बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए

सन् २००८ मा ओबामाले प्राप्त गरेको भन्दा बढी मत बाइडेनलाई
इकान्तिपुर डेस्क

काठमाडौँ — डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।

फाइल फोटो : रोयटर्स

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् ।

केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ ।

लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ ।ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् । यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको पनि बताइएको छ । त्यस्तै सन् २००८ मा भन्दा यस पटक अमेरिकाको जनसंख्या पनि बढेको छ ।

सन् २००८ मा ३० करोड ४० लाख रहेको अमेरिकाको जनसंख्या सन् २०२० मा ३३ करोड पुगेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यस पटक करिब १६ करोड अमेरिकी नागरिकले मतदान गरेको बताइएको छ । जसअनुसार मतदान गर्न योग्य अमेरिकी नागरिकमध्ये ६७ प्रतिशत यस पटक मतदानमा सहभागी भएका छन् । यसअघि सन् १९०८ मा ६५ प्रतिशत मत खसेको थियो ।

ताजा अवस्थामा डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् । पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादामा मतगणना जारी नै रहेको छ । यीमध्ये केही राज्यलाई ‘ब्याटलग्राउन्ड’ राज्य मानिएको छ ।

नेभादाबाहेक सबै राज्यमा ट्रम्पले अग्रता लिएका छन् । कुल ६ इलेक्टोरल भोट रहेको नेभादा जितेमा बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने लगभग निश्चित हुनेछ । त्यस्तै जर्जियामा अझै ९० हजार जति मत गन्न बाँकी रहेकाले त्यहाँ पनि बाइडेनले जित्न सक्ने डेमोक्रेटिक पार्टीले दाबी गरेको छ । ट्रम्पले भने बाइडेनलाई हराउन मतगणना जारी रहेका सबै राज्य जित्नुपर्ने आवश्यक देखिएको छ ।

प्रकाशित : कार्तिक २०, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

कोरलामा बीओपी भवनको शिलान्यास

घनश्याम खड्का

म्याग्दी — चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास भएको छ । ६ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने भवनको बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गरेका हुन् ।

कोरला नाकामा चीनले निर्माण गरेको भन्सार कार्यालय ।तस्बिर : कान्तिपुर

‘कोरला नाका नजिकै बीओपी रहने भवनको शिलान्यास भएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले भनिन्, ‘सशस्त्र प्रहरी बलका नाममा जग्गा प्राप्त भएलगत्तै बीओपीका लागि स्थायी संरचना निर्माण सुरु भएको हो । सशस्त्र प्रहरीको उपस्थितिले कोरला नाकाबाट हुन सक्ने सबैखाले अवाञ्छित गतिविधि नियन्त्रण हुनेछ ।’

सरकारले गत जेठ १६ मा कोरला नाकादेखि १२ किलोमिटर तल लोमन्थाङ गाउँपालिका–१ छोसेरको नेचुङस्थित भन्सार तथा क्वारेन्टाइन कार्यालय भवनमा दुई कोठा छोडेर बाँकी कोठामा बीओपी स्थापना गरेको थियो । यहाँ यसअघि नै नेपाल प्रहरीको भने उपस्थिति रहँदै आएको छ ।

नेपालको चीनसँग मुस्ताङमा मात्रै १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ । यो खण्डमा १८–३३ सम्मका १६ वटा सीमास्तम्भ छन् । नेचुङमा रहने उक्त बीओपी स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना सशस्त्र प्रहरी खटाइएको छ । सरकारले भारत र चीनसँग सीमा जोडिएका १ सय २२ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ ।

गत वैशाख ३१ मा भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्र नजिकै पर्ने व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरीको १०७ औं बीओपी स्थापना गरेलगत्तै चीन सीमावर्ती कोरलामा पनि बीओपी राखेको हो ।

यसअघि २०६६ फागुनमा चीनले उपल्लो मुस्ताङमा चीन विरोधी गतिविधि बढेको गुनासो गरेपछि सरकारले चण्डिका सशस्त्र प्रहरी गण पर्वतबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४६ जनाको टोली नेचुङमा सीमासुरक्षा पोस्ट खडा गर्न खटाएको थियो  । तर पर्वतबाट नेचुङमा सीमा सुरक्षार्थ जानुपर्ने टोली बाक्लो हिमपातले हिँड्न नसकेको कारण देखाई जोमसोमस्थित कभर्ड हलमा बसेको थियो ।

नेपाली पक्षले सीमासुरक्षा पोस्ट स्थापना गरेको बताए पनि व्यवहारमा कार्यान्वयन नगरिएपछि चीनले कोरला नाकामा काँडेतार लगाएको थियो ।

प्रकाशित : कार्तिक २०, २०७७ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×