अमेरिकी चुनाव : उदार र अनुदारबीचको प्रतिस्पर्धा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी चुनाव : उदार र अनुदारबीचको प्रतिस्पर्धा

अमेरिकी राजनीतिमा दशकौंपछि नश्लवादको खुलेआम प्रवेश, कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु मुख्य एजेन्डा
दिनेशजंंग शाह

न्युयोर्क — ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पूर्वउपराष्ट्रपति जो बाइडेनबीच चुनावी रस्साकसी अन्तिम चरणमा पुगेको छ । झन्डै २३ करोड मतदाता रहेको महाशक्ति अमेरिकामा चुनावी प्रतिस्पर्धा र नतिजाका लागि निर्णायक मानिने झन्डै एक दर्जन राज्यहरूमा केन्द्रित छ । करोडौं डलरको विज्ञापनदेखि चुनावी अभियान यिनै राज्यमा केन्द्रित छ ।

उदार र अनुदारबीचको यो निर्वाचनलाई अमेरिकी इतिहासमै निकै पृथक् मानिएको छ । अमेरिकामा मात्र नभएर संसारकै अत्यधिक चासो अडिएको छ । पृथक् हुनुमा यो निर्वाचनसँग विविध आयामहरू जोडिएका छन् । कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु यो चुनावको जल्दोबल्दो एजेन्डा हो । विश्वको ठूलो अर्थतन्त्रमा लाखौंको बेरोजगारी एवं ठप्प अर्थतन्त्र अर्को महत्त्वपूर्ण विषय हो ।

चर्को एवं स्पष्ट विभाजित अमेरिकी राजनीतिमा यस पटक दशकौंपछि नश्लवादले खुलेआम प्रवेश पाएको छ । अमेरिकी नश्लवादको डरलाग्दो वकालत एवं चुनावी नतिजाबारे सम्भावित न्यायालय प्रवेशको विषयले पनि यो निर्वाचनलाई फरक बनाएको छ । राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको विषयमा दिएको अभिव्यक्तिले पनि देखाउँछ, यो पृथक् चुनाव हो । उम्मेदवारबीच चरम ध्रुवीकरण छ । एउटा उम्मेदवार अतिवाद निर्देशित, अर्को मध्यममार्गी । यही पृथकता एवं चासोलाई चुनावी दिन अघि नै उर्लिएको करोडौं संख्याको मतदानले पुष्टि गर्छ ।

दस करोडभन्दा बढी अमेरिकीले चुनावी दिन अघि नै मतदान गरेका छन्, जुन अघिल्लो निर्वाचनमा खसेको मतको दुई तिहाइ मत हो । यसै आधारमा पनि यो निर्वाचनमा कीर्तिमानी मत खस्ने आकलन छ । विश्वकै शक्तिशाली प्रजातन्त्रका रूपमा प्रचारित अमेरिकामा मतदानको इतिहास त्यस्तो उत्साहित पार्ने खालको भने छैन । औसतमा अमेरिकी राष्ट्रपति निर्वाचनमा ५० देखि ६० प्रतिशत मत खस्छ ।

जुन विकासोन्मुख देशहरूको तुलनामा कम हो । तथ्यांकहरूमा १९ औं शताब्दीको तुलनामा बीसौं शताब्दीमा मतदाताको सक्रियता घट्दै गएको देखिन्छ । २१ औं शताब्दीमा पहिलो अश्वेत बाराक ओबामालाई निर्वाचित गर्ने क्रममा मतदाताहरूको उत्साह उल्लेखनीय थियो ।

मतदानबारे अमेरिकी विगतको एउटा स्पष्ट चित्र छ, आन्तरिक झमेलाको समयमा मतदानमा उल्लेखनीय वृद्धि हुन्छ । अश्वेतहरूलाई मतदान प्रक्रियामा ल्याएको समय अर्थात् गृहयुद्धपछिको अमेरिकामा (सन १८७० ताका) कीर्तिमानी मतदान भएको थियो ।

