१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थाइल्यान्डमा चर्कियो सरकारविरोधी प्रदर्शन

एजेन्सी

बैंकक — थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै बुधबार दसौं हजारले प्रदर्शन गरेका छन् । राजधानी बैंककमा भेला भएका प्रदर्शनकारीले राजाको अधिकार कटौतीको मागसमेत जोडदार रूपमा उठाएका छन् ।

राजा र सेनाप्रति बफादार मानिने प्रधानमन्त्री प्रयुथ चान–ओचालाई सत्ता त्याग्न दबाब दिने उद्देश्यले थाइल्यान्डमा तीन महिनादेखि नियमितजसो प्रदर्शनहरू गरिँदै आएका छन् ।

‘तानाशाहको अन्त्य गर । लोकतन्त्र अमर रहोस्’ भन्ने नारा लगाएका प्रदर्शनकारीहरू लोकतान्त्रिक स्मारकमा भेला भएका थिए । लोकतन्त्र पक्षधर प्रदर्शनकारीको राजतन्त्र समर्थकबीच केही स्थानमा झडपसमेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भिडन्तका क्रमम दुवै पक्षधरले विपक्षीलाई मुक्का प्रहार गर्नुका साथै प्लास्टिकका बोतलहरू फालेका थिए । सरकारविरोधी प्रदर्शनकारीहरूले बुधबार थाई राजा महा भाजिरालंकर्णको स्वदेश फिर्तीको मौका पारेर विरोध गरेका हुन् । प्रहरी अधिकारीमाथि नीलो रङ छ्याप्ने तथा राजाको सवारीका क्रममा अवरोध पुर्‍याउन प्रयास गरेको आरोपमा २१ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सार्वजनिक रूपमा विरलै देखिने भाजिरालंकर्ण अधिकांश समय जर्मनी बित्छ । थाइल्यान्डमा कोभिड–१९ को महामारी फैलएपछि त उनी झन् अधिकांश समय विदेशमै बसे । बैंककस्थित सबै सैन्य इकाइको निर्देशन आफ्नो हातमा लिनुका साथै अन्य शक्ति केन्द्रित गरेपछि भाजिरालंकर्णप्रति सर्वसाधारणहरू रुष्ट बनेका छन् ।

प्रकाशित : आश्विन २८, २०७७ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?