कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘ब्याटलग्राउन्ड’ राज्य मिसिगनमा बाइडेनको जित

धाँधली भएको भन्दै अदालत जाने ट्रम्पको चेतावनी
दिनेशजंंग शाह

न्युयोर्क — अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको छ । सर्वेक्षणहरूको अनुमानविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले छिनोफानो हुने स्पष्ट भएको छ । 

‘ब्याटलग्राउन्ड’ राज्य मिसिगनमा बाइडेनको जित

नतिजाका लागि भने अझै केही दिन पर्खनुपर्ने देखिएको छ । विगतभन्दा पृथक् मानिएको ‘अर्ली भोटिङ’ का कारण नतिजाको पर्खाइ लम्बिने भएको हो । मतपेटिका आउने क्रमसँगै मतगणना जारी छ ।

ट्रम्पले मतदानको तौरतरिकाको आलोचना गर्दै आफूले अग्रता लिइरहेका राज्यहरूको बाँकी मतगणना नगर्न माग गरेका छन् । मतगणना जारी रहँदै ट्रम्पले आफ्नो विजयको उद्घोष मात्र गरेनन्, चुनावमा धाँधली भएको भनी मतगणनाको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतको ढोका ढकढक्याउने संकेत पनि गरे । उनले चुनावमा भएको धाँधलीबारे प्रमाण भने सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । २० वर्षअघिको जर्ज डब्लू बुस र एल गोरबीचको प्रतिस्पर्धामा फ्लोरिडामा ५ सय ३७ मतको झिनो अन्तरको मतगणनामा विवाद भएको थियो । त्यतिबेला अमेरिकी सर्वोच्च अदालतले बुसको पक्षमा निर्णय गरेको थियो ।

डेमोक्रयाट प्रत्याशी बाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिनेमा एक दर्जन ‘ब्याटलग्राउन्ड’ राज्यमध्ये ५ निकै प्रतिस्पर्धा चलिरहेको छ ।

पेन्सलभेनिया, विस्किन्सन, जर्जिया, नेभाडा, एरिजोना र नर्थ क्लारोलिनामा दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ । यी राज्यमा ६८ इलेक्टोरल कलेज भोट छ । एरिजोना, नेभाडा, विस्किन्सनमा बाइडेनको झिनो अग्रता छ । पेन्सिलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा ट्रम्प थोरै मतले अगाडि छन् । जर्जियामा पनि बाइडेनले ट्रम्पसँगको अग्रता घटाउँदै लगेका छन् । जर्जियामा ट्रम्प करिब ४७ हजार मतले अगाडि रहेका छन् । फुल्टन काउन्टीको करिब ३६ हजार मतको नतिजा आजै आउने बताइएको छ । जसमा ७२ प्रतिशतसम्म मत बाइडेनको पक्षमा गएको अनुमान गरिएको छ ।

‘ब्याटलग्राउन्ड’राज्य मानिएको मिसिगनमा जित हात पारेपछि डेमोक्रयाटहरु आफूहरुले जित्जेमा ढुक्क छन् । मिसिगनमा १६ इलेक्टोरल भोट रहेको छ । नेपाली समयअनुसार बिहीबार बिहानसम्म बाइडेन २ सय ६४ को स्थितिमा छन् भने ट्रम्पले २ सय १४ ले पछ्याइरहेका छन् । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित हुनका लागि बाइडेनलाई केवल ६ इलेक्टोरल भोटको आवश्यकता देखिएको समाचार संस्था एपीले जनाएको छ । त्यसका लागि उनले अब एउटा राज्यमा जित हात पारे हुन्छ ।

अमेरिकी राष्ट्रपतिका लागि मंगलबार प्रत्यक्ष चुनाव भएको थियो । करिब १० करोड मतदाताले त्यसअघि नै मत खसालेका थिए । त्योमध्ये करिब साढे ६ करोड मत हुलाकमार्फत खसाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड–१९ महामारीका कारण पनि विगतको तुलनामा यस पटक निकै धेरै मतदाताले हुलाकमार्फत मत खसालेका हुन् ।

मतदाताको हस्ताक्षर र ठेगाना रुजु गर्नुपर्ने भएकाले पनि हुलाकमार्फत पठाइएका मतपत्र गन्न समय लाग्ने गर्छ । फ्लोरिडालगायत केही राज्यले केही साताअघि नै त्यस्तो मतदान सुरु गरेका थिए । फ्लोरिडामा ट्रम्पको पक्षमा परिणाम आइसकेको छ । सात ‘ब्याटलग्राउन्ड’ राज्यमा उल्लेख्य ‘अर्ली भोटिङ’ को मतगणना गर्न बाँकी रहेकाले परिणामबारे अनुमान लगाउन सकिने स्थिति छैन । पेन्सिलभेनिया, विस्किन्सन र जर्जियाका सहरी क्षेत्रको मतगणना बाँकी रहेकाले बाइडेन पक्ष निकै आशावादी देखिएको छ । मत सर्वेक्षणहरूले अर्ली भोटिङले डेमोक्रयाट्सलाई फाइदा गर्ने देखाएका थिए ।

ओझेलमा पर्‍यो कोभिड मुद्दा

२ लाख ३० हजारभन्दा बढी अमेरिकीको मृत्यु भएकाले कोभिड–१९ यस पटक चुनावको जल्दोबल्दो एजेन्डा ठानिएको थियो । तर चुनावी दिनको रौनकले अमेरिकी जनतामा अर्थतन्त्रको चिन्ता ज्यादा देखिएको विश्लेषकहरू दाबी गर्छन् ।

नतिजाको अन्तर ठूलो हुने सर्वेक्षण एवं सञ्चारमाध्यमको दाबीविपरीत तीव्र प्रतिस्पर्धा हुनुले हरेक एजेन्डामा अमेरिकी समाजको तीव्र विभाजनलाई फेरि एकपटक छर्लंग पारेको छ । कोभिड–१९ का कारण ठप्प रहेको अमेरिकी अर्थतन्त्र ओरालो लागेको छ । लाखौंले रोजगारी गुमाएका छन् ।

त्यसका साथै श्वेत समुदायलाई रिझाउने रणनीतिका कारण चुनावमा ट्रम्पको नश्लवादको एजेन्डाले प्रभाव पारेको देखिएको छ । चार वर्षअघि झैं यसपटक पनि ग्रामीण क्षेत्रमा ट्रम्पले उल्लेख्य मत पाएका छन् भने बाइडेनले सहरी क्षेत्रमा पकड जमाएको प्रस्ट भएको छ । तर अझै लाखौं मतको गणना बाँकी छ ।

प्रकाशित : कार्तिक २०, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?