टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ११६ पुग्यो

(एजेन्सी)

इस्तानबुल — टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय १६ पुगेको छ ।

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ११६ पुग्यो

टर्किस अधिकारीहरुले भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको पुष्टि गर्दै अन्तिम चरणको उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन् । मृत्यु हुनेमा २ जना ग्रिसका नागरिक छन् । भूकम्पका कारण १ हजार ३५ जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । घाइतेमध्ये १ सय ३७ जनाको अस्पतालमा उपचार भइरहेको छ । कार्यालयका अनुसार अझै केही मानिस बेपत्ता छन् ।

भूकम्पपछि भत्केका करिब २० वटा भवनहरूमा मानिस फसेको आंशकामा खोजी तथा उद्धार कार्य भइरहेको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले खोजी तथा उद्धार कार्य भइरहेको जनाउँदै अन्तिम क्षणसम्म पनि सरकार क्रियाशील रहने बताएका छन् । उद्धारकर्ताहरुले भूकम्प गएको ९० घण्टापछि भग्नावशेषबाट एक ३ वर्षीया बालिकालाई जीवितै उद्धार गरेका थिए ।

टर्कीको इज्मिर सहरमा शुक्रबार राति ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी देशहरूमा पनि महसुस गरिएको थियो । अधिकारीहरुका अनुसार भूकम्पपछि १ हजार ७ सयवटा परकम्प महसुस गरिसकिएको छ । तीमध्ये करिब ४ दर्जन चार म्याग्निच्युडका हुन् ।

प्रकाशित : कार्तिक १९, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?