यसपटकको उर्लंदो ‘अर्ली भोटिङ’ ले निर्वाचनलाई ऐतिहासिक बनाएको छ । स्पष्ट छ, यो निर्वाचन धेरै हदसम्म विभाजनको चपेटामा छ । ट्रम्प र उनको अनुदार रिपब्लिकन पार्टीले नश्लवादको एजेन्डालाई उठान गरेको छ । उनीहरूको भाषामा ‘यो देश श्वेत देश हो ।’ ट्रम्पले प्रायः आफूलाई अब्राहम लिंकनको उत्तराधिकारीको रूपमा प्रचार गर्छन् । आफ्नो कार्यकालमा भएका हरेक क्रियाकलापलाई लिंकनसँग जोड्ने ट्रम्पको आधार विभाजित राजनीति हो । स्मरण रहोस्, लिंकनको पालाको रिपब्लिकन पार्टी, अश्वेतहरूको हक–अधिकारको पक्षमा उभिएको थियो तर कालान्तरमा यो पार्टीको आधार श्वेत अमेरिका हुन पुग्यो ।

पछिल्ला अमेरिकी निर्वाचनलाई नियाल्ने हो भने अनुदारवादी उम्मेदवारले प्रायःजसो ६० देखि ६५ प्रतिशत श्वेत मत हासिल गर्छ । ट्रम्पको स्पष्ट रणनीति छ, श्वेतलाई रिझाएर जित्ने । त्यसैले उनी, मूलधारका मिडिया, राजनीतिक विश्लेषक एवं प्रदर्शनकारीलाई ‘फेक’ भन्छन् । अल्पसंख्यकलाई निसाना साध्छन् । आफ्नो पक्षमा अमेरिकी गुमनाम मतदाता रहेको तर्क गर्ने ट्रम्प धेरै हदसम्म रिचर्ड निक्सनबाट प्रभावित छन् । सन् १९६९ ताका, भियतनाम युद्धको विरोधमा लाखौं अमेरिकीहरू सडकमा उर्लेपछि निक्सन भन्थे, ‘हामी यो लडाईं जित्ने छौं । जनताको दुश्मन मिडियाले उचालेका यी आन्दोलनलाई मत्थर पार्न, मलाई मेरो गुमनाम मतदाताको समर्थन र सहयोग चाहियो ।’ उनको स्पष्ट संकेत, ग्रामीण श्वेत मतदातालाई थियो ।

तर सन् १९७० र अहिलेको धेरै बदलाब छ । अल्पसंख्यकको जनसंख्यामा उल्लेखनीय बढावा भएको छ भने ट्रम्पको दाबीविपरीत अश्वेत एवं अल्पसंख्यकको हक अधिकार एवं सुरक्षासम्बन्धी प्रदर्शनमा अधिकांश अमेरिकीको सर्मथन रहेको सर्वेक्षणले देखाउँछ । विश्लेषकहरूको भनाइमा मिनियापोलिसमा प्रहरीको ज्यादतीले मारिएका जर्ज फ्लोयडको विरोधमा अमेरिकामा भएको प्रदर्शन सन् १९६० को सिलिभ राइट्स मुभमेन्ट र भियतनाम युद्धताकाको प्रदर्शनपछिको ठूलो हो । यो निर्वाचनले प्रदर्शनकारीको त्यो एजेन्डा बोकेको छ, अमेरिका श्वेत मात्रको देश हो कि सबैको ?

यो निर्वाचनको मुख्य एजेन्डा भने कोभिडको मार नै हो । ट्रम्प प्रशासनको लापरबाही र ठूलो मानवीय क्षतिको पृष्ठभूमिमा यो विषय ब्यालेटमा छ । विज्ञानको उपलब्धि एवं अनुसन्धानलाई चुनौती दिँदै आएको अमेरिकी राजनीतिबारे यो निर्वाचनले छिनोफानो गर्नेछ । ‘पहिलो अमेरिका’ भन्ने ट्रम्प नीतिकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकी नेतृत्वको ओझेललाई पनि यो निर्वाचनले स्पष्ट पार्नेछ । यद्यपि युद्धखाले परिस्थितिबाहेक घरेलु एजेन्डाको तुलनामा विदेश नीतिहरू निर्वाचनमा फितला हुने गर्छन् ।

