मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट- विश्व - कान्तिपुर समाचार

मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट

रासस, एएनआई 

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गरेका छन् ।

भारत र अमेरिकाबीच दुवै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुवै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।

उनले सम्झौतालाई अघि बढाउन दुवै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुवै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पनि बताएका छन् ।

रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा दुवै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।

सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताए । 'दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।' उनले भने ।

प्रकाशित : कार्तिक ११, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी विदेशमन्त्री पोम्पेओ र रक्षामन्त्री एस्पर भारत आउँदै

रासस, एएनआई 

नयाँदिल्ली — संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणमा आउने भएका छन् ।

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उनीहरू साेमबार भारत आउन लागेका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुनेछ ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह रहने छन् । भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका छन्, 'म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।'

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठक भएका थिए ।

प्रकाशित : कार्तिक १०, २०७७ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×