१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकामा कसले जितुन् भन्‍ने चाहन्छ चीन ?

‘चीनको छनोट बाइडेनभन्दा ट्रम्प नै हुन् । यसको कारण ट्रम्पले चीनलाई बाइडेनभन्दा कम बेफाइदा गर्छन् भन्ने होइन बरु अमेरिकालाई कमजोर बनाउँछन् भन्ने हो ।’
एजेन्सी

वासिङ्टन — अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि लामो समयदेखि चासो र दिग्दारीको विषय बन्ने गरेको छ । संसारकै सबैभन्दा प्रभावशाली देशको नेतृत्व चयनका लागि हुने लोकतान्त्रिक प्रक्रियालाई बेइजिङस्थित सरकारी अधिकारीहरूले नजिकबाट नियाल्ने गर्छन् ।

अमेरिकामा कसले जितुन् भन्‍ने चाहन्छ चीन ?

चीनका १ अर्ब ४० करोड नागरिकले नपाउने अधिकारको सम्झना दिलाउने चुनावबारे चिनियाँ सञ्चार माध्यमबाट नियन्त्रित सामग्री मात्रै प्रकाशन तथा प्रसारण हुने गर्छ ।

तर यस पटक महामारीको बीचमा खस्कँदो अर्थतन्त्र र तीव्र राजनीतिक ध्रुवीकरणबीच हुने लागेको चुनावमा चीनले केही भिन्नता देखेको आकलन गरिएको छ । विश्व राजनीतिलाई नियाल्ने हो भने पछिल्लो समय चीनको अधिनायकवादले भन्दा पश्चिमा लोकतन्त्रहरूले ठूलो संकटको सामना गरिरहेका छन् ।

विश्वकै सबैभन्दा स्वतन्त्र र धनी देश अमेरिका कोभिड–१९ सँग लड्न सबैभन्दा सक्षम हुने ठानिएको भए पनि पारदर्शिता र उत्तदायित्वका कारण त्यस्तो नभएको देखिएको छ ।

तर सुरुमा आफ्ना कपितय कमजोरी लुकाएको ठानिएको चीनले भने आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर भाइरसलाई नियन्त्रणमा लिएको छ । चीनमा उद्योगधन्दा, व्यवसाय, होटल तथा रेस्टुराँ, विद्यालय र विश्वविद्यालय खुलिसकेका छन् । त्यसका साथै सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् । यो वर्ष चिनियाँ अर्थतन्त्रमा समेत वृद्धि हुने आकलन गरिएको छ ।

यी सबै नतिजा निकाल्ने चीनमा एकदलीय शासन छ र त्यहाँका कुनै पनि तहका सरकारका निर्णयकर्ताहरू नागरिकको अर्थपूर्ण मतबाट निर्वाचित भएका पनि होइनन् । पछिल्लो अवस्थामा चीनको राजनीतिक व्यवस्थाका कमजोरीबारे होइन सकारात्मक पक्ष र शक्तिबारे चर्चा हुने गरेको छ ।

‘कोभिड–१९ विरुद्धको संघर्षमा चीनले प्राप्त गरेको रणनीतिक उपलब्धिले कम्युनिस्ट पार्टीको नेतृत्व क्षमताको फाइदा अद्वितीय भएको देखाएको छ,’ चिनियाँ राष्ट्रपति सी चिनफिङले गत महिना कोभिड–१९ विरुद्धको संर्घषमा नायक मानिएका स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएकाहरूको सम्मानमा आयोजित कार्यक्रममा भनेका थिए ।

