थाइल्यान्डमा चर्कियो प्रदर्शन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाइल्यान्डमा चर्कियो प्रदर्शन

एजेन्सी

बैंकक — प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै थाइल्यान्डमा गरिएको प्रदर्शन चर्किंदै गएको छ ।  लगातार चौथो दिन शनिबार पनि राजधानी बैंककमा सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबारका प्रदर्शन शान्तिपूर्ण रहेका जनाइएको छ ।

यसअघिका प्रदर्शनका क्रममा प्रहरीले पानीका फोहोरा तथा अश्रुग्यासको प्रयोग गरेपछि झडपहरू भएका थिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।

प्रदर्शनकारीले राजाको अधिकार कटौती गरी पूर्ण लोकतन्त्र बहालीको माग गरेका छन् । प्रदर्शन चर्केपछि सरकारले संकटकाल जारी गर्दै पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको थियो । तर त्यसको बेवास्ता गर्दै लोकतन्त्र पक्षधरहरू सडकमा उत्रेका हुन् ।

शनिबारको प्रदर्शनका क्रममा लोकतन्त्र पक्षधरहरूलाई एकै स्थानमा भेला हुन रोक्ने उद्देश्यले कतिपय सडक तथा रेल सञ्जाल बन्द गरिएको थियो । तर उनीहरू योजनाबद्ध रूपमा विभिन्न रेल स्टेसनमा भेला भएर विरोध जनाएका थिए ।

विरोधका सहभागीले आफूहरूले बाहिरी दुनियाँलाई बैंककको अवस्थाबारे जानकारी दिन चाहेको बताएका समाचार संस्था एपीले उल्लेख गरको छ । ‘हामीले तत्काल खासै केही गर्न सक्दैनौं । हामीले गर्न सक्ने भनेको विश्वलाई यहाँको अवस्था देखाउने मात्र हो,’ प्रदर्शनमा सहभागी २६ वर्षीया भनेरोनिकाले भनिन् ।

यसअघि थाई नरेश महा भाजिरालंकर्ण जर्मनीबाट फर्किने क्रममा आन्दोलनरत समूहले राजाविरुद्ध नाराबाजीसमेत गरेका थिए । विद्यार्थी समूहहरूले नेतृत्व गरेको प्रदर्शनका सहभागीले प्रधानमन्त्री प्रयुथ चान–ओचाको राजीनामाको माग गर्दै प्रदर्शन चर्काएका हुन् ।

पूर्वसेना प्रमुख चान–ओचा गत वर्ष भएको विवादास्पद चुनावमार्फत प्रधानमन्त्री बनेका हुन् । त्यसअघि सन् २०१४ मा उनले एक रक्तपातविहीन ‘कू’ मार्फत शासनसत्ता सम्हालेका थिए ।

थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भए पनि प्रदर्शनकारीहरूले राजाविरुद्ध नाराबाजी गरेपछि शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको सरकारले जनाएको छ । लोकतन्त्रका लागि भन्दै युवाहरूले गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीको दाबी छ ।

प्रदर्शनकारीले नागरिक अधिकारका लागि बैंककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय राजा भाजिरालंकर्णको भूमिकाका कारण अधिकांश थाई जनताहरू रुष्ट देखिन्छन् । बैंककस्थित सैन्य इकाईको निर्देशन आफ्नो हातमा लिनुका साथै अन्य शक्ति केन्द्रित गरेपछि भाजिरालंकर्णप्रति सर्वसाधारणहरू असन्तुष्ट बनेका हुन् ।

सार्वजनिक रूपमा विरलै देखिने भाजिरालंकर्णको अधिकांश समय जर्मनीमा बित्छ । थाइल्यान्डमा कोभिड–१९ को महामारी फैलिएपछि त उनी झन् अधिकांश समय विदेशमै बसेको जनाइएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

दसैंका यात्रु सवार गाडी खस्दा पाँचको मृत्यु, तीन घाइते

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।


भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, २७ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका – ८ शिरिसेका ३० वर्षीय महेशबहादुर विक रहेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की ३१ वर्षीया कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिदम्बा नगरपालिका–१५ बस्ने २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । कुमारीलाई कटारी अस्पतालमा र कल्पना र पवनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।

‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरेको प्रहरीले गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×