आफ्नो झन्डै पाँच दशकको राजनीतिक जीवनमा राष्ट्रपति बन्न तेस्रो पटक प्रयास गरिरहेका डेमोक््रयाट बाइडेनले मध्यमार्गी राजनीतिको अवलम्बन गर्ने प्रयास गरिरहेका छन । ३२ वर्षअघि नै बाइडेनले राष्ट्रपति बन्ने अभियान गरेका थिए । बेलायती नेताको भाषण चोरीको आरोप लागेपछि पछि हटेका उनी अमेरिकी राजनीतिका निकै अनुभवी मानिन्छन् । यसपटकको निर्वाचनमा बाइडेनको मध्यमार्गी राजनीतिले बाजी मार्छ कि ट्रम्प श्वेत अतिवादले ? केही समय पर्खनैपर्छ ।

प्रकाशित : कार्तिक १९, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी राष्ट्रपतीय चुनाव : सर्वेक्षणले देखाएझैं बाइडेनले ट्रम्पलाई जित्लान् त ?

दिनेशजंंग शाह

न्युयोर्क — सन् २०१६ । नोभेम्बर ९ । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना तीव्र गतिमा हुँदै थियो । चुनावी नतिजाको पखाई, चासो र चिन्ता अत्यधिक थियो । यसैक्रममा बिहान दुई बजेर २९ मिनेटमा एसोसिएट प्रेस (एपी) ले समाचार ‘ब्रेकिङ’ गर्‍यो  -‘विस्कन्सिन राज्यमा डोनाल्ड जोन ट्रम्प विजयी । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित ।’

यो समाचार ब्रेक हुँदासमेत न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा हिलारी क्लिन्टनको चुनाव जित्ने सम्भावना ८४ प्रतिशत रहेको उल्लेख थियो । चुनावी दिन, नोभेम्बर ८ को न्युयोर्क टाइम्सको प्रिन्ट संस्करणको पहिलो पेजमै लेखिएको थियो, ‘ट्रम्पको जित्ने सम्भावना १५ प्रतिशत । ’

धेरै समाचार एजेन्सी एवं सर्वेक्षेणअनुकुल नतिजा आएको थिएन । त्यो नतिजा धेरैका लागि अप्रत्यासित र अपत्यारिलो मात्र नभएर स्तब्ध पार्ने खालको थियो । त्यो परिणामले अमेरिकी निर्वाचनको इतिहासमै धेरै हदसम्म मिडिया र सर्वेक्षणहरुको विश्वसनीयता एवम वैधानिकतामाथि प्रश्न उठ्यो । सर्वेक्षणको प्रक्रियामा गम्भीर त्रुटि भएको हुनसक्ने आकलन गरियो । सर्वेक्षणमा सहभागी भएकाले झुट बोलेको हुनसक्ने बताइयो । स्पष्ट पक्ष के भने, सर्वेक्षणको नमुना संकलन गलत भयो । र त्यही परिदृश्यमा, अहिलेको अमेरिकी निर्वाचन हुँदैछ । विकसित देशहरुमा निर्वाचन सर्वेक्षणको लामो इतिहास छ ।

यद्यपि अमेरिकामा सन १९३० को मध्यदेखि योजनाबद्ध सर्वेक्षणहरु भएको पाइन्छ । एकाध रुपमा सर्वेक्षणहरु असफल भए पनि, प्राय: सर्वेक्षणहरु सही नै हुन्छन् भन्ने आम मान्यता छ । तर पनि ट्रम्पको त्यो जितले, यसपटकको सर्वेक्षणको विश्वसनीयतामाथि शंका उत्पन्न गराएको स्पष्ट छ । त्यसैले पनि सन २०१६ को तुलनामा यसपटकको निर्वाचनको सम्भावित परिणामबारे विश्लेषकहरु अलि हच्चिएका छन् ।

यस पटकका धेरै सर्वेक्षणमा सत्तासीन राष्ट्रपति ट्रम्प, डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनभन्दा ८ देखि १० प्रतिशतको अन्तरले पछाडि छन् । जुन चार वर्षअघि हिलारी क्लिन्टनको पालामा गरिएको आकलनभन्दा फराकिलो अन्तर हो । त्यति बेला हिलारीले ४ देखि ५ प्रतिशत बढी मत ल्याएर विजयी हुने आकलन गरिएको थियो । निर्वाचनलाई नतिजालाई उलट पुलट पार्ने भनिएका एक दर्जन राज्यमध्ये १० राज्यमा बाइडेन ट्रम्पभन्दा अगाडि देखिएको सर्वेक्षणमा उल्लेख छ । त्यसैले पनि एकथरि विश्लेषकहरु ढुक्क छन् । तर आमधारणा भन्ने ढुलमुले नै छ ।

