बिहारमा भाजपाको अग्‍निपरीक्षा- विश्व - कान्तिपुर समाचार

बिहारमा भाजपाको अग्‍निपरीक्षा

गत वर्षको लोकसभा चुनावमा राज्यका सबै सिट जितेको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विधानसभा चुनावमा पनि त्यही नतिजा दोहोर्‍याउन चाहन्छ भने राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय राष्ट्रिय कंग्रेसलगायतको विपक्षी महागठबन्धन पुनः एकपटक सन् २०१५ को परिणाम निकाल्न जोडतोडका साथ लागिपरेका छन् । 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालको सीमावर्ती भारतको राज्य बिहारमा यतिबेला चुनावी सरगर्मी निकै बढेको छ । भारतको केन्द्रीय चुनाव आयोगले सेप्टेम्बर २५ मा राज्यमा विधानसभा चुनावको घोषणा गरेसँगै चुनावी माहोल तातेको हो । आयोगले बिहारको २४३ विधान सिटका लागि अक्टोबर २८, नोभेम्बर ३ र ७ का लागि मतदानको मिति तय गरिसकेको छ ।

तीन चरणमा हुने चुनावमा करिब साढे सात करोडले मतदान गर्नेछन् । कोभिड–१९ को महामारीबीच भारतमा हुन गइरहेको यो पहिलो चुनाव हो । त्यसकारण पनि यो चुनावले महामारीको रोकथामका लागि केन्द्र र प्रदेश सरकारले गरेको प्रयास र प्रदेश सरकारले विगत पाँच वर्षमा गरेका कामप्रति जनमतको बुझाइ पनि प्रस्ट हुनेछ । गत वर्षको लोकसभा चुनावपछि भएका राज्य चुनावहरूमा एकपछि अर्को हार व्यहोरेकाले पनि नरेन्द्र मोदी सरकार र भारतीय जनता पार्टी (भाजपा) का लागि पनि बिहारको चुनाव अर्को अग्निपरीक्षा हुने ठानिएको छ ।

विगतदेखि नै बिहार राजनीतिमा जातीय समीकरण निर्णायक रहँदै आएको छ । यही जातीय समीकरणलाई आधार बनाएर चुनावी समीकरण बन्ने गरेको छ । र त्यसैअनुसारको उम्मेदवार पनि चयन पनि गर्ने गरिएको छ । जातीय समीकरणले प्रमुख भूमिका खेल्ने भएकाले गठबन्धन निर्माणदेखि सिट बाँडफाँट र उम्मेदवार चयन पनि त्यसैअनुसार हुने गरेको छ । सन् २०११ को जनगणनाअनुसार बिहारको १० करोड जनसंख्यामा पिछडा वर्ग (ओबीसी) र अति पिछडा वर्ग (ईबीसी) को हिस्सा ५० प्रतिशतभन्दा बढी छ । जसमा सबैभन्दा बढी करिब १५ प्रतिशत यादव छन् ।

त्यसैगरी करिब कुशवाहा (कोइरी) ६.४ प्रतिशत र कुर्मी ४ प्रतिशत छन् । त्यसैगरी करिब १७ प्रतिशत मुस्लिम छन् । दलितसहितको अनुसूचित जाति (एसी) १६ प्रतिशत छन् भने करिब १७ प्रतिशत उच्च जाति छन् । उच्च जातिमा भूमिहार, ब्राह्मण, राजपुत र कायस्थ पर्छन् । यसमा भाजपाको पकड रहेको छ । पिछडा वर्गमा पर्ने कुर्मी जातिमा नितिशकुमार आफैँ पनि कुर्मी भएकाले एनडीए बलियो देखिन्छ । दलितमध्ये सबैभन्दा धेरै जनसंख्या दुसाध (पासवान) को छ । उक्त जातिमा एलजेपीको राम्रो पकड रहेको मानिन्छ । त्यसबाहेक पूर्व मुख्यमन्त्री जितनराम माझी आफैँ महादलितको भएकाले त्यो समुदायमा उनको बलियो पकड रहेको छ ।

