अमेरिकी चुनावको नतिजा आउन सुरु : कतै बाइडेन, कतै ट्रम्प अगाडि

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती मतपरिणाम आउन थालेको छ । यस पटकको निर्वाचनमा अत्यन्त धेरै मत खसेको पनि बताइएको छ ।

अमेरिकी चुनावको नतिजा आउन सुरु : कतै बाइडेन, कतै ट्रम्प अगाडि

यस पटक गत सय वर्षमा सबैभन्दा बढी संख्यामा मतदान भएको बताइएको छ । यसपटक करिब १० करोड अमेरिकी नागरिकले यसअघि नै अनलाइन तथा विभिन्न माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आजै नआउने बताइएको छ । सुरुवाती मतपरिणामअनुसार कुनै राज्यमा डेमोक्रयाट उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन् भने कुनै राज्यमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई उथलपुथल पार्न सक्ने राज्य मानिएको फ्लोरिडामा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै सुरुवाती मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्टकी, वेस्ट भर्जिनिया, ओक्लाहामालगायतका केही राज्यमा जित हात पार्ने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । त्यस्तै प्रतिस्पर्धी बाइडेनले मेरिल्यान्ड, न्युयोर्क, न्युजर्सी, म्यासाच्युसेट्सलगायतका केही राज्यमा जित हात पार्न सक्ने संकेत देखिएको अमेरिकी सञ्‍चारमाध्यमले जनाएको छ ।

सुरुवाती मतगणनाअनुसार ट्रम्पभन्दा बाइडेन केही इलेक्टोरल कलेजमा अगाडि देखिएका छन् । समाचार संस्था एपीका अनुसार बाइडेन १३१ इलेक्टोरल कलेजमा अगाडि रहँदा ट्रम्प १०८ इलेक्टोरल कलेजमा अगाडि देखिन्छन् । त्यस्तै बीबीसीले भने बाइडेनले ११८ इलेक्टोरल कलेज मत प्राप्त गर्दा ट्रम्पले ९९ मत प्राप्त गरेको उल्लेख गरेको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्छ । अमेरिकामा इलेक्टोरल कलेजका माध्यमबाट ५३८ इलेक्टर्स (प्रतिनिधि) चुनिन्छ । यिनै इलेक्टर्सले नै अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति को बन्ने भन्ने कुराको छिनोफानो लगाउँछन् । जुन उम्मेदवारले इलेक्टोरल मतमा बहुमत प्राप्त गर्छन् त्यही उम्मेदवार अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ५३८ इलेक्टरस्मा ४३५ हाउस अफ रिप्रेजेन्टेटिभ्स, १०० जना सिनेटर र तीन जना डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टर्स हुनेछन् ।

कोलोराडोमा बाइडेनले जित्ने सम्भावना

'स्विङ स्टेट' मानिएको कोलोराडोमा डेमोक्रयाट उम्मेदवार जो बाइडेनले जित्ने सम्भावना रहेको बीबीसीले बताएको छ । अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई प्रभावित पार्न सक्ने राज्य मानिएको कोलोराडोमा सन् २०१६ को चुनावमा पनि डेमोक्रयाट उम्मेदवार हिलारी क्लिन्टनले जितेकी थिइन् । त्यसअघि बाराक ओबामाले उक्त राज्यमा दुई पटक जितेका थिए । त्त्यसअघि ४० वर्षसम्म भने कोलोराडोमा रिपब्लिकन पार्टीको वर्चस्व रहेको थियो ।

चरम ध्रुवीकरण

उदार र अनुदारबीचको प्रतिस्पर्धा मानिएको यो निर्वाचनलाई अमेरिकी इतिहासमै निकै पृथक् मानिएको छ । अमेरिकामा मात्र नभएर संसारकै अत्यधिक चासो अडिएको छ। पृथक् हुनुमा यो निर्वाचनसँग विविध आयामहरू जोडिएका छन् । कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु यो चुनावको जल्दोबल्दो एजेन्डा हो । विश्वको ठूलो अर्थतन्त्रमा लाखौंको बेरोजगारी एवं ठप्प अर्थतन्त्र अर्को महत्त्वपूर्ण विषय हो ।

चर्को एवं स्पष्ट विभाजित अमेरिकी राजनीतिमा यस पटक दशकौंपछि नश्लवादले खुलेआम प्रवेश पाएको छ । अमेरिकी नश्लवादको डरलाग्दो वकालत एवं चुनावी नतिजाबारे सम्भावित न्यायालय प्रवेशको विषयले पनि यो निर्वाचनलाई फरक बनाएको छ । राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको विषयमा दिएको अभिव्यक्तिले पनि देखाउँछ, यो पृथक् चुनाव हो ।

प्रकाशित : कार्तिक १९, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?