कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लिलामीबारे नयाँ विधि विकास गर्ने मिलग्रोम र विल्सनलाई अर्थशास्त्रतर्फको नोेबेल पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अर्थशास्त्रीलाई दिइने भएको छ । सोमबार रोयल स्विडि एकेडेमी अफ साइन्सेजले एक कार्यक्रमका बीच यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा गरेको हो । 

लिलामीबारे नयाँ विधि विकास गर्ने मिलग्रोम र विल्सनलाई अर्थशास्त्रतर्फको नोेबेल पुरस्कार

उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेको भन्दै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ । परम्परागत ढाँचामा लिलामीमा बस्तु तथा सेवाको बिक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीले बताएको छ ।

दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।

सामान्यतया लिलामीमा मानिसहरुले बढी मोल कबोल गर्नेलाई सामान बिक्री गर्छन् भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन् । आजभोलि पुरातात्विक महत्वका पुराना बस्तु, कलालगायतका बस्तु मात्रै होइन, सुरक्षा, खनिज पदार्थ र ऊर्जालगायतका क्षेत्रमा पनि लिलामी प्रक्रियाबाट बस्तु तथा सेवाको खरिदबिक्री हुने गरेको छ । आजभोलि सार्वजनिक खरिद पनि लिलामीकै विधिबाट अपनाइने गरेको छ ।

रोबर्ट विल्सनले एउटा साझा मूल्यका आधारमा बस्तुको लिलामीका लागि नयाँ सिद्धान्तको विकास गरेको एकेडेमीले उल्लेख गरेको छ । जहाँ बस्तुको मूल्य पहिले अनिश्चित हुन्छ तर अन्त्यमा सबैका लागि समान हुन्छ । उनले रेडियो फ्रिक्वेन्सीको भविष्यको मूल्य वा कुनै विशेष क्षेत्रमा खनिजको मात्राको उदाहरण दिएका छन् ।

त्यस्तै पल मिलग्रोमले लिलामीबारे अझ सामान्य सिद्धान्तको विकास गरेको एकेडेमीले बताएको छ । एकेडेमीका अनुसार मिलग्रोमको सिद्धान्तअनुसार बोलकबोलमा साझा मूल्यलाई अनुमति दिइन्छ । यो सिद्धान्तअनुसार निजी मूल्य पनि बोलकबोल गर्ने व्यक्तिअनुसार फरकफरक हुनेछ ।

गत वर्ष भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जी, इस्तर डुफ्लो र माकइल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । उनीहरुको अनुसन्धानले वैश्विक गरिबीसँग लड्ने क्षमतामा सुधार भएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।

नोबेल पुरस्कार सन् १९०१ देखि दिइन थालेको भए पनि अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६९ बाट दिइन थालेको हो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंक स्वेरिएस रिसबांकद्वारा स्थापित यो पुरस्कार पहिलो पटक अर्थशास्त्रीद्वय रागनार फ्रिस्च र जान टिन्बरजेनलाई दिइएको थियो ।

यस वर्ष अन्य विधातर्फ नोबेल पुरस्कार पाउनेहरु

प्रकाशित : आश्विन २६, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?