अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, लिइन् शपथ- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, लिइन् शपथ

ब्यारेटले मंगलबारदेखि काम सुरु गर्ने
रासस, एएनआई 

वासिङ्टन — अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेपछि उनले सपथग्रहण गरेकी हुन् ।

सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायधिश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उनको नियुक्तिमा विवाद हुँदै आएको थियो ।

सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया सुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका थिए ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीया एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका थिए । राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ ।

ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गरेका हुन् । उनले मंगलबारदेखि नै काम सुरु गर्ने जनाइएको छ ।

प्रकाशित : कार्तिक १२, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट

रासस, एएनआई 

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गरेका छन् ।

भारत र अमेरिकाबीच दुवै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुवै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।

उनले सम्झौतालाई अघि बढाउन दुवै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुवै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पनि बताएका छन् ।

रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा दुवै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।

सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताए । 'दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।' उनले भने ।

प्रकाशित : कार्तिक ११, २०७७ १९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×