अमेरिकी राष्ट्रपतीय चुनाव : सर्वेक्षणले देखाएझैं बाइडेनले ट्रम्पलाई जित्लान् त ?

दिनेशजंंग शाह

न्युयोर्क — सन् २०१६ । नोभेम्बर ९ । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना तीव्र गतिमा हुँदै थियो । चुनावी नतिजाको पखाई, चासो र चिन्ता अत्यधिक थियो । यसैक्रममा बिहान दुई बजेर २९ मिनेटमा एसोसिएट प्रेस (एपी) ले समाचार ‘ब्रेकिङ’ गर्‍यो  -‘विस्कन्सिन राज्यमा डोनाल्ड जोन ट्रम्प विजयी । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित ।’

अमेरिकी राष्ट्रपतीय चुनाव : सर्वेक्षणले देखाएझैं बाइडेनले ट्रम्पलाई जित्लान् त ?

यो समाचार ब्रेक हुँदासमेत न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा हिलारी क्लिन्टनको चुनाव जित्ने सम्भावना ८४ प्रतिशत रहेको उल्लेख थियो । चुनावी दिन, नोभेम्बर ८ को न्युयोर्क टाइम्सको प्रिन्ट संस्करणको पहिलो पेजमै लेखिएको थियो, ‘ट्रम्पको जित्ने सम्भावना १५ प्रतिशत । ’

धेरै समाचार एजेन्सी एवं सर्वेक्षेणअनुकुल नतिजा आएको थिएन । त्यो नतिजा धेरैका लागि अप्रत्यासित र अपत्यारिलो मात्र नभएर स्तब्ध पार्ने खालको थियो । त्यो परिणामले अमेरिकी निर्वाचनको इतिहासमै धेरै हदसम्म मिडिया र सर्वेक्षणहरुको विश्वसनीयता एवम वैधानिकतामाथि प्रश्न उठ्यो । सर्वेक्षणको प्रक्रियामा गम्भीर त्रुटि भएको हुनसक्ने आकलन गरियो । सर्वेक्षणमा सहभागी भएकाले झुट बोलेको हुनसक्ने बताइयो । स्पष्ट पक्ष के भने, सर्वेक्षणको नमुना संकलन गलत भयो । र त्यही परिदृश्यमा, अहिलेको अमेरिकी निर्वाचन हुँदैछ । विकसित देशहरुमा निर्वाचन सर्वेक्षणको लामो इतिहास छ ।

यद्यपि अमेरिकामा सन १९३० को मध्यदेखि योजनाबद्ध सर्वेक्षणहरु भएको पाइन्छ । एकाध रुपमा सर्वेक्षणहरु असफल भए पनि, प्राय: सर्वेक्षणहरु सही नै हुन्छन् भन्ने आम मान्यता छ । तर पनि ट्रम्पको त्यो जितले, यसपटकको सर्वेक्षणको विश्वसनीयतामाथि शंका उत्पन्न गराएको स्पष्ट छ । त्यसैले पनि सन २०१६ को तुलनामा यसपटकको निर्वाचनको सम्भावित परिणामबारे विश्लेषकहरु अलि हच्चिएका छन् ।

यस पटकका धेरै सर्वेक्षणमा सत्तासीन राष्ट्रपति ट्रम्प, डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनभन्दा ८ देखि १० प्रतिशतको अन्तरले पछाडि छन् । जुन चार वर्षअघि हिलारी क्लिन्टनको पालामा गरिएको आकलनभन्दा फराकिलो अन्तर हो । त्यति बेला हिलारीले ४ देखि ५ प्रतिशत बढी मत ल्याएर विजयी हुने आकलन गरिएको थियो । निर्वाचनलाई नतिजालाई उलट पुलट पार्ने भनिएका एक दर्जन राज्यमध्ये १० राज्यमा बाइडेन ट्रम्पभन्दा अगाडि देखिएको सर्वेक्षणमा उल्लेख छ । त्यसैले पनि एकथरि विश्लेषकहरु ढुक्क छन् । तर आमधारणा भन्ने ढुलमुले नै छ ।

