कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्समा पादरीमाथि गोली प्रहार

ददी सापकोटा

पेरिस — फ्रान्सको तेस्रो ठूलो सहर लियोंमा शनिबार अपरान्ह एक जना पादरीमाथि आक्रमण भएको छ । अर्थोडक्स गिर्जाघरमा भएको हमलामा आक्रमणणकारीलेे त्यहाँका पादरीलाई गोली हानेर गम्भीर घाइते बनाएका छन्। ग्रिक मूलका ती पादरीलाई दुई पटक गोली हानिएको थियो ।

फ्रान्समा पादरीमाथि गोली प्रहार

लियों सहर निवासी सिल्भियन दला फामीले कान्तिपुरलाई बताएअनुसार अपरान्ह करिब चार बजे चर्चको ढोका बन्द गरेर हिँड्न लागेका बेला आक्रमणणकारीलेे पादरीमाथि सट गन प्रहार गरेका थिए । गोली हान्नासाथ पदारी भुइँमा लडेका थिए ।

'वरिपरि पूरै सिल गरिएको छ । मानिसहरु त्रसित छन् । फ्रान्समा एकपछि अर्को भइरहेको हमलाले मानिसहरुमा थप आतंक सिर्जना भएको छ,' सिल्भियनले कान्तिपुरसित टेलिफोनमा भनिन् ।

चिन्ताजनक अवस्थामा रहेकाले विशेष चिकित्सा टोलीले पादरीको घटनास्थमै उपचार गरिरहेको समाचारमा उल्लेख छ । सुरक्षाको कारण देखाउँदै पादरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीले चर्च वरिपरिको क्षेत्रलाई सिल गरेको छ । स्थानिय नागरिकहरुलाई घटनास्थलको वरिपरि नजान सूचित गराएको छ । आतंककारी हमला भनिए पनि चर्चमा हमला गर्नुको कारण भने हालसम्म कतै खुलाइएको छैन । फ्रान्सेली टिभीहरुमा लियों सहरका विभिन्न ठाउँमा आपत्कालीन सवारीसाधनहरुको लर्को लागेको देखाइएको छ ।

निस सहरमा तीन जनाको हत्या गरिएको चौथो दिन फेरि लियों सहरमा शनिबार हमला भएको हो । दुई हप्ताअघि फ्रान्सेली शिक्षक शामुयल पाटीको राजधानी पेरिस सहरको काँठमा त्यसैगरी टाउको काटेर हत्या गरिएको थियो । आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाएपछि मुस्लिम धर्मावलम्बीलाई हेपेको, अनादार गरेको भन्दै मुस्लिम अतिवादीबाट शिक्षक शामुयल पाटीको हत्या गरिएको मिडियाहरुले उल्लेख गर्दै आएका छन् ।

फ्रान्सका गिर्जाघर, स्कुल र अन्य धार्मिक स्थलहरुको सुरक्षा गर्न भन्दै तीन हजार सेना यसअघि नै तैनाथ गरिएको थियो । लियोंको हमलापछि त्यसलाई बढाएर सात हजार पुर्‍याइने राष्ट्रपति इम्मानुएल म्याक्रोंले घोषणा गरेका छन् ।

त्यस्तै परराष्ट्रमन्त्री जँ इभ ल ड्रियँले प्रत्येक फ्रान्सेली नागरिकमाथि सुरक्षाको खतरा रहेको र बिदेशमा रहेका सबै फ्रान्सेलीलाई यसबारे सचेत रहन खबर पठाएको उल्लेख गरेका छन् ।

फ्रान्समा शुक्रबारदेखि नै दोस्रो लकडाउन लागू गरिए पनि सोमबार सम्मका लागि धार्मिक स्थलहरुमा पूजापाठका लागि खुला राखिएको छ । आइतबार क्रिस्चियन सन्त दिवस परेकाले यो छुट दिइएको हो ।

सन् २०१५ मा चार्ली हेब्दो ब्यंग्य पत्रिकामा हमला गरी आतंककारीहरुले एक दर्जनको हत्या गर्नुको साथै अन्य ११ जनालाई घाइते पारेको घटनादेखि नै फ्रान्स आतंककारी हमलाको उच्च जोखिममा देखिएको छ । त्यसयता आतंककारिले लगभग २५० जनाको हत्या गरिसकेका छन् । संदिग्ध हमलाकारीविरुद्ध अदालतमा गत महिना मुद्दा सुनुवाइ हुन थालेपछि फ्रान्समा आतंककारी हमला फेरि दोहोरिनसक्ने भन्दै तनाव बढेको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?