बिहारको राजनीतिमा विगतदेखि नै अति पिछडा वर्ग (ईबीसी) र मुस्लिम र यादव समीकरण (एमवाई) लाई निर्णायक शक्ति मानिँदै आएको छ । एमवाई समीकरण सधैजसो लालु यादवको राजदको पक्षमा रहँदै आएको हुँदा सत्तारूढ गठबन्धनको प्रयास त्यसलाई तोड्नमा छ ।

गत वर्षको लोकसभा चुनावमा राज्यका सबै ४० सिट जितेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विधानसभा चुनावमा पनि त्यही नतिजा दोहोर्‍याउन चाहन्छ भने राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय राष्ट्रिय कंग्रेसलगायतको विपक्षी महागठबन्धन पुनः एक पटक सन् २०१५ को परिणाम निकाल्न जोडतोडका साथ लागिपरेका छन् । पाँच वर्षअघि आरजेडी ८० सिट जितेर पहिलो पार्टी बनेको थियो दोस्रोमा जेडीयूले ७१ सिट हात पारेको थियो । भाजपा भने ५३ सिटमा सीमित भएको थियो । त्यसैगरी कांग्रेसले २७ सिट जितेको थियो । वाम पार्टीहरूले भने तीन सिट मात्र जितेका थिए । एलजेपीले २, कुशवाहाको आरएलएसपीले दुई र हमले एक सिट जितेका थिए ।

तर पाँच वर्षको अवधिमा बिहारको राजनीतिक समीकरणमा ठूलै फेरबदल भएको छ । अघिल्लो चुनावमा महागठबन्धनको साथमा रहेको मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड (जेडीयू) यस पटक भाजपासँगै एनडीएमा छ भने त्यतिबेला एनडीएमा रहेको लोकजनशक्ति पार्टी (एलजेपी) गठबन्धनबाट बाहिरिएको छ । त्यसैगरी यसअघि महागठबन्धनमा रहेका राष्ट्रिय लोकसमता पार्टी (आरएलएसपी) का उपेन्द्र कुशवाहले अन्य साना दलसँग मिलेर तेस्रो मोर्चा बनाएका छन् भने माझी एनडीएमा सामेल भएका छन् ।

बिहारमा राजनीतिक गठबन्धनमा हुने फेरबदलका पछाडिको प्रमुख कारण यहाँको जातीय समीकरण नै हो । दुवैले बिहारको जातीय समीकरणलाई आफू अनुकूल पार्न त्यहीअनुसारको रणनीति अख्तियार गरेका छन् । विगतमा जस्तै यस पटक पनि भोट बैंकलाई हेरेर पुरानो भत्काउने र नयाँ बनाउन भएको छ । वामपन्थीहरू पनि सामेल भएपछि विपक्षी महागठबन्धन थप बलियो बनेको विश्लेषण गरिएको छ । बिहारमा वामपन्थी पार्टीहरूको निर्णायक हैसियत नरहे पनि संगठित कार्यकर्ता भएकाले दुई दर्जन स्थानमा उनीहरूले चुनावी परिणामलाई तलमाथि पार्ने हैसियत राख्छन् ।

गठबन्धनमा भएको फेरबदल र सरकारविरुद्ध बढ्दो असन्तुष्टिका कारण नितिशका लागि यो चुनाव निकै चुनौतीपूर्ण हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । त्यसमाथि नितिशकुमारको विकास पुरुष र सुशासन बाबुको विगतको जस्तो गाढा पनि नरहेको उनीहरू दाबी गर्छन् । कोभिड–१९ को महामारीले आगोमा घिउ थप्ने काम गरेको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बिहारबाट अन्य राज्यमा पुगेका प्रवासी कामदारहरूले निकै नै सास्ती खेप्नुपरेको थियो । गाउँ फर्केपछि पनि रोजगारीको व्यवस्था नहुँदा ती कामदारहरूमा सरकारप्रति तीव्र आक्रोश रहेको बुझिन्छ ।

