कोरोना भाइरस नियन्त्रणमा अस्ट्रेलियाली चार सूत्र

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समय युरोपका कतिपय देशमा कोभिड–१९ संक्रमणको दोस्रो लहरका कारण पुनः लकडाउन गरिएको छ । तर यसअघि नै संक्रमणको दोस्रो लहर सामना गरेको अस्ट्रेलिया भने भाइरसबाट मुक्त बन्ने तरखरमा छ ।

कोरोना भाइरस नियन्त्रणमा अस्ट्रेलियाली चार सूत्र

दैनिक १५ भन्दा कम नयाँ संक्रमण देखिइरहेको अस्ट्रेलियाले भाइरस नियन्त्रणका लागि अपनाएका चार सूत्रले प्रभावकारी भूमिका निभाएको विश्लेषण गरिएको छ ।

गत फेब्रुअरीदेखि अस्ट्रेलियामा कोभिड–१९ को संक्रमणले तीव्रता लिएको थियो । त्यसलगत्तै आफ्ना सिमाना बन्द गरेर, आवतजावतमा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले त्यसको करिब ८ महिनापछि पहिलोपल्ट न्युजिल्यान्डसँगको आफ्नो सिमानालाई आंशिक रूपमा खुला गर्न सफल बनेको छ । ६ राज्य तथा दुई टेरिटोरीमा तुलनात्मक रूपले संक्रमण दर बढेपछि अन्तरराज्य सीमा प्रतिबन्धसमेत भिक्टोरियाबाहेकका प्रायः सबै राज्यहरूसँग सुचारु भइसकेको छ ।

दुई महिनाअघि भिक्टोरिया राज्यमा देखिएको दोस्रो लहरसमेत नियन्त्रणमा आएपछि अस्ट्रेलियाको जनजीवन चाँडै पहिलेजस्तै बन्ने देखिएको छ । दोस्रो लहरका कारण चिन्तित भिक्टोरियाका जनताले समेत करिब डेढ महिनापछि बुधबारबाट आंशिक रूपमा खोलिएको लकडाउनका कारण सहज महसुस गर्न पाएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सम्पूर्ण राज्यहरूमा अहिले जम्मा २ सय १ जना सक्रिय संक्रमणका बिरामी छन् । भिक्टोरियामा लकडाउन खुकुलो पारिएपछि प्रधानमन्त्री स्कट मरिसनले बुधबार भिक्टोरियावासीलाई बधाई दिए । उनले राज्य सरकारले खुकुलो पारेको लकडाउनका कारण भिक्टोरियावासीलाई सहज महसुस भएको बताउँदै पछिल्लो समयमा देखिएको भाइरसको दोस्रो तहलाई समेत परास्त गरेकोमा समेत बधाई दिएका थिए । उनले यो समय वास्तवमै सबैले पर्खिएको भए पनि तर सरकारले लगाएको अन्य केही प्रतिबन्ध तथा कानुनलाई पालना गर्न आग्रहसमेत गरे ।

आखिर विश्वमा अत्यन्तै समस्याका रूपमा देखिएको कोरोना भाइरसलाई अस्ट्रेलियाले कसरी परास्त गर्‍यो त ? विज्ञले मुख्य चार कामलाई प्राथमिकताका साथ राखेका छन् । ‘द कन्भर्सेसन’ का अनुसार सबैभन्दा पहिला अस्ट्रेलियाको नेतृत्वले स्वास्थ्यविज्ञको सल्लाह सुझावलाई ध्यानपूर्वक सुनेनन् मात्रै पूर्ण रूपमा पालनासमेत गरे । हरेक राज्य र टेरिटोरीमा आफ्नै प्रमुख स्वास्थ्य अधिकृत रहने र केन्द्रीय सरकारमा समेत प्रमुख स्वास्थ्य अधिकृत रहने प्रावधान रहेको अस्ट्रेलियाका केन्द्र तथा राज्यका नेतृत्वले विज्ञको सल्लाहलाई पूर्ण रूपमा व्यवहारमा पालना गरे ।

अर्कोतिर भाइरसले देशलाई आक्रान्त बनाइरहेको समयमा केन्द्रीय तहमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र प्रमुख स्वास्थ्य अधिकृत स्वयं उपस्थित भएर जनतालाई आफ्ना कार्यक्रमका बारेमा बताएनन् मात्र जीवनयापनका लागि व्यक्ति तथा व्यवसाय सबैलाई यथेष्ट आर्थिक सहायताका कार्यक्रम लागू गरे । जुन कार्य हरेक राज्य तथा टेरिटोरीमा सोही किसिमले लागू गरियो ।

