संक्रमित ट्रम्पले गरे चुनावी र्‍याली- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित ट्रम्पले गरे चुनावी र्‍याली

फ्लोरिडा राज्यको स्यान्डफोर्ड नगरमा गरिएको र्‍यालीका सहभागीले सामाजिक दूरी पालना गरेका थिएनन् भने कैयौं बिनामास्क उपस्थित थिए ।
एजेन्सी

फ्लोरिडा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ बाट संक्रमित भएको दुई साताभन्दा कम समयमै चुनावी र्‍याली आयोजना गरेका छन् । फ्लोरिडामा उपस्थित भीडलाई सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्यावस्था निकै उत्तम रहेको ‘रोगप्रतिरोधी’ बनेको बताए ।

ट्रम्पले चुनावी प्रतिस्पर्धी जो बाइडेनलाई ‘कट्टर समाजवादीहरूको कठपुतली’ को संज्ञा दिएका बीबीसीले उल्लेख गरेको छ ।

सम्बोधनका क्रममा ट्रम्पले सञ्चारमाध्यमप्रति पनि आक्रोश व्यक्त गरेका थिए । सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको उनको दाबी छ । ट्रम्पले यसअघि पनि पटक–पटक सञ्चारमाध्यमलाई विभिन्न आरोप लगाउने गरेका थिए ।

फ्लोरिडा राज्यको स्यान्डफोर्ड नगरमा गरिएको र्‍यालीका सहभागीले सामाजिक दूरी पालना गरेका थिएनन् भने कैयौं बिनामास्क उपस्थित थिए । उनले समर्थकलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको भन्दै आलोचना गरेका छन् । कोभिड–१९ को संक्रमणपछि क्वारेन्टाइमा रहेकी ह्वाइटहाउसकी प्रेस सचिव केली मकइनानीले र्‍यालीका सहभागीलाई मास्क लगाउन प्रोत्साहन गरिने र सेनिटाइजरको व्यवस्था गरिने बताएको बीबीसीले जनाएको छ ।

डेमोक्र्याट प्रतिस्पर्धी बाइडेनले पनि राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन् । ‘राष्ट्रपति ट्रम्प आज स्यानफोर्ड त आए । तर उनले गैरजिम्मेवार व्यवहार, विभाजनकारी विचार र त्रास फैलाउने कामबाहेक केही ल्याएनन् ।’ राष्ट्रपति ट्रम्पले आगामी चार दिनमा विभिन्न चार राज्यका चुनावी कार्यक्रम गर्नेछन् । उनको कार्यक्रम राखिएको राज्यमा चुनावी प्रतिस्पर्धा निकै कडा हुने ठानिएको छ । हालसम्म न्युयोर्कका बासिन्दा रहेका ट्रम्प एक वर्षअघि फ्लोरिडाका पनि बासिन्दा बनेका थिए ।

फ्लोरिडाको र्‍यालीपछि उनले पेनसिल्भेनिया, आयोवा र नर्थ क्यारोलिनामा कार्यक्रमहरू गर्दै छन् । ती राज्यहरूमा खासगरी कोभिड–१९ बाट बच्ने सावधानीबारे ट्रम्पको धारणा परिवर्तन भए/नभएको सुन्न प्रतीक्षा गरिएको छ । नोभेम्बर ३ मा हुने चुनाव जित्न ट्रम्पले फ्लोरिडा राज्यमा विजय हासिल गर्न आवश्यक छ । उनका प्रतिस्पर्धी जो बाइडेन भने हाल ओहायो राज्यको भ्रमणमा छन् ।

विभिन्न मत सर्वेक्षणहरूले राष्ट्रियस्तरमा बाइडेन ट्रम्पभन्दा १० अंकले अगाडि देखाएका छन् । तर कडा प्रतिस्पर्धा हुने ठानिएका केही राज्यहरूमा भने उनको अग्रता थोरै रहेको जनाइएको छ । रियल क्लियर पोलिटिक्स संस्थाको मत सर्वेक्षणसम्बन्धी औसत नतिजाअनुसार फ्लोरिडा राज्यमा बाइडेन ३.७ अंकले मात्र अगाडि छन् । राष्ट्रपति पदमा विजयी हुन फ्लोरिडा र ओहायो राज्यमा चुनाव जित्नु निकै महत्त्वपूर्ण मानिन्छ । सन् २०१६ मा ट्रम्प फ्लोरिडामा झिनो अन्तरले विजयी भएका थिए ।

राष्ट्रपति ट्रम्पलाई ११ दिनअघि कोभिड–१९ को लक्षण देखिएको थियो । उनलाई उपचारका लागि एक दिनपछि अस्पताल भर्ना गरिएको थियो । ट्रम्पका निजी चिकित्सकले आइतबार उनीबाट अन्य मानिसमा भाइरसको संक्रमण सर्ने जोखिम नरहेको जनाएका थिए ।

प्रकाशित : आश्विन २८, २०७७ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंबाट यस्तो देखियो मंगल ग्रह

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — मंगलबार पृथ्वी र मंगल ग्रह आमने सामाने भएका छन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् । 

नासोकी कार्यक्रम संयोजक मनिषा द्‌वाका अनुसार अरु बेलाभन्दा मंगल ग्रह निकै चम्किलो देखिएको बताउँदै यतिको नजिक अब सन् २०३५मा मात्रै हुने बताइन् ।सौर्य मण्डलको चौथो ग्रह मंगललाई रातो ग्रह पनि भनिन्छ । बत्तिसपुतीलस्थित नेपाल एस्ट्रोनोमिकल सोसाईटी(नासो)को टेलिस्कोपबाट मंगल ग्रहका खिचिएका तस्बिरहरु ।

यो पनि पढ्नुहोस्ः

आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने

प्रकाशित : आश्विन २७, २०७७ २३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×