२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

अफगानिस्तानको झडपमा १२ को मृत्यु

(एजेन्सी)

काबुल — अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको साहिब जिल्लामा सेना र तालिबान विद्रोहीबीच भएको झडपमा १२ जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सात जना सैनिक छन् ।

झडपमा कम्तीमा पाँच जना विद्रोही मारिएका अधिकारीले आइतबार पुष्टि गरेका छन् । करिब दुई दशकदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यका लागि कतारको राजधानी दोहामा अफगान सरकार र तालिवानबीच वार्ता जारी छ । तर पछिल्ला समय बढेका भिडन्तले देशमा शान्ति स्थापना हुने अपेक्षा गरेका अफगान नागरिकलाई थप चिन्तित पारेको छ ।

यसअघि अफगानिस्तानस्थित नेटो प्रमुख अमेरिकी जनरल स्कट मिलरले तालिवान विद्रोहीहरूले शान्ति वार्तालाई नजरअन्दाज गरेका आरोप लगाएका थिए । फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौताको उल्लंघन गरेका भन्दै उनले कडा शब्दमा तालिबानको निन्दा गरेका थिए ।

अमेरिका र तालिबानले शान्ति बहालीका लागि गत फेब्रुअरीमा सम्झौता गरेका थिए । सम्झौताअनुसार तालिबान पक्ष आफ्नो नियन्त्रण कायम रहेका क्षेत्रमा अल–कायदा वा अन्य चरमपन्थी समूहलाई आश्रय नदिन सहमत भएको थियो । सम्झौता पालना गरेको खण्डमा अमेरिका र नेटो सहयोगीले १४ महिनाभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने बताएका थिए ।

यसैबीच राष्ट्रसंघीय एक अधिकारीले तालिबानीहरूले अल–कायदासँग सम्बन्ध राखिरहेको दाबी गरेका छन् । राष्ट्रसंघको अनुगमन समूह समन्वयकर्ता एडमन्ड वाल्टर फिटन ब्राउनले अल–कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसग सम्बन्ध राखिरहेको दाबी गरेका हुन् । तालिबान र अल–कायदाबीच हाल पनि राम्रो सम्बन्ध रहेको र आपसमा मिलेर उनीहरूले काम गरिरहेका ब्राउनको दाबी छ ।

प्रकाशित : कार्तिक २, २०७७ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?