नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा- विश्व - कान्तिपुर समाचार

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

एजेन्सी

नयाँदिल्ली — भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली सहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।

दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । यो सूचकले चार ओटै ठाउँको अवस्था अति प्रदुषित देखाएको अधिकारीहरुले जनाएका छन् ।

वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदुषित, ३०१ देखि ४०० सम्म अति प्रदुषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

केन्द्रीय प्रदुषण नियन्त्रण वोर्डले पनि नयाँदिल्लीको प्रदुषण नराम्रो दिशातर्फ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रदुषण चिन्ताजक अवस्थामा पुग्न थालेपछि दिल्ली प्रदेश सरकारका वातावरणमन्त्री गोपाल राइले प्रदुषण न्यूनीकरणका लागि राजधानी क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तत्काल सुरु गरिने घोषणा गरेका छन् ।

सरकारी अधिकारीहरुले यसअघि गत शनिबार पनि नयाँदिल्लीको प्रदुषणको अवस्था नराम्रो हुँदै गएको जानकारी दिएका थिए । उनीहरुले त्यतिबेला नै वायु प्रदुषणको त्यतिबेलाको अवस्थामा आगामी दुई दिन अझ वृद्धि हुने पूर्वानुमान गरेका थिए ।

उनीहरुका अनुसार नयाँदिल्लीमा विशेष गरेर शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको पाइएको छ ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित सहरको रुपमा चिनिँदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

–रासस/पिटिआई

प्रकाशित : कार्तिक १२, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

बालगृहका बालबालिकाले मनाए दसैं

सुवास विडारी

मकवानपुर — सरकारी स्वामित्वमा रहेको भीमफेदी बालगृहका बालबालिकाहरुले यसवर्षको दसैं खुशीयालीका रुपमा मनाउने अवसर पाएका छन् ।

विभिन्न चाडपर्वको समयमा प्रायः नेपालीको घरमा रमाइलो हुने गरेको भएपनि बालगृह भने सुनसान हुन्थ्यो । तर, स्थानीय तहको चुनावसँगै बालगृहमा विभिन्न चाडपर्वहरु मनाउन थालिएको छ ।

भीमफेदी–६ स्थित बालगृहमा यसवर्ष गाउँपालिकाका अध्यक्ष हिदम लामा र जिल्ला बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारु मगरले केन्द्रमा रहेका बालबालिकालाई टीका, जमरा लगाइदिएर बालबालिकासँग दसैं मनाएका छन् ।

२०५७ सालमा स्थापना भएको बालगृहमा हाल ६ देखि १७ वर्ष उमेर समूहका ३५ जना बालबालिका रहेका छन् । उनीहरु कक्षा १ देखि १० सम्म भीमफेदीका विभिन्न विद्यालयमा अध्ययन गर्छन् ।

सरकारले बालगृह स्थापना गरेपनि गैरसरकारी संस्थाको भरमा बालगृह सञ्चालन हुँदै आएको छ । ललितपुरस्थित गैरसरकारी संस्था चिल्ड्रेन होमले लामो समयदेखि बालगृह सञ्चालनमा सहयोग गर्दै आएको छ । सरकारले बालगृहहरु व्यवस्थित गर्न जिल्ला बालसंगठनहरु पुनर्गठन गरेपछि भने यस्ता बालगृहहरुले पुनर्जीवन पाउने अपेक्षा गरिएको छ ।

राणा र राजाहरुको समयमा काठमाडौंबाट तराई आउजाउ गर्ने क्रममा सरकारी उच्च ओहदाका व्यक्तिहरु बस्ने केन्द्र रहेको बालगृहको नाममा करिब डेढ बिगाहा जमिन र भौतिक संरचना रहेको गृहका कार्यालय प्रमुख सुरेन्द्र सापकोटाले बताए । गृह सञ्चालनका लागि आवश्यक ३९ वटा सूचकमध्ये अधिकांश सूचक यो बालगृहले पूरा गरेको छ ।

जिल्ला बाल संगठनसाग सहकार्य गरी बालगृहलाई व्यवस्थित गर्दै देशभरका अभिभावकविहीन बालबालिकालाई आश्रय र पठनपाठन गराउने केन्द्रको रुपमा विकास गर्ने योजना रहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

प्रकाशित : कार्तिक १२, २०७७ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×