अमेरिकी इतिहासमा, सन् २०१६ को निर्वाचन बाहेक, एउटा अर्को निर्वाचन पनि छ, जसले सर्वेक्षणको वैधानिकतामाथि प्रश्न उठाएको थियो । त्यो हो, सन १९४८ को अमेरिकी राष्ट्रपति निर्वाचन । सबै सर्वेक्षण मात्र होइन, सबैभन्दा विश्वासिलो मानिएका पोलस्टर जर्ज गलअपले लेख्यो, ‘सत्तासीन राष्ट्रपति ह्यारी ट्रुम्यानले जित्ने सम्भावना १० प्रतिशत । रिपब्लिकन उम्मेदबार थोमस डबिएको जित निश्चित । तर नतिजा ठिक उल्टो भयो । डेमोक्रयाट् ह्यारी ट्रुम्यानले सानदार जित हासिल गरे ।

यो बाहेक, सन १९८० को जिम्मी कार्टर र रोनाल्ड रेगनको निर्वाचनमा पनि अधिंकाश सर्वेक्षणहरुले रेगनले एकदेखि दुई प्रतिशतको झिनो अन्तरले जित्ने आकलन गरेका थिए । तर अनुमानविपरीत रेगनले ठूलो अन्तरले जिते ।

प्राय: अमेरिकामा सर्वेक्षणहरु मिडिया र विश्वविद्यालयका रिसर्च विभागले संयुक्त रुपमा गर्ने गर्छन् । फोन र अनलाइनका माध्यमबाट दुई सयदेखि एक हजारसम्मको संख्या छनोट गरिन्छ । जति धेरै संख्या, त्यति नै सर्वेक्षण विश्वसनीय हुने विश्वास गरिन्छ ।

चार वर्षअघिको सर्वेक्षणहरु किन गलत भन्ने विश्लेषणमा मूलत: एउटै निष्कर्ष निक्लिएको थियो । त्यतिबेला अधिंकाश सर्वेक्षणहरु, राज्यहरुको नतिजाभन्दा बढी राष्ट्रिय रुपमा केन्द्रित भएको बताइएको थियो । त्यतिबेला सर्वेक्षणलाई बढी नै सामान्यीकरण गरिएको बताइन्छ । हिलारी क्लिन्टनले पाएको लोकप्रिय मतलाई सर्वेक्षणले सही साबित गरे पनि, रणभूमि राज्यहरुको नतिजामा उनीहरु चुके । जसले नतिजालाई निर्धारण गर्छ । अर्को महत्वपूर्ण पक्ष, मतदानको अन्तिम दिन, ट्रम्पका सर्मथकहरुको उर्लंदो भेललाई सर्वेक्षणहरुले नजरअन्दाज गरे । लस एन्जलस टाइम्स र साउदर्न क्यालिफोर्निया विश्वविद्यालयको सर्वेक्षणले मात्र ट्रम्पले जित्ने अनुमान गरेका थियो ।

यो परिदृश्यमा सर्वेक्षणहरु सही हुन्छन् कि हुँदैनन् भन्न निकै कठिन छ । तर पनि विगतका गल्तीप्रति अहिलेका सर्वेक्षण संवेदनशील रहेको बताइएको छ । अर्कोतर्फ सर्वेक्षणको दौरान, अर्ली भोटिङको क्रम निकै उर्लंदो छ । निर्वाचनका दिनसम्म यो संख्या एक सय मिलियन अर्थात १० करोडको पुग्ने अनुमान छ । विगतको इतिहासले भन्छ, जति धेरै मतदान, उति धेरै फाइदा, उदारवादीहरुलाई । जति थोरै, त्यति नै अनुदारवादीलाई अनुकूल ।

जे होस् यस पटक बाइडेनले जित्छन् कि ट्रम्पले । यसका लागि कम्तीमा अझै दुई साता पर्खनुपर्ने देखिन्छ । यसपटक पहिलेजस्तो निर्वाचनकै दिनको भोलिपल्ट नतिजा आउने छैन । हुलाकी मतदानले गणना प्रक्रियालाई केही दिन लम्ब्याउने छ ।

प्रकाशित : कार्तिक ११, २०७७ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×