अस्ट्रेलियाले भाइरसको संक्रमण दरमा केही तीव्रता आउनेबित्तिकै अन्तर्राष्ट्रिय सिमाना बन्द गर्नु र फाट्टफुट्ट आउने आफ्ना नागरिकलाई उच्चस्तरको क्वारेन्टाइन व्यवस्था मिलाउनुलाई दोस्रो महत्त्वपूर्ण कार्यका रूपमा लिइएको छ । अस्ट्रेलियाले मार्चको तेस्रो सातादेखि आफ्नो सबै सिमाना बन्द गरिदियो । त्यतिमात्र नभएर थोरै मात्रामा स्वदेशमा भित्रिएका सबै आफ्ना नागरिकलाई सरकारी खर्चमा उच्चस्तरको होटलमा बस्नेखाने व्यवस्थासमेत मिलाइदियो । अन्तर्राष्ट्रिय सीमा बन्द गरिदिएपछि अस्ट्रेलियालाई आफ्नै देशमा बढिरहेको संक्रमण नियन्त्रण गर्न मद्दत पुग्यो भने विदेशबाट संक्रमित भएर आएका आफ्ना नागरिकलाई १४ दिनसम्म बाहिर निस्कन नपर्ने गरी सबै सुविधासहित क्वारेन्टाइन व्यवस्था मिलाइदिएपछि संक्रमण दर नियन्त्रण गर्न सहज भएको थियो ।

भाइरसको संक्रमणलाई परास्त गर्न तेस्रो तर अर्को महत्त्वपूर्ण कार्यका रूपमा अस्ट्रेलियाली नागरिकले सरकारले लागू गरेको सामाजिक दूरीको नियम पालना गर्नुलाई लिइएको छ । हुन त मरिसन सरकारले जनतालाई जुन तहमा विश्वासमा लिएर काम गरेको थियो त्यसले नै अपवादबाहेकका मानिसले उल्लंघन गरेका थिए । समग्र अस्ट्रेलियामा पूर्ण लकडाउन नगरिएको भए पनि सरकारले सुरु गरेका नयाँ नियमलाई जनताले स्वीकार गरेर पालना गरेका कारण पूर्ण लकडाउनको आवश्यकता नै नपरेको विश्लेषण गरिएको छ ।

त्यसका साथै सरकार आफैंले पनि जागिर खोज्ने र जागिर दिनेलगायत आर्थिक सहायताका कार्यक्रम ल्याएर जनतालाई दैनिक जीविकोपार्जनका लागि घरबाहिर निस्कन नपर्ने अवस्थाको सिर्जना गरिएको थियो भने नयाँ नियमका कारण समस्यामा परेका व्यवसायहरूलाई समेत विभिन्न तहका आर्थिक सहायता प्रदान गरिएको थियो । जसका कारणसमेत जनताले सरकारी कदमको बेवास्ता वा उल्लंघन गर्ने आवश्यकता महसुस गरेनन् ।

महत्त्वपूर्ण र चौथो कार्यक्रम अस्ट्रेलियाली सरकारले स्वास्थ्य सेवा लिने जनतालाई ‘टेलिहेल्थ’ सुविधा दिएर गरेको विश्लेषण गरिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण बढ्नेबित्तिकै स्वास्थ्य सेवा पुर्‍याउने स्वास्थ्य संस्था तथा चिकित्सकले प्रत्यक्ष भेटेरभन्दा टेलिफोन वा भिडियो कन्फरेन्समार्फत सेवा दिने व्यवस्था मिलाएको थियो । निःशुल्क रूपमा मिलाइएको यो स्वास्थ्य सुविधा सुरु गरिएको पाँच साताको अवधिमा नै ३० लाख जनताले लिएका थिए । जसले संक्रमण बढाउने वा संक्रमित हुने दर कम गराएको विश्वास गरिन्छ । सरकारको यो स्वास्थ्य सेवा अझै केही महिनासम्म जारी रहने प्रधानमन्त्री मरिसनले घोषणा गरिसकेका छन् ।

अस्ट्रेलियाले भाइरस संक्रमणलाई करिब नियन्त्रणमा लिएको भए पनि समयमै सिमाना बन्द नगरेको, सिड्नीमा आएको रुबी प्रिन्सेस पानी जहाजको सही व्यवस्थापन नगरेको लगायत कार्यले संक्रमण फैलिएको भनेर आलोचना गर्ने गरिएको छ । तर पनि अस्ट्रेलियाले समग्र रूपमा र भिक्टोरियामा देखिएको दोस्रो लहरलाई समेत पराजित गरिसकेको अवस्थामा अस्ट्रेलिया कोरोनामुक्त हुने बाटोमा अघि बढिसकेको छ ।

प्रकाशित : कार्तिक १८, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?