२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

शान्तिवार्ताबीच अफगानिस्तानमा भीषण लडाइँ

एजेन्सी

काबुल — अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्यबल र तालिवान विद्रोहीबीच तीन दिनयता जारी भीषण लडाइँका कारण कम्तीमा ३५ हजार स्थानीय विस्थापित भएका छन् । 

शान्तिवार्ताबीच अफगानिस्तानमा भीषण लडाइँ

गत महिना अफगान सरकार र तालिवानबीच सुरु भएको शान्ति वार्तापछि दुवै पक्षबीच पहिलो पटक भीषण लडाइँ भएको हो । दुवै पक्षबीच कतारको राजधानी दोहामा वार्ता जारी छ ।

पछिल्लो समय जारी वार्तामार्फत देशमा शान्ति स्थापना हुने अपेक्षा गरेका अफगान नागरिकलाई पछिल्लो भिडन्तले थप चिन्तित पारेको छ । ‘हाम्रो अब केही बाँकी रहेन । घर, सम्पत्ति र बस्तुभाउ सबै गुमायौं,’ नवा जिल्लाका स्थानीय नेता अतिकुल्लाहले भने । आफ्ना परिवारका सदस्य तथा आफन्तहरूले लस्कर गाहमा शरण लिइरहेको उनले बताए । भिडन्तका क्रममा अफगान सेनालाई अमेरिकी सेनाले हवाई कारबाहीमार्फत सघाइरहेको छ । बीबीसीका अनुसार अफगान सैनिक रणनीतिक रूपमा महत्त्वपूर्ण प्रान्तको राजधानी लस्कर गाहलाई तालिवानबाट बचाउने प्रयार जारी राखेको छ ।

दुवै पक्षको भिडन्तपछि हेलमन्द र छिमेकी प्रान्त कान्दाहारमा विद्युत् आपूर्ति बन्द भएको छ । तालिवानको आक्रमणका कारण टेलिफोन तथा अन्य सञ्चार संरचना ध्वस्त भएको जनाइएको छ । यसअघि अफगानिस्तानस्थित नेटो प्रमुख अमेरिकी जनरल स्कट मिलरले तालिवान विद्रोहीहरूले शान्ति वार्तालाई नजरअन्दाज गरेका आरोप लगाएका थिए ।

फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौताको उल्लंघन गरेका भन्दै उनले कडा शब्दमा तालिवानको निन्दा गरेका थिए । १९ वर्ष लामो युद्धपछि अमेरिका र तालिवानले शान्ति बहालीका लागि गत फेब्रुअरीमा सम्झौता गरेका थिए ।

सम्झौताअनुसार तालिवान पक्ष आफ्नो नियन्त्रण कायम रहेका क्षेत्रमा अल–कायदा वा अन्य चरमपन्थी समूहलाई आश्रय नदिन सहमत भएको थियो । उक्त सम्झौता पालना गरेको खण्डमा अमेरिका र नेटो सहयोगीले १४ महिनाभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने बताएका थिए ।

घाइते सैनिक बोकेका हेलिकप्टर जुध्दा ९ को मृत्यु

हेल्मन्द प्रान्तको भिडन्तका क्रममा घाइते भएका अफगान सेना बोकेका दुई हेलिकप्टर जुध्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हेलिकप्टरमा रहेका सैनिकहरू हुन् । अधिकारीहरूले प्राविधिक समस्याका कारण बुधबार बिहान नवा जिल्लामा उक्त दुर्घटना भएको जनाएका छन् ।

दुर्घटनामा परेका हेलिकप्टर रुसमा निर्मित एमआई–१७ हुन् । अफगानिस्तानको रक्षा मन्त्रालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?