१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘भारतमा संक्रमणले उच्चबिन्दु नाघ्यो’

सेप्टेम्बरको मध्यमा संक्रमण सबैभन्दा उच्च बिन्दु पुगेको र संक्रमितको संख्या एक करोड ननाघ्ने भारत सरकारद्वारा गठित विशेष समितिको दाबी
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोभिड १९ को रोकथाम एवं नियन्त्रणलाई लिएर अन्योल र त्रास कायमै रहेका बेला सरकारद्वारा गठित एउटा विशेष समितिले भने भारतमा संक्रमण उच्च बिन्दुमा पुगेर क्रमश: ओरालो लागिरहेको दाबी गरेको छ । भारतको प्रतिष्ठित शैक्षिक संस्थान इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), हैदरावादका प्राध्यापक एम विद्यासागरको नेतृत्वको कोभिड १९ सुपरमोडल समितिले महामारीको प्रक्षेपणलाई गणितीय हिसाबले विश्लेषण गरेर त्यस्तो निष्कर्ष निकालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘भारतमा संक्रमणले उच्चबिन्दु नाघ्यो’

समितिले संक्रमणसम्बन्धी तथ्यांकको अध्ययनबाट केही नयाँ तथ्यहरू बाहिर ल्याएको जनाएको छ । सेप्टेम्बरको मध्यमा संक्रमण सबैभन्दा उच्च बिन्दु पुगेको र भारतमा संक्रमितको संख्या एक करोड ननाघ्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा हालसम्म सबैभन्दा बढी सेप्टेम्बर १८ मा १ लाख १७ हजारभन्दा बढी संक्रमित भएका थिए ।

त्यसैगरी समितिले संक्रमण आगामी फेब्रुअरी (फागुनको दोस्रो साता) सम्म निरन्तर घटिरहने र त्यतिन्जेलसम्ममा एक करोड ६० लाख जना संक्रमित हुने प्रक्षेपण गरेको छ । जबकि चाडपर्व र जाडोयामको सुरुआतसँगै भारतमा संक्रमणको दोस्रो लहर आउने भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो ।

समितिले हालसम्म भारतको कुल जनसंख्यामध्ये तीस प्रतिशतमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको समेत देखाएको छ । ‘फेब्रुअरी अन्त्यसम्ममा कोरोनाका केस शून्यमा त झर्दैनन्, पक्कै पनि त्यो कहिल्यै पनि सम्भव छैन तर संक्रमणको स्तर धेरै कम रहनेछ, जसलाई नियन्त्रणमा राख्न सकिनेछ,’ विद्यासागरलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्डियन काउन्सिल अफ मेडिल रिसर्च (आईसीएमआर) ले गरेको सेरो सर्भेमा अगस्टको अन्त्यसम्ममा भारतमा करिब सात प्रतिशत जनसंख्या संक्रमित भएका देखिएको थियो र त्यसको दुई गुणा मानिसमा एन्टिबडिज बनेको दाबी गरिएको थियो ।

समितिले लकडाउन र निषेधाज्ञाले संक्रमणको विस्तारमा पारेको प्रभावको समेत अध्ययन गरेको बताइएको छ । अध्ययनले यदि लकडाउन नगरिएको भए जुनभित्रै संक्रमणले उच्च बिन्दु छुने र करिब एक करोड चालीस लाख मानिसमा संक्रमणको कडा लक्षण देखिने तथा अगस्टसम्म पच्चीस लाख मानिसको ज्यान लिन सक्ने देखाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

आइतबारसम्ममा भारतमा संक्रमणबाट एक लाख १४ हजारभन्दा बढीको ज्यान गएको छ । शनिबार मात्र एक हजारभन्दा बढीले संक्रमणका कारण ज्यान गुमाएका थिए, जुन पछिल्लो दुई सातायताकै उच्च हो । यसअघि अक्टोबर ३ मा एक हजार ६९ जनाको मृत्यु भएको थियो । त्यसयता कोभिड १९ बाट मृत्यु हुने दर क्रमश: घट्दै गएको थियो तर शनिबार फेरि बढेको हो । यसैगरी समितिले अब यसअघिको जस्तो लकडाउनको प्रभाव नरहने भएकाले त्यसको आवश्यकता नरहेको समेत सुझाव दिएको छ । यद्यपि नजिकिँदो चाडपर्व र जाडोयामका कारण संक्रमण बढ्ने सक्ने भएकाले संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाइँदै आएका सुरक्षा उपायलाई निरन्तरता दिनुपर्ने सुझावसमेत समितिले दिएको छ ।

