कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अजरबैजानको गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमण : १२ को मृत्यु, ४० भन्दा बढी घाइते

एजेन्सी

बाकु — अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ । शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जनाएको छ ।

अजरबैजानको गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमण : १२ को मृत्यु, ४० भन्दा बढी घाइते

आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएको अजरबैजानका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अर्मेनियाले सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको समाचारमा उल्लेख छ । अर्मेनियाका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् । साथै उनले अर्मेनियाले भएको ‘राज्य आतंकको नीति’ बन्द गर्नुपर्ने बताएका छन् ।

प्रारम्भिक जानकारीअनुसार अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएका छन् ।

यसैबीच टर्कीले अर्मेनियाली आक्रमणको निन्दा गरेको छ । टर्कीको सत्तारुढ दलले अर्मेनियालाई ‘दुष्ट राज्य’ को संज्ञा दिँदै गान्जामा भएको आक्रमण मानवताविरोधी अपराध भएको बताएको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता आमेर सेलिकले युद्धविराम घोषणा भए पनि अर्मेनियाले युद्धअपराधलाई निरन्तरता दिनु दु:खद भएको बताएका छन् ।

अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । तर पछिल्लो समय सेप्टेम्बर २७ यता अर्मेनियाले अजरबैजानी सुरक्षा फौज र सर्वसाधारणप्रति लक्षित आक्रमण गरिरहेको छ ।

तस्बिर : रोयटर्स

केही दिनअघि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभको मध्यस्थतामा मस्कोमा अजरबैजान र अर्मेनियाबीच युद्धविराम गर्ने सहमति भएको थियो । तर अर्मेनियाले उक्त सहमति उल्लंघन गर्दै एकपक्षीय रुपमा अजरबैजानमाथि आक्रमण गर्दै आएको छ ।

के हो विवाद ?

नागोर्नो–काराबाख पहाडी क्षेत्र हो । आधिकारिक रुपमा यो अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपति यस क्षेत्रमा अर्मेनियाले कब्जा गर्दै आएको छ । पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजान नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९८० र ९० को दशकको सुरुवातमा एकअर्काबीच लडेका पनि थिए ।

त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ ।

नागोर्नो–काराबाख क्षेत्रको क्षेत्रफल ४ हजार ४ सय वर्गकिलोमिटर रहेको छ । अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रलाई अजरबैजानकै हिस्साका रुपमा मान्यता दिए पनि यस क्षेत्रमा बढी बसोबास भने अर्मेनियाली मूलकै बासिन्दाको रहेको छ ।

प्रकाशित : कार्तिक १, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?