अमेरिकी इतिहासमा, सन् २०१६ को निर्वाचन बाहेक, एउटा अर्को निर्वाचन पनि छ, जसले सर्वेक्षणको वैधानिकतामाथि प्रश्न उठाएको थियो । त्यो हो, सन १९४८ को अमेरिकी राष्ट्रपति निर्वाचन । सबै सर्वेक्षण मात्र होइन, सबैभन्दा विश्वासिलो मानिएका पोलस्टर जर्ज गलअपले लेख्यो, ‘सत्तासीन राष्ट्रपति ह्यारी ट्रुम्यानले जित्ने सम्भावना १० प्रतिशत । रिपब्लिकन उम्मेदबार थोमस डबिएको जित निश्चित । तर नतिजा ठिक उल्टो भयो । डेमोक्रयाट् ह्यारी ट्रुम्यानले सानदार जित हासिल गरे ।

यो बाहेक, सन १९८० को जिम्मी कार्टर र रोनाल्ड रेगनको निर्वाचनमा पनि अधिंकाश सर्वेक्षणहरुले रेगनले एकदेखि दुई प्रतिशतको झिनो अन्तरले जित्ने आकलन गरेका थिए । तर अनुमानविपरीत रेगनले ठूलो अन्तरले जिते ।

प्राय: अमेरिकामा सर्वेक्षणहरु मिडिया र विश्वविद्यालयका रिसर्च विभागले संयुक्त रुपमा गर्ने गर्छन् । फोन र अनलाइनका माध्यमबाट दुई सयदेखि एक हजारसम्मको संख्या छनोट गरिन्छ । जति धेरै संख्या, त्यति नै सर्वेक्षण विश्वसनीय हुने विश्वास गरिन्छ ।

चार वर्षअघिको सर्वेक्षणहरु किन गलत भन्ने विश्लेषणमा मूलत: एउटै निष्कर्ष निक्लिएको थियो । त्यतिबेला अधिंकाश सर्वेक्षणहरु, राज्यहरुको नतिजाभन्दा बढी राष्ट्रिय रुपमा केन्द्रित भएको बताइएको थियो । त्यतिबेला सर्वेक्षणलाई बढी नै सामान्यीकरण गरिएको बताइन्छ । हिलारी क्लिन्टनले पाएको लोकप्रिय मतलाई सर्वेक्षणले सही साबित गरे पनि, रणभूमि राज्यहरुको नतिजामा उनीहरु चुके । जसले नतिजालाई निर्धारण गर्छ । अर्को महत्वपूर्ण पक्ष, मतदानको अन्तिम दिन, ट्रम्पका सर्मथकहरुको उर्लंदो भेललाई सर्वेक्षणहरुले नजरअन्दाज गरे । लस एन्जलस टाइम्स र साउदर्न क्यालिफोर्निया विश्वविद्यालयको सर्वेक्षणले मात्र ट्रम्पले जित्ने अनुमान गरेका थियो ।

यो परिदृश्यमा सर्वेक्षणहरु सही हुन्छन् कि हुँदैनन् भन्न निकै कठिन छ । तर पनि विगतका गल्तीप्रति अहिलेका सर्वेक्षण संवेदनशील रहेको बताइएको छ । अर्कोतर्फ सर्वेक्षणको दौरान, अर्ली भोटिङको क्रम निकै उर्लंदो छ । निर्वाचनका दिनसम्म यो संख्या एक सय मिलियन अर्थात १० करोडको पुग्ने अनुमान छ । विगतको इतिहासले भन्छ, जति धेरै मतदान, उति धेरै फाइदा, उदारवादीहरुलाई । जति थोरै, त्यति नै अनुदारवादीलाई अनुकूल ।

जे होस् यस पटक बाइडेनले जित्छन् कि ट्रम्पले । यसका लागि कम्तीमा अझै दुई साता पर्खनुपर्ने देखिन्छ । यसपटक पहिलेजस्तो निर्वाचनकै दिनको भोलिपल्ट नतिजा आउने छैन । हुलाकी मतदानले गणना प्रक्रियालाई केही दिन लम्ब्याउने छ ।

प्रकाशित : कार्तिक ११, २०७७ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?