भारतमा कोरोना संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजारभन्दा बढीको मृत्यु- विश्व - कान्तिपुर समाचार

भारतमा कोरोना संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजारभन्दा बढीको मृत्यु

एएनआई 

नयाँदिल्ली — भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ९६ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : कार्तिक १७, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

एएनआई 

वासिङ्टन — फोटो सेयरिङ एप इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाले विशेष गरेर योग र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पाक कलामा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

'तपाईंको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाईंले मात्रै हेर्न सक्नुहुन्छ,' इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ ।

इन्स्टाग्रामले यो विषेशता अहिले नै लागू भइनसकेको र चाँडै नै लागू हुने पनि जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १४, २०७७ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×