कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

युरोपमा फेरि बढ्यो संक्रमण

ददी सापकोटा

पेरिस — कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिएसँगै युरोपभरि थप संकट थपिएको छ । स्पेन फ्रान्स, जर्मनी, बेल्जियमलगायत मुलुकले संकटकाल घोषणा गरेका छन् । 

युरोपमा फेरि बढ्यो संक्रमण

फ्रान्समा बुधबार साँझदेखि कम्तीमा दुई साताका लागि पूर्ण लकडाउन घोषणा गर्ने सरकारको तयारी रहेको फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । स्पेन र फ्रान्समा ११ लाखभन्दा बढी कोभिड–१९ का बिरामीको सूची बाहिरिएसँगै संकटकालसँगै कर्फ्यु घोषणा गरिएको हो । स्विट्जरल्यान्डको प्रसिद्ध भाले प्रान्तमा दुई साताभित्र अस्पतालहरू भरिने र नयाँ बिरामीहरू लिन नसकिने चेतावनी स्विस सोसाइटी अफ इन्टेन्सिभ केयरका प्रमुख फ्रान्जिस्का भोन आर्कस् स्ट्रासलेरले दिइसकेका छन् ।

स्विटजरल्यान्डमा भाइरसको पहिलो लहरकै बेला अत्यधिक थाकेका, मानसिक रूपमा कमजोर र बिरामी परेका स्वास्थ्यकर्मीहरूको अवस्था अझै सुधार नभएकाले दोस्रो लहरमा फेरि १२ घण्टा सेवा दिन नसक्ने भन्दै नर्सहरूले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । फ्रान्समा जाडोयामसँगै दम, रुघाखोकीलगायत बिरामीको चाप बढ्ने हुनाले अहिलेकै अवस्थामा बिरामीहरूको चाप बढे अस्पतालले धान्नै नसक्ने स्थिति रहेको फ्रान्सेली चिकित्सकहरूको भनाइ छ ।

फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभिय भेराले अत्यन्त्र गम्भीर र आपत्कालीन अवस्थाका बाहेक अन्य सबै बिरामीको शल्यक्रिया र अस्पताल भर्ना रोकेर कोभिड–१९ संक्रमितहरूको उपचार गराउन निर्देशन दिएका छन् ।

संक्रमणलाई निस्तेज बनाउन भन्दै जर्मनी, फ्रान्स, इटाली, स्पेनलगायत देशमा लागू गरिएका सरकारी नियमहरूका विरुद्ध नागरिकहरूले आन्दोलनसमेत सुरु गरेका छन् ।

आफ्ना अधिकारहरू कुण्ठित गरिएको, सरकारले भाइरसका नाममा राजनीति गरेको, यसलाई मागिखाने भाँडो बनाएको, नियन्त्रणका सरकारी नियमहरू हास्यास्पद रहेकालगायत आरोप लगाउँदै फ्रान्सको मासेई, इटालीको मिलान, नापोली, जर्मनीको बोन र बर्लिन, स्विट्जरल्यान्डको जेनेभालगायत युरोपका विभिन्न सहरमा ‘एन्टी कोभिड मुभमेन्ट’ का नाममा प्रदर्शनहरू भएका हुन् ।

प्रकाशित : कार्तिक १३, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?