मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट- विश्व - कान्तिपुर समाचार

मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट

रासस, एएनआई 

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गरेका छन् ।

भारत र अमेरिकाबीच दुवै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुवै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।

उनले सम्झौतालाई अघि बढाउन दुवै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुवै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पनि बताएका छन् ।

रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा दुवै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।

सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताए । 'दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।' उनले भने ।

प्रकाशित : कार्तिक ११, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

कमल पन्थी

बर्दिया — नेपाल-भारत सिमानामा मंगलबार बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका-३ धनौराका अन्दाजी २८ वर्षका दिनेश चौधरी बिहान ७ बजे च्याउ टिप्न जाने बेलामा बाघको आक्रमणमा मृत्यु भएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार दिनेश दिउँसो अबेरसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्न आफन्तीलाई जंगल पठाएका थिए । खोजी गर्ने क्रममा बाघले झम्टिदा स्थानीय रमेश थारुको पनि मृत्यु भएको राउतले बताए । उनीसँग गएका अन्य स्थानीयले भागेर ज्यान बचाएका थिए ।

त्यसपछि सशस्त्रको बीओपीबाट खटिएको टोली र स्थानीयले खोजी गर्दा १०/१० मिटर दूरीमा दुवै जनाको शव भेटिएको थियो ।

यस क्षेत्रमा चार महिनायता बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×