राष्ट्रपति सीको यो सन्देश चीनको राज्य नियन्त्रित टेलिभिजनहरूले अमेरिकाको स्वास्थ्य संकटको तथ्यांकका साथै त्यहाँ भएको विरोध प्रदर्शन र निर्वाचन अभियानका दृश्यसँगै प्रसारण गरेका थिए । अमेरिकी चुनावमा को विजयी हुन्छ भन्ने खासै मतलव नगरिएको भए पनि अमेरिकाको राजनीति खराब भएका बेला विश्वमा उसको शक्ति र सम्मान घट्ने ती दृश्यहरूमार्फत देखाउन खोजिएको हो । सन् २०१६ मा निर्वाचन हुँदा विश्वको दोस्रो आर्थिक शक्ति बनिसकेको चीनलाई डोनाल्ड ट्रम्पले एउटा सन्देश दिएका थिए । सन् १९७२ मा राष्ट्रपति रिचार्ड निक्सनको भ्रमणपछि आरम्भ भएको अमेरिका–चीन व्यापार सम्बन्धलाई प्रयोग गरेर चीनले आर्थिक बेइमानी गरिरहेको उनले बताएका थिए ।

निर्वाचित भएपछि पनि ट्रम्पले चीनलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन ल्याएनन् । फलस्वरूप कुनै बेला अमेरिकाले ३ खर्ब ६२ अर्बको सामानमा भन्सार शुल्क लगायो । यस वर्ष ट्रम्प प्रशासनले मानव अधिकार हननको कारण देखाउँदै चीनमाथि राजनीतिक प्रतिबन्धहरू लगाएको छ । अमेरिकी लोकतन्त्रको म्याद गुज्रेको भावना चिनियाँ नेतृत्वमा आएको अनुमान गरिएको छ । तर तर छनोटको अवसर दियो भने उनीहरूले ट्रम्पले हारेको हेर्न चाहनेमा भने यकिन गर्न गाह्रो छ ।

ट्रम्पको अनुमान गर्नै नसकिने व्यवहार र बेइजिङको आलोचनाका कारण चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले उनी हारेको खण्डमा चीनलाई फाइदा हुने ठान्छ । तर बेइजिङस्थित सिंगुवा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक यान सिटोङको बुझाइ फरक छ । ‘मलाई सोध्नुहुन्छ भने चीनको छनोट जो बाइडेनभन्दा ट्रम्प नै हुन्,’ उनको भनाइ छ, ‘यसको कारण ट्रम्पले चीनलाई बाइडेनभन्दा कम बेफाइदा गर्छन् भन्ने होइन बरु अमेरिकालाई बाइडेनभन्दा बढी ट्रम्पले कमजोर बनाउँछन् भन्ने हो ।’

उनको भनाइबाट के अर्थ्याउन सकिन्छ भने चीनका ख्यातिप्राप्त व्यक्तिहरू अब खुला रूपमा अमेरिकाको राजनीतिक र आर्थिक पतन हेर्न चाहन्छन् । जसका कारण चीनलाई आन्तरिक तथा बाह्य रूपमा फाइदा हुने उनीहरूको बुझाइ छ । अमेरिकी शक्ति अस्ताउने कुरा ट्रम्प र भाइरसभन्दा अगाडि नै बहसमा आउन थालेका भए पनि अब त्यसबारे निकै चर्चा हुन थालेको छ । यस अवधारणबाट हेर्दा चीनले ट्रम्पले जितेको हेर्न चाहनु स्वाभाविक मान्न सकिन्छ ।

यसको मुख्य कारण भनेको उनले लोकतन्त्रप्रति देखाएको निष्ठा नभई अविश्वास नै हो । उदाहरणका लागि ट्रम्पले स्वतन्त्र पत्रकारितामाथि गरेको आक्रमण तथा सामाजिक सञ्जालमाथि गरिएको कडा निगरानीबारेका खबरहरू चीनका लागि निकै कर्णप्रिय छन् । बाइडेनले लोकतान्त्रिक विधिबाट मित्रराष्ट्रहरूको समुदाय बनाएर चीनलाई मानव अधिकारका विषयमा बढी दबाब दिन सक्ने बुझाइ चीनको छ । तर ट्रम्पको एकलकाटे नीतिले चीनलाई केही बिगार्न नसकेको देखिन्छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?