त्यसैगरी, समितिले उत्तरप्रदेश र विहारमा गरेको अध्ययनले संक्रमण फैलिनुमा प्रवासी कामदारहरू खासै जिम्मेवार नरहेको समेत जनाएको छ । ‘तत्काल केही वृद्धि देखिए पनि प्रवासी कामदारहरूकै कारणले यी राज्यमा गुणात्मक वृद्धि भने भएको देखिँदैन,’ विद्यासागरलाई उद्धृत गर्दै भनिएको छ ।

लकडाउनका कारण अर्थतन्त्र ठप्प हुँदा ठूलो संख्यामा प्रवासी कामदारहरू आआफ्ना घर फर्केका थिए । तिनमा सबैभन्दा बढी भारतका मुम्बई, दिल्ली, चेन्नई, बैंग्लोर, अहमदाबादलगायत सहरमा काम गर्ने विहार र उत्तरप्रदेशका प्रवासी कामदार थिए । उनीहरू गाउँ फर्केसँगै विहार र उत्तरप्रदेशमा संक्रमणले तीव्र रूपमा फैलन सक्ने भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो तर भाइरसको महामारीसँग जुध्न भारत सरकारद्वारा गठित एक विशेषज्ञ समितिका प्रमुख वीके पालले भने पछिल्लो समय संक्रमणमा कमी आए पनि आगामी हिउँद याममा महामाव्याधिको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । ‘जाडामा भारतमा संक्रमणको दोस्रो लहर आउने कुरालाई नकार्न सकिन्न,’ भारत सरकारको थिंकट्यांक नीति आयोगका सदस्यसमेत रहेका पाललाई उद्धृत गर्दै भारतीय हिन्दी पत्रिका जनसत्ताले उल्लेख गरेको छ ।

पहिलो संक्रमण पुष्टि भएको साढे आठ महिनामा भारत विश्वकै सबैभन्दा बढी संक्रमित हुने मुलुकको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार बिहानसम्ममा कोभिड १९ बाट करिब ७५ लाख संक्रिमत भएका छन् । त्यसमध्ये ६६ लाखभन्दा बढी निको भइसकेका जनाइएको छ, जुन ८८ प्रतिशतभन्दा बढी हो ।

भारतका ३६ वटा प्रदेश तथा केन्द्रशासित राज्यमध्ये महाराष्ट्रमा हालसम्म सबैभन्दा बढी संक्रमण देखिएको छ । आइतबार बिहानसम्ममा महाराष्ट्रमा मात्रै करिब १६ लाख संक्रमित भइसकेका छन् । त्यसपछि दक्षिण भारतीय राज्यहरू आन्ध्र, कर्नाटक र तमिलनाडु पर्छन् । नेपालसम्म सीमा जोडिएका उत्तरप्रदेश र विहारमा पनि पछिल्ला दिनमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ । उत्तरप्रदेश भारतको पाँचौं उच्च संक्रमित राज्य हो ।

संक्रमण फैलने क्रम जारी रहेकै बेला आइतबार नै भारतका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले भारतका केही जिल्लामा भाइरसको संक्रमण समुदायस्तरमै फैलिसकेको बताएका छन् । साप्ताहिक अन्तक्रियम कार्यक्रम संवादमा मन्त्री बधर्नले त्यस्तो बताएका हुन् । उनले भारतमा हालसम्म कोरोना भाइरसको स्वरूपमा कुनै परिवर्तन नदेखिएको समेत दाबी गरेका छन् ।

यसैबीच, भारतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण पनि तीव्र रूपमा अघि बढाइएको छ । शुक्रबार मात्र भारतमा रुसले बनाएको खोप स्पुतनिक–५ लाई दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको थियो । हैदराबादको कम्पनी डा. रेड्डिजले शुक्रबार भारतको औषधि नियन्त्रण महानिर्देशानलयबाट त्यो अनुमति पाएको हो । रुसले स्पुतनिक–५ लाई कोरोनाविरुद्धको विश्वकै पहिलो खोप दाबी गर्दै आएको छ । चीन र बेलायतलगायतका मुलुकले पनि खोपमाथि अनुसन्धानलाई तीव्रता दिएका छन् ।

भारत विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक हो । विश्वभर खपत हुने खोपमध्ये ७० प्रतिशतभन्दा बढी भारतमै उत्पादन हुन्छ । त्यसैले पनि कोभिड– १९ विरुद्धको खोपको अनुसन्धान गरिरहेका संस्थाले परीक्षणका लागि भारतीय कम्पनीहरूसँग सहकार्य गरिरहेका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?