कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संकटकालबीच थाइल्यान्डमा प्रदर्शन : प्रभावशाली नेतासहित २२ जना पक्राउ

एजेन्सी

बैंकक — प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै थाइल्यान्डको राजधानी बैंककमा गरिएको प्रदर्शनका क्रममा प्रभावशाली केही नेतासहित २२ जना पक्राउ परेका छन् ।

संकटकालबीच थाइल्यान्डमा प्रदर्शन : प्रभावशाली नेतासहित २२ जना पक्राउ

प्रदर्शनकारीले राजाको अधिकार कटौती गरी पूर्ण लोकतन्त्र बहालीको माग गरेका छन् । प्रदर्शन चर्केपछि सरकारले संकटकाल जारी गर्दै पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको छ । लोकतन्त्र पक्षधरहरूले बुधबार राजधानी बैंककस्थित लोकतान्त्रिक स्मारकमा बृहत् प्रदर्शन गरेपछि बिहीबार बिहानदेखि प्रदर्शनमा रोक लगाइएको हो ।

थाई नरेश महा भाजिरालंकर्ण जर्मनीबाट फर्किने क्रममा आन्दोलनरत समूहले राजाविरुद्ध नाराबाजी गरेका थिए । शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् ।

प्रहरीले केही प्रभावशाली नेतासहित २२ जनालाई पक्राउ गरेको विपक्षी समूहले बताएको छ । आन्दोलनरत समूहले पक्राउ परेकाहरूको रिहाइ तथा नागरिक अधिकारको माग गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनमा सहभागीले ‘हाम्रा साथीहरूलाई रिहा गर’ भन्दै नाराबाजी गरेको बीबीसीले जनाएको छ ।

विद्यार्थी समूहहरूले नेतृत्व गरेको प्रदर्शनका सहभागीले प्रधानमन्त्री प्रयुथ चान–ओचाको राजीनामाको माग गर्दै प्रदर्शन चर्काएका हुन् । पूर्वसेना प्रमुख चान–ओचा गत वर्ष भएको विवादास्पद चुनावमार्फत प्रधानमन्त्री बनेका हुन् । त्यसअघि सन् २०१४ मा उनले एक रक्तपातविहीन ‘कू’ मार्फत शासनसत्ता सम्हालेका थिए ।

तस्बिर : रोयटर्स

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । यद्यपि, पक्राउ परेकाहरूको विवरण भने सार्वजनिक गरिएको छैन ।

‘आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई रिहा गरिनेछ,’ राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने ।

थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भए पनि प्रदर्शनकारीहरूले राजाविरुद्ध नाराबाजी गरेपछि शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको सरकारले जनाएको छ । लोकतन्त्रका लागि भन्दै युवाहरूले गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीको दाबी छ ।

प्रदर्शनकारीले नागरिक अधिकारका लागि बैंककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय राजा भाजिरालंकर्णको भूमिकाका कारण अधिकांश थाई जनताहरू रुष्ट देखिन्छन् । बैंककस्थित सैन्य इकाईको निर्देशन आफ्नो हातमा लिनुका साथै अन्य शक्ति केन्द्रित गरेपछि भाजिरालंकर्णप्रति सर्वसाधारणहरू असन्तुष्ट बनेका हुन् । सार्वजनिक रूपमा विरलै देखिने भाजिरालंकर्णको अधिकांश समय जर्मनीमा बित्छ । थाइल्यान्डमा कोभिड–१९ को महामारी फैलिएपछि त उनी झन् अधिकांश समय विदेशमै बसेको जनाइएको छ ।


प्रकाशित : आश्विन ३०, २०७७ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?