार्टीका समर्थकहरू जम्मा भएका बीबीसीले जनाएको छ । उक्त स्थानमा ट्रम्पलाई परेका मतहरू नगनिएको भन्ने खबर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनीहरू त्यहाँ जम्मा भएका हुन् । स्थिति असामान्य हुने आकलनसँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भए पनि मतगणना भने रोकिएको छैन ।

ओरिगन राज्यको पोर्टल्यान्डमा ट्रम्पविरोधी प्रदर्शन हिंसात्मक भएपछि नेसनल गार्ड परिचालन गरिएको जनाइएको छ । केही प्रदर्शनकारीहरू तोडफोडमा उत्रिएपछि थप सुरक्षा बल खटाइएको छ । मिनिसोटा राज्यको मिनियापोलसिमा प्रहरीले मुख्य सडकमा अवरोध गरेका दुई सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरू अधिकांश ट्रम्पविरोधी हुन् । त्यसैगरी, न्युयोर्क, फिलाडेल्फिया, सिकागोलगायत सहरमा पनि विरोध प्रदर्शन गरिएका छन् । मिसिगन राज्यको डेट्रोइट सहरमा ट्रम्प समर्थक प्रदर्शनकारीले मतगणना केन्द्रको झ्यालमा हान्दै मतगणना रोक्न माग गरेको जनाइएको छ । नेभाडा राज्यमा पनि बिहान पत्रकार सम्मेलनका क्रममा एक प्रदर्शनकारी क्यामेराका अगाडि आएर बाइडेनले निर्वाचनमा धाँधली गरेका र अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ढाकछोप गरेको आरोप लगाएका थिए ।

‘विदेशी चलखेल प्रमाण छैन’

अमेरिकी राष्ट्रपतीय चुनाव तथा मतगणनामा अहिलेसम्म विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन् ।

क्रिस्टोफर क्रेब्सले एक विज्ञप्ति जारी गर्दै ‘कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना परिवर्तन गर्ने क्षमताको प्रमाण’ नभएको पुष्टि गरेका हुन् । अमेरिकी जासुसी संस्थाहरूले सन् २०१६ को निर्वाचनमा रुसले चलखेल गर्न खोजेको निष्कर्ष निकालेका थिए । ‘हामी अहिले भइरहेको मतगणना र नतिजा प्रमाणीकरणसम्म कुनै बाधा नआओस् भनेर चनाखो रहनेछौं,’ क्रेब्सले भनेका छन् ।

बाइडेनले खोले संक्रमणकालीन वेबसाइट

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि नोभेम्बर ३ मा निर्वाचन भए पनि विजयी उम्मेदवारले जनवरी २० मा शपथग्रहण गर्छन् । निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपति निर्वाचित उम्मेदवारले ‘संक्रमणकालीन टोली’ बनाउने अभ्यास छ ।

यस वर्षको चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी छ । हालसम्म जो बाइडेन वा डोनाल्ड ट्रम्पमध्ये कोही पनि स्पष्ट विजेताका रूपमा अगाडि आएका छैनन् । आफू विजयतर्फ उन्मुख भएको भन्ने दुवै उम्मेदवारको दाबी छ ।

डेमोक्रयाट उम्मेदवार बाइडेनको टोलीले भने नयाँ वेबसाइट नै सुरु गरिसकेको छ । ‘अमेरिकाले महामारीदेखि आर्थिक मन्दी, जलवायु परिवर्तनदेखि जातीय अन्यायको गम्भीर संकट सामना गरिरहेको छ । संक्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको छ । जसले गर्दा बाइडेन–ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस्,’ वेबसाइटमा भनिएको छ ।

प्रकाशित : कार्तिक २१, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?