भाजपासँगै एउटै गठबन्धनमा रहेका कारण कामदारहरूको आक्रोश नितिशतर्फ सोझिन पुगेको विश्लेषकहरूको बुझाइ छ । त्यसका अतिरिक्त करार शिक्षक र आशा कार्यकर्ताको तलब सुविधा जस्ता मुद्दाले पनि एनडीएलाई केही असहज बनाउने देखिन्छ । नितिश सरकारविरुद्धको विगतको तुलनामा असन्तुष्टि बढेको देखेर नै एनडीएले पनि लोकसभा चुनावमा यस पटक पनि जस्तै नरेन्द्र मोदीको ‘अनुहार’ लाई नै अघि सारेको छ । तर नितिशका केही पक्ष अझै बलिया छन् । राज्यमा मदिरा निषेध र पञ्चायत चुनावमा ५० प्रतिशत आरक्षणको व्यवस्थाले महिलाहरूको ठूलो समर्थन नितिशलाई रहेको छ ।

विपक्षी महागठबन्धनमा पनि समस्या नभएका होइनन् । आरजेडीभित्र तेजस्वी यादवको नेतृत्व शैलीलाई लिएर असन्तुष्टि बढ्दो छ । भाजपा त्यसलाई भजाउने प्रयासमा छ । त्यसबाहेक विपक्षी गठबन्धनका सामु सबैभन्दा ठूलो चुनौती भनेको लालु राजको ‘भूत’ पनि हो । एनडीएले लालु यादवको जंगल राज फर्कने दाबी गरिरहेको छ । तर त्यसप्रति मतदाता आश्वासन हुने सम्भावना कम देख्छन् पटनाका राजनीतिक विश्लेषक तथा एन सिन्हा इन्स्टिच्युट अफ सोसल स्टडिजका पूर्वनिर्देशक डीएम दिवाकर । ‘नितिशले नै शासन गरेको १५ वर्ष भइसक्यो ।

मतदाताले गएको १५ वर्षमा के भयो भनेर सोधिरहेका बेला लालुको शासनको कुरा गर्दा पत्याउने अवस्था रहन्न । लालुको शासनकै नकारात्मक कुरा गर्ने भनेको आफ्नो शासनमा केही राम्रो गर्न नसकेको आफैंले स्विकारेको जस्तो देखिन्छ,’ उनले भने ‘उनीहरूलाई आफूले गरेको विकासको मुद्दाले भोट पाइँदैन । त्यही भएर लालुको नाममा डर देखाउन खोजिरहेका छन् । त्यसले यस पटक काम गर्ला जस्तो लाग्दैन ।’ उपेन्द्र कुशवाहाको मोर्चामा सामेल रहेको असादुद्दिन ओआईसी नेतृत्वको एआईएमआईएमले मुस्लिम मत तानेको खण्डमा विपक्षी महागठबन्धनलाई नोक्सान हुने सम्भावना पनि रहेको छ ।

तर यसपटक चिराग पासवानको एलजेपीमाथि सबैको नजर छ । बिहारको चुनावी रणभूमिमा ३७ वर्षीय पासवानको एनडीएबाट बाहिरिने निर्णयसँगै बिहारको चुनावी पारो एकाएक उकालो लाग्यो । विश्लेषकहरूले पासवानप्रतिको युवाहरूको आकर्षण र रामविलास (बुबा) को सहानुभूतिका कारण एलजीपीले पाउने मतको चुनावी परिणाममा निर्णायक भूमिका खेल्ने दाबी गरेका छन् । केन्द्रमा एनडीएमै रहेको एलजीपी बिहारमा भने नितिशकुमारप्रति रुष्ट रहँदै आएको थियो । नितिशले जितनराम माझीलाई बढी भाउ दिएको भन्दै पार्टीका अध्यक्ष चिराग पासवान नितिशसँग टाढिँदै गएका थिए । अर्कोतर्फ भाजपाको नितिशलाई सकेसम्म पाखा लगाउने योजना थियो ।

स्रोतका अनुसार आन्तरिक सर्वेक्षणले पार्टीले पहिलो स्थान हासिल गर्ने देखाएपछि जेडीयूलाई किनारा गर्ने रणनीति पनि बनाइएको थियो । र, पार्टीको एउटा पंक्ति एलजेपीसँग मिलेर चुनाव लड्न चाहन्थ्यो । तर पछि जेडीयूलाई बाहिर राख्दा ऊ विपक्षीसँग मिल्न सक्ने र त्यसले थप नोक्सान हुने विश्लेषणपछि नितिशलाई नै मुख्यमन्त्रीको उम्मेदवार स्वीकार गरेर चुनावमा जाने निर्णयमा पार्टी नेतृत्व पुगेको बुझिएको छ ।

भाजपाको उक्त निर्णयपछि एलजेपीले एनडीएबाट बाहिरिने निर्णय गर्‍यो । तर भाजपाले चुनावी परिणाम आफू अनुकूल आएको खण्डमा लोजपालगायत दलको साथ लिएर सरकार गठन गर्ने रणनीति पनि बुझेको देखिन्छ । लोजपासँगको सम्बन्ध कायम राख्नु र लोजपाले भाजपाका विरुद्ध उम्मेदवारी दिनुलाई पनि त्यही रणनीतिको पृष्ठभूमिमा हेरिएको छ । लोजपाले ११५ सिटमा उम्मेदवारी दिने आँट जुटाउनुका पछाडि पनि भित्री रूपमा भाजपाको आडभरोसा रहेको विश्लेषकहरू बताउँछन् ।

यसरी हेर्दा भाजपाले एकातिर जेडीयूसँग मिलेर चुनाव लड्ने र अर्कोतर्फ लोजपालाई पनि सँग सार्ने रणनीति बुनेको प्रस्ट हुन्छ । यदि जेडीयूले राम्रो सिट ल्यायो भने उसँग मिलेर सरकार बनाउने यदि लोजपाले सन्तोषजनक सिट ल्यायो भने उसलाई साथमा लिने भाजपाको योजना रहेको बुझ्न सकिन्छ ।

‘राज्यमा नेतृत्व बलियो नभएकै कारण भाजपालाई सधैं एउटा वैशाखीका खाँचो पर्दै आएको छ, यसपटक पनि त्यो वैसाखी छाड्ने हिम्मत देखाएन । त्यही भएर नितिशको पछि लागेका हो,’ उनले भने । नितिशको साथ उभिँदा भाजपाको केही भोट लोजपा र विपक्षीमा जाने जोखिम पनि रहेको उनको दाबी छ । तर अन्तिम नतिजाका लागि भने नोभम्बर १० को मतपरिणाम कुर्नैपर्ने हुन्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाइयो : अध्ययन 

एजेन्सी

बेइजिङ — चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ ।

बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ ।

खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो । यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ ।

युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ । उमेर समूहअनुसार एन्टीबडीको मात्रा पनि फरक रहेको अध्ययनमा पाइएको छ । कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ ।

उक्त अनुसन्धानमा सहभागीमध्येका एक प्राध्यापक जियायोमिङ याङ भन्छन्, ‘कोरोना भाइरसको संक्रमणका कारण पाका उमेर समूहका व्यक्तिहरु बढी जोखिममा रहेकाले कोभिड–१९ खोपको सफल रुपमा विकास गरी उनीहरुको ज्यान जोगाउनु नै अनुसन्धानको प्रमुख उद्देश्य हो ।’ उनी अगाडि भन्छन्, ‘तर कहिलेकाहीँ पाका उमेरकै व्यक्तिमा खोपको प्रभावकारिता कम भएको पाइएको छ । त्यसैले ६० वर्षभन्दा माथिका बीबीआईबीपी–कोरभी खोपले एन्टीबडी विकासमा कसरी काम गर्छ भन्ने कुराको अध्ययन गर्नु महत्वपूर्ण छ ।’

अध्ययनमा सहभागी व्यक्तिहरुलाई १८–६० र ६० भन्दा माथिका गरी दुई समूहमा विभाजन गरी खोप दिइएको थियो । २८ दिनको अन्तरालमा २ मिलिग्राम, ४ मिलिग्राम र ८ मिलिग्रामको डोज दिइएको थियो । अध्ययनमा सहभागीमध्ये २१ वा २८ दिनको अन्तरालमा ४ मिलिग्रामको डोज दुई पटक लिनेहरुमा एन्टीबडीले राम्रोसँग काम गरेको बताइएको छ ।

कोरोनाविरुद्ध चिनियाँ कम्पनी सिनोभाक र क्यानसिनोले पनि तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×