मालीमा ५० इस्लामिक विद्रोही मारिए

एपी

पेरिस — पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकु मारिएका छन् ।

फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकुबाट हातहतियार र उपकरण बरामद गरेकोसमेत जनाइन् । उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकुहरू मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको पार्लीले जनाएकी छन् । उनका अनुसार उक्त क्षेत्रमा सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सका एक वरिष्ठ सैनिक अधिकारीले बताएका छन् । फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेकी थिइन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्तासमेत गरेकी थिइन् ।

गत अगस्टमा सैनिक बलमा तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएयता माली भ्रमणमा पुगेकी रक्षामन्त्री पार्लीले जतिसक्दो चाँडो निर्वाचन गर्न संक्रमणकालीन सरकारसमक्ष आग्रह गरेकी छन् । मालीमा विद्रोहीलाई परास्त गर्न हजारौं फ्रान्सेली सैनिक तैनाथ छन् ।

प्रकाशित : कार्तिक १